काठमाडौं : चुलाचुली रङ्गमञ्चको प्रस्तुती नाटक ‘उर्फ दारासिंह’ आज मंगलबारदेखि मञ्चन हुँदैछ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा आगामी जेठ ११ सम्म नाटक मञ्चन हुने निर्देशक चेतन आङथुपोले जानकारी दिए ।
नाटक सोमबारबाहेक प्रत्येकदिन साँझ ५ साढे बजे मञ्चन हुने निर्देशक आङथुपोले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो १:१५ बजे नाटक अतिरिक्त प्रदर्शन हुनेछ ।
चुलाचुली रंगमञ्चले एक थिएटरको सहकार्यमा नाटक मञ्चन गर्न लागेको हो । सुमन लिङदेनको लेखनमा सुमन राई निर्माणा गरेको नाटकको निर्देशन आङथुपो र सहनिर्देशन रुपेश लामाले गरेका छन् । नाटकमा आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पालगायतले अभिनय गर्ने भएका छन् ।
नाटक ‘उर्फ दारासिंह’ अर्थात् ‘कर्णबहादुर केरुङ’ को जीवन कथामा आधारित रहेको छ ।
तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङको मृत्यु भएको थियो । उनले भूमि संरक्षणका लागि गरेको संघर्ष र योगदानलाई रंगमञ्चमा देखाउन लागेको निर्देशक आङथुपोले बताए ।