
इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ।
नगरपालिकाको ११औँ नगरसभामा सभाध्यक्ष तथा नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, उत्पादनमुखी अर्थतन्त्रको विकास, गुणस्तरीय सेवा प्रवाह तथा समृद्ध देउमाई निर्माणलाई केन्द्रमा राखिएको छ । संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सुशासन र दिगो विकासको लक्ष्यलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नीति तथा कार्यक्रम तयार गरिएको नगर प्रमुख पोख्रेलले बताए ।
नगरपालिकाले वर्तमान आर्थिक चुनौती, वित्तीय हस्तान्तरणमा आएको संकुचन, बढ्दो वैदेशिक रोजगार, बसाइँसराइ तथा बाँझिँदै गएको खेतीयोग्य जमिनलाई मुख्य चुनौतीका रूपमा पहिचान गर्दै उत्पादन र रोजगारी वृद्धिमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने रणनीति अघि सारेको छ । आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने, रोजगारी सिर्जना गर्ने र स्थानीय स्रोत–साधनको अधिकतम उपयोग हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
शिक्षा क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नियमित अनुगमन, कक्षा ५, ८ र १० को नगरस्तरीय स्तरमापन परीक्षा, शिक्षक तथा प्रधानाध्यापक मूल्याङ्कन प्रणाली र उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ । नगर शिक्षा योजनाअनुसार प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरिने, विद्यालय समायोजन तथा दरबन्दी मिलान गरिने र शिक्षकको पेशागत विकासका लागि तालिम सञ्चालन गरिने नीति लिइएको छ। स्थानीय विषयको पाठ्यपुस्तक छपाइ गरी निःशुल्क वितरण गरिनेछ भने सामुदायिक तथा संस्थागत विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्य क्षेत्रमा निर्माणाधीन १५ शैय्याको नगर अस्पताल सञ्चालनमा ल्याउन संघ तथा प्रदेश सरकारसँग पहल गरिने भएको छ । गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स-रे सेवा, निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । टेलिमेडिसिन सेवा विस्तार गर्दै विकट क्षेत्रका स्वास्थ्य संस्थालाई विशेषज्ञ चिकित्सकसँग जोडिनेछ भने ४० वर्षमाथिका नागरिकका लागि नसर्ने रोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने नीति पनि लिइएको छ ।
भौतिक पूर्वाधार विकासतर्फ नयाँ सडक निर्माणभन्दा विद्यमान सडकको स्तरोन्नति, संरक्षण र मर्मतसम्भारलाई प्राथमिकता दिइने भएको छ । देउराली-रत्न सुरुङ-मंगलबारे-कटेज-फुटुक-इलाम गोलाखर्क सडक, नेपालटार-मंगलबारे सडक, मंगलबारे-गजुरमुखी सडक लगायतका रणनीतिक सडकहरूको विकासलाई निरन्तरता दिइने जनाइएको छ। आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण तथा सार्वजनिक पूर्वाधारको डिजिटल अभिलेखीकरण गर्ने योजना पनि अघि सारिएको छ ।
रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनका लागि रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा सञ्चालन गरिने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप पहिचान गरी स्वदेशमै रोजगार र उद्यममा जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ। बेरोजगार युवाका लागि कार्यस्थलमा आधारित सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिइने भएको छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा प्रत्येक नागरिकलाई स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने लक्ष्यसहित वितरण सञ्जाल विस्तार, मर्मत तथा नयाँ धारा जडान कार्यक्रम सञ्चालन गरिनेछ । बृहत् देउमाई खानेपानी आयोजना कार्यान्वयनका लागि आवश्यक पहल गरिने जनाइएको छ । फोहोरमैला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आधुनिक फोहोर संकलन तथा व्यवस्थापन केन्द्र स्थापना गर्ने नीति पनि सार्वजनिक गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासतर्फ ‘देउमाई नगरपालिकाको पहिचान, प्राङ्गारिक खेती अभियान’लाई निरन्तरता दिइने भएको छ । अलैँची, अकबरे खुर्सानी, किवी, अदुवा, चिया, कफी, बेसार, मौरीपालन, मत्स्यपालन लगायत नगदेबाली तथा व्यवसायिक कृषिलाई प्रोत्साहन गरिनेछ । किसान सूचीकृत गर्ने, कृषक परिचयपत्र वितरण गर्ने, माटो परीक्षण शिविर सञ्चालन गर्ने तथा स्थानीय उत्पादनको बजारीकरणका लागि चिस्यान केन्द्र स्थापना गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।
पर्यटन विकासका लागि ‘लालीगुँरास, चिया र प्रकृतिसँग देउमाई’ अवधारणालाई प्रवर्द्धन गर्दै नगरका पर्यटकीय क्षेत्रलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गरिने भएको छ। कुहिभिर क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ जलाधार तथा खानेपानी मुहान संरक्षण, वृक्षारोपण अभियान, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने भएका छन् । गत वर्षको बाढीपहिरोबाट क्षति पुगेका निजी आवास तथा पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिइने जनाइएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका लागि विभिन्न सशक्तीकरण, संरक्षण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछन् । घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रण, बालश्रममुक्त नगरपालिका घोषणा, महिला उद्यमशीलता विकास तथा अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
सूचना तथा प्रविधि क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयलाई आधुनिक सूचना प्रविधिसँग जोड्ने, कर्मचारी तथा शिक्षकलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी क्षमता विकास तालिम दिने तथा स्थानीय सञ्चार क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको छ ।
नगर प्रमुख पोख्रेलले प्रस्तुत नीति तथा कार्यक्रमले ‘समृद्ध देउमाई, सुखी देउमाईवासी’को लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताएका छन् ।

















































