माङसेबुङ गाउँपालिकाको शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
14
Shares
सामूदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास कक्षामा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई विगतवर्षदेखि प्रदान गरिंदै आएका सेवा सुविधामा निरन्तरता दिदैँ सेवा सुवीधा थप गरिनेछ ।
मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान, कम्प्युटर प्रशिक्षक स्यमसेवक अनुदान कार्यक्रमलाई निरन्तरता दिइने छ । लिम्बू भाषा शिक्षक, राई बान्तवा भाषा शिक्षक र कम्प्युटर शिक्षकहरुलाई पोशाक भत्ताको व्यवस्था गरिनेछ साथै न्यूनतम तलबमान कायम गरिनेछ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न माध्यमिक विद्यालय शिक्षक दरबन्दी प्राप्त नभएका विद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजी शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिइने छ ।
सामुदायिक विद्यालय तथा धार्मिक वा वैकल्पिक विद्यालयहरुमा पठन पाठन हुने मातृभाषाको पाठ्यक्रम र पाठ्य पुस्तक तथा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणलाई निरन्तरता दिंदै सोको उपलब्धतालाई सहज बनाइनेछ साथै निर्माण भएको स्थानीय पाठ्य पुस्तक सबै विद्यालयहरुलाई उपलब्ध गराइने छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, विद्यालयमा विद्यार्थी टिकाइ राख्न र विद्यालय बीचैमा छाड्ने विद्यार्थी दरलाई कम गर्न आधारभूत तहमा बालबालिका कक्षा ५ सम्म दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय व्यवस्थापन, शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग र विज्ञान प्रयोगशाला स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
एक गाउँपालिका, एक प्राविधिक धार विद्यालय संचालनमा आवश्यक सहयोग गरिनेछ ।
सबै माध्यमिक विद्यालयमा स्काउट विस्तार गरीनेछ साथै स्काउट सयोग कार्यक्रम समेत गरिनेछ ।
प्राविधिक अध्ययन छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ । कक्षा आठको नतिजा सुधार कार्यक्रम कार्यन्वयन गरिनेछ । आधारभूत तह कक्षा पाँच र कक्षा आठको गाउँपालिका स्तरीय परिक्षाका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
माध्यमिक विद्यालय परीक्षा (SEE) लाई अझ व्यवस्थित, प्रभावकारी र नतिजा उन्मुख बनाउन SEE सहयोग कार्यक्रमलाई निरन्तरता दिन श्रोतको व्यवस्था गरिनेछ । साथै आधारभुत तह कक्षा ५ र कक्षा ८ को परीक्षा गाउँपालिका स्तरीय गर्न आवश्यक बजेटको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरुले प्राप्त गरेका सिकाई उपलब्धिका आधारमा शिक्षक, नतिजाका आधारमा विद्यालय तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार र प्रोत्साहन गरिनेछ ।
शिक्षकहरुका लागि आवश्यकतामा आधारित तालिम कार्यक्रम कार्यन्वयन गरिनेछ ।
विद्यालय अनुगमन सुपरीवेक्षण तथा पेशागत सहयोग कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिनेछ ।
सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध बनाउन सरोकारवालाहरुबीच छलफल, अन्तरकृया, गोष्ठी जस्ता अभिभावक शिक्षा कार्यक्रमहरु सबै वडाहरुमा संचालन गरिनेछ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका प्रतिभा पहिचान तथा विकासका लागि प्रतियोगिता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
विद्यालय तहको खेलकूद विकासको लागि राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमका लागि बजेटको व्यवस्था गरिनेछ ।
राई बान्तवा भाषाको पाठ्यपुस्तक निर्माण गरी बान्तवा राईको बाहुल्य रहेका विद्यालयहरुमा पठनपाठन सुरु गरी शिक्षक दरबन्दीको व्यवस्था गरिंदै लगिने छ ।
गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयका बालविकास कक्षाहरुलाई व्यवस्थित गर्न उचित बजेटको व्यवस्था गरिनेछ । साथै बालबिकास कक्षाहरुमा स्मार्ट टि.भि वितरण गरिनेछ ।
अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
विद्यार्थी संख्याको आधारमा विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्दै लगिने छ ।
सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि सहयोग कार्यक्रम तथा संचालनमा नरहेका कम्प्युटर, डेक्सटप तथा प्रिन्टर मर्मत का लागि बजेटको व्यवस्था गरिनेछ ।
सामुदायिक विद्यालयहरुमा आवश्यक्ता अनुसार फर्निचर व्यवस्थापन कार्यक्रम गरिनेछ ।
पालिका भित्रका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिनेछ ।
माङसेबुङ गाउँपालिकामा बालमैत्री स्थान शासन अवलम्बन गरिनेछ ।