
इलाम: सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालटार सेवा केन्द्रले क्यान्सर पीडित निर्मला लुइटेललाई रु. एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सदस्य सुरक्षा कोष अन्तर्गत लामो समयदेखि प्राणघातक रोग उपचार सहयोग खर्च राहत कार्यक्रमबाट उक्त सहयोग उपलब्ध गराइएको संस्थाका कार्यालय प्रमुख गोबिन्द गर्तौलाले जानकारी दिए । “एक घर, एक सदस्य अभियान सिम्रिक सफलताको हाम्रो पहिचान” भन्ने मूल नाराका साथ अघि बढिरहेको सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाइएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका मुख्य अतिथि इलाम नगरपालिका–१ का वडाध्यक्ष गायत्री राम बस्नेत र संस्थाका कार्यालय प्रमुख गर्तौलाले पीडित लुइटेललाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा समाजसेवी तथा स्वास्थ्यकर्मी राजेन्द्र ढुंगेल, शिक्षक मदन दाहाल, दिपेन्द्र लुइटेल, निर्मल तिम्सिना, नेपालटार माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिष्णु प्रसाद लुइटेल, डम्बरदेवी माध्यमिक विद्यालयका शिक्षक टिका प्रसाद लुइटेल, ज्येष्ठ नागरिक तथा समाजसेवी शान्तिराम लुइटेल लगायत २६ जना स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा गर्तौलाले सहकारी संस्थाको राहत कोष र सहकारीको अवधारणा प्रस्तुत गरेका थिए भने वडाध्यक्ष बस्नेतले संस्थालाई धन्यवाद दिए ।
आन्द्राको क्यान्सरबाट ग्रसित लुइटेलको उपचारमा धेरै खर्च भइसकेको साथै पारिवारिक आर्थिक अवस्था समेत निम्न रहेकाले इच्छुक महानुभावले सहयोग गरिदिन समेत परिवारले आग्रह गरेका छन् । उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिम्रिक सहकारीको मानवीय, सहानुभूतिपूर्ण र सामाजिक उत्तरदायित्वप्रति स्थानीयले प्रशंसा गरेका छन्। सहयोग कार्यक्रममार्फत सिम्रिक सहकारीले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै सहकारीको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।
















































