माङसेबुङ गाउँपालिकाको सूचना तथा संचार सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
0
Shares
देशको सामाजिक, आर्थिक, शासकीय लगायत समग्र क्षेत्रको विकासका लागि सूचना तथा संचार प्रविधि अपरिहार्य साधन भएकोले यसलाई समयानुकूल प्रभावकारी रुपमा उपयोग गर्ने नीति लिइनेछ ।
असमान रुपमा रहेको गाउँपालिका र वडा कार्यालयहरुको इन्टरनेटको अवस्था अन्त्य गर्न साथै सबै वडा कार्यालयहरुलाई गाउँपालिकासँग इन्टरनेटको माध्यमबाट जोड्न र सोही माध्यमबाट इन्टरकम टेलिफोनको व्यवस्था गर्नका लागि इन्ट्रानेटको व्यवस्था गरिनेछ ।
नागरिक वडापत्रहरु, विभिन्न कार्यक्रमका सूचना, फोटो तथा भिडियो, प्रत्यक्ष कार्यक्रमहरु प्रदर्शन गर्नका लागि विद्युतीय डिजिटल डिस्प्ले बोर्ड राख्ने कार्यलाई विस्तार गरिनेछ ।
पारदर्शी, छिटो, छरितो र सुरक्षित डाटाबेस साथै पेपरलेस कार्यक्रमका लागि जिन्सी, सिफारिस, योजना, राजश्व, लगायतका क्षेत्रहरुमा सफ्टवेयर प्रणालीलाई निरन्तरता दिइनेछ ।
सूचना प्रविधिमैत्री अध्यापन कार्यलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ ।
गाउँपालिकाले गरेका गतिविधिहरूबारे जनतालार्इ सूचित गर्न पत्र–पत्रिका, अनलाइन पत्रिका, रेडियोमा माङसेबुङका विकाससँग सम्बन्धित कार्यक्रम संचालन गरिनेछ ।
स्थानीय स्तरमा संचालित संचार माध्यमहरूको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्ने संचार माध्यमहरूलार्इ लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
नेपालका विभिन्न संचार माध्यमहरूमा काम गर्ने माङसेबुङ गाउँपालिकाबासी पत्रकारहरूको सिप तथा क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिनेछ । जसका लागि स्थानीय सञ्चार माध्यम र पत्रकारितासँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिने कार्यलाई निरन्तरता दिइनेछ ।
माङसेबुङ गाउँपालिकाको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने नेपालका विभिन्न संचार माध्यमहरूमा काम गरिरहेका पत्रकारहरूमध्ये एक जना पत्रकारलार्इ वर्सेनि माङसेबुङ पत्रकारीता पुरष्कार प्रदान गरिनेछ ।
माङसेबुङ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माणका लागि आवश्यक बजेट मिलाइनेछ ।