
इलाम : इलाम नगरपालिकाको १८औँ नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब १७ करोड ६४ लाख १३ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। नगरसभाबाट पारित बजेटको विषयगत विश्लेषणअनुसार प्रशासनिक खर्चतर्फ कुल बजेटको १४ प्रतिशत, पूर्वाधार विकासतर्फ २२ प्रतिशत, सामाजिक विकासतर्फ ५४ प्रतिशत, आर्थिक विकासतर्फ ६ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ प्रतिशत तथा वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको छ।
खर्च प्रकृतिका आधारमा चालु खर्च ६४ प्रतिशत, पुँजीगत खर्च ३४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख तथा नगरसभाका अध्यक्ष केदार थापाले आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बुले बजेट प्रस्तुत गरेकी थिइन् ।
नगरसभाले नगर प्रहरी तेस्रो संशोधन ऐन, इलाम सामुदायिक कृषि क्याम्पस सञ्चालन तथा व्यवस्थापन कार्यविधि तेस्रो संशोधन विधेयक तथा विकास निर्माण मापदण्ड आठौँ संशोधन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। सभामा विधायन समितिको प्रतिवेदन २०८३, सुशासन तथा स्थानीय सेवा समितिको प्रतिवेदन २०८३ र सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८३ प्रस्तुत गरिएका थिए। ती सबै प्रतिवेदनहरू नगरसभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यस्तै, न्यायिक समितिको प्रतिवेदन २०८३ उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बुले सभामा प्रस्तुत गरेकी थिइन्। शून्य समयमा वडा सदस्य नेत्रप्रसाद घिमिरे, मोहन गुरुङ र राजन देवानले समसामयिक विषयमा सभाको ध्यानाकर्षण गराएका थिए । नगरसभाले संघीय सरकार र प्रदेश सरकारलाई १० बुँदे विशेष प्रस्तावमार्फत ध्यानाकर्षण गराउने निर्णयसमेत सर्वसम्मत रूपमा गरेको छ।
इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालका अनुसार १ अर्ब १७ करोड ६४ लाख १३ हजार रुपैयाँको बजेट, विभिन्न विधेयक तथा समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गर्दै १८औँ नगरसभा सम्पन्न भएको हो।
















































