वन्यजन्तु चराको अध्ययनमा विश्वभरको ध्यान तान्दै सन्दकपुरको कैयाँकट्टा

वन्यजन्तु  चराको अध्ययनमा विश्वभरको ध्यान तान्दै सन्दकपुरको कैयाँकट्टा (तस्बिरहरु) 

इलाम :  घना जंगलको बिचमा स्थानीय कच्चापदार्थले बनाइएका ५ वटा घर छन् । ५ घरमा परिवार संख्या ३ मात्रै छ । घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन् ।
नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ । घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ । पहिलो पटक कैयाकट्टा पुग्ने जो कोहिको मनमा लाग्न सक्छ यो जंगलको बिचमा को आइपुग्ला ? जंगलको बिचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको ? तर यहाँ पुगेर चियाको चुस्की लिँदै स्थानीयको भनाइ सुनेपछि थाहा हुन्छ कैयाकट्टाको महत्व । कैयाकट्टामा विश्वभरका वन्यजन्तु, चराविज्ञ र प्रकृतिप्रेमीको दिनहुँ बास हुन्छ भन्ने स्थानीयको भनाइले आफु मात्रै ढिलो पुगेको आभास हुन्छ ।
नेपाल भारत सीमा क्षेत्रमा रहेको कैयाकट्टाको नेपाली बस्ती जंगलले घेरिएको छ । भारतसँग सीमा जोडिएको घना जंगलको टुप्पोमा सानो बस्ति छ । भारतपट्टि पनि घना जंगल छ । भारतपट्टि जंगल रक्षाका लागि सिंहलिला संरक्षित क्षेत्रको कार्यालय मात्रै रहेको छ । भारतपट्टिको सिंहलिला संरक्षित क्षेत्रको जंगलमा घुमफिर गर्न पाइदैन । तर नेपाली जंगलमा निर्वाध वन्यजन्तु र चराचुरुङ्गीको अध्ययन अवलोकन गर्न पाइन्छ ।
नेपाली जंगल हाँगेथाम सामुदायीक वन उपभोक्ता समिति गठन भइ संरक्षणको काम हुँदै आएको छ । सन्दकपुर ५ मा पर्ने वनमा लोपउन्मुख वन्यजन्तु, चराहरुको अध्ययन र अवलोकनका लागि विश्वभरका पर्यटकहरुको दैनिक रुपमा बाक्लो आवतजावत हुन्छ । नेपाल, भारत, भुटान, चिन, म्यानमार, थाइल्याण्डमा मात्रै पाइने रेडपाण्डा यहाँ सहजै पाइन्छ । रेडपाण्डासँगै चरिबाघ, भुइ भालु, रुख भालु,  चितुवाका प्रजाती, बंदेल, थार लगायत थुप्रै वन्यजन्तु कैयाँकट्टामा बसेर सहज अध्ययन र अवलोकन गर्न सकिन्छ । चराहरुको त असंख्य प्रजातीको अध्ययन गर्न पाइन्छ ।
वन्यजन्तु, चराहरुको अध्ययनमा सक्रिय हाव्र्रेनेष्ट होमस्टेका कर्मचारी फुर्वा सेर्पा भन्छन्–‘चरा र वन्यजन्तु हेर्नका लागी विश्वभरकै प्रकृतिप्रेमी, विज्ञहरु, अध्ययनकर्मी र पर्यटक आउँछन् ।’ उनी भन्छन्–‘ पर्यटकहरु विहान बेलुकी चराहरुको अध्ययन गर्छन्, दिउँसो रेडपाण्डाको अध्ययन हुन्छ र राती जंगल सफारी गरि पनि अध्ययन गर्नेको संख्या बढ्दो छ ।’ कैयाकट्टामा बढीमा मात्रामा युरोपका पर्यटक र वन्यजन्तु, चराविज्ञहरु आउने गरेका छन् । सेर्पा भन्छन्–‘कैयाकट्टा विश्वभरका पर्यटकहरु नै आउँछन्, त्यसमध्ये अमेरिका, बेलायत, प्रान्स र जर्मन नागरिकको कैयाकट्टामा बास धेरै हुन्छ । लोपउन्मुख वन्यजन्तुहरु धेरै मात्रामा पाइने भएकाले कैयाकट्टा भ्रमण गर्नेहरुको संख्या बढेको हो । हाब्रेनेस्टले प्याकेजकै विकास गरि विश्वभरका पर्यटकहरुलाई वन्यजन्तुको अध्ययन, अवलोकनमा सहजिकरण गरिरहेको छ । यहाँ लोपउन्मुख काँडे भ्याकुरको पाइन्छ ।
हाँगेथाम कैयाकट्टामा पर्यटन प्रवद्र्धनमा सक्रिय सन्दकपुर ५ जमुनाका पासाङ सेर्पा भन्छन्–‘हाँगेथाम कैयाकट्टा क्षेत्रमा चरा र वन्यजन्तुको अध्ययनका लागि २०२५ सालबाट पर्यटकहरु आउने गरेका थिए ।’ चरा र वन्यजन्तु सहजै देख्न सकिने भएकाले पहिला पर्यटकहरु बन्दोबस्तीका सामग्री सहित आउने गरेका थिए सेर्पाले भने–‘अहिले पर्यटकहरुको सेवाका लागि होमस्टेहरु संचालन भएकाले स्थानीयको आम्दानी समेत बढेको छ ।’ उनी भन्छन्–‘युरोपबाट लाखौँ खर्चिएर आएका पर्यटकहरु  रेडपाण्डा र चराहरुको फोटो खिचेर रमाउने गरेका छन् ।’ हामीलाई शुरु शुरुमा थाहा थिएन–सेर्पाले भने–‘पर्यटकहरुले चाहेको वन्यजन्तु, चराको फोटो खिचेर रमाउने गरेकाले गाउँमा चरा र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने जागरण नै आएको छ ।’
कैयाकट्टामा तीन वर्ष अघिसम्म भारत भएर पर्यटकहरु आउने गरेका थिए । कैयाकट्टाबाट ६ किलोमिटर मुनि रहेको हाँगेथाममा आउने पर्यटकहरु नेपाल भएर पर्यटकहरु पुग्ने गरेको वडाअध्यक्ष यज्ञबहादूर गुरुङ्गले बताए । अध्यक्ष गुरुङ्ग भन्छन्–‘२५ सालबाट चरा र वन्यजन्तु अध्ययनका लागि पर्यटकहरु आउने थालेका थिए, त्यसबेला उनीहरु टेन्ट टाँगेर हप्तादिनसम्म बस्ने गरेका थिए ।’
अहिले सुविधा थपिएसँगै पर्यटकहरु ३ दिनसम्म बसेर कैयाकट्टा, हाँगेथाम क्षेत्र भ्रमण गरेर फर्किने गरेको अध्यक्ष यज्ञबहादूर गुरुङ्ग बताउँछन् । वन्यजन्तु र चराहरुको अध्ययन गर्न आउने टोलीको संख्या पछिल्लो समय बढेको छ, सन्दकपुर ५ का वडासदस्य कुमार गुरुङ्ग भन्छन्–‘कैयाकट्टा हाँगेथाम आउने पर्यटकहरु सबैले वन्यजन्तु र चराहरुको सहजै अध्ययन गर्न पाएको अनुभव पर्यटक आफैलै सामाजिक संजालमा लगाएपछि पर्यटकको चाप झनै बढेको छ ।’
पर्यटकीय गाउँपालिका सन्दकुरको २ हजार मिटर माथिको क्षेत्र जैविक, प्राकृतिक, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थानका कारण संवेदनसिल मानिन्छ । जडिबुटी, मौसम अनुसारका फुलहरुसँगै हिमश्रङ्खलाहरुको दृश्यमा पर्यटकहरु रमाउन पाउने भएकाले विश्वभरका पर्यटकहरुको आकर्षण बढेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए । सन्दकपुरको उच्च पहाडका वन जंगलमा रमाउने र अध्ययन गर्ने विश्वभरका पर्यटकहरु आउने क्रम धेरै वर्षदेखि भएपनि अहिले संख्या बढेको उनले बताए । उनी भन्छन्–‘एक हप्तामा युरोप र भारतका गरि ३ सय बढी पर्यटकहरुले सन्दकपुर भ्रमण गरि फर्किएका छन् । पर्यटकहरुको संख्या बढेकाले गाउँपालिकाले होटल, होमस्टे, सवारी धनी, चालकहरुमा आथित्य सत्कार र पर्यटकको सेवामा खटिने पर्यटक प्रथप्रदर्शकको तालिम आयोजना गर्ने योजना बनाएको अध्यक्ष गुरुङ्गले बताए ।
सन्दकपुर गाउँपालिका जैविक विविधता, प्राकृतिक सुन्दरता, लोपउन्मुख वन्यजन्त, चराचुरुङ्गी, सिमसार नदीहरुका मुहान क्षेत्र भएकाले वन संरक्षणको अभियान संचालन गर्दै आएको वन तथा वातावरण समितिका सभापति सनम राईले बताए । प्राकृतिक सुन्दरता, चराहरु र वन्यजन्तुहरु अध्ययन गर्न पर्यटकहरु आउने क्रम बढेकाले हामी वन संरक्षण र वृक्षारोपणमा प्राथमिकता दिएर काम गरिरहेका छौँ, राईले भने–‘पर्यटकको आवागमन वृद्धिले हामीलाई उत्साहित मात्रै दिएको छैन पालिकाले पर्यटन र कृषिबाट मात्रै गर्ने भनेको लक्ष्य पुरा हुने देखिएको छ ।’
कसरी पुग्ने कैयाकट्टा 
कैयाकट्टा २ हजार ८ सय मिटरको उचाइमा रहेको छ । कैयाकट्टा यात्राका लागि इलाम जिल्लाको सदरमुकाम बिब्ल्याँटे बजारबाट उत्तरतर्फ मोडिएर रिफ्स हुँदै सुम्बेक सानीमाई कृष्णभिर माईखोला जमुना बजार पुग्नुपर्छ । ढापपोखरीबाट संघीय सरकारले निर्माण गरेको पदमार्ग यात्रा गर्नुपर्छ ।
इलाम बजारबाट ढापपोखरीसम्मको गाडिको यात्रा ३ घण्टाको हुन्छ ।  ढापपोखरी पुग्ने अर्कोबाटो इलाम बजार बिब्ल्याँटे बजारबाट उत्तरतर्फ मोडिएर रिफ्स हुँदै सुम्बेक सुलबुङ माईखोला माबु सोमबारे धुवाखोला हुदै पुग्न सकिन्छ । ढापापोखरी आसपासमा पर्यटक बास बस्नका लागि ग्रामीण होटल र होमस्टे रहेका छन् । ढापोखरी मानव निर्मित पोखरी हो ।
१ हजार ७ सय ५ मिटरको उचाइमा रहेको ढापपोखरीबाट पदयात्रा गर्दा साङ्ङ्गे छोलिङ गुम्बा, चमेरे गुफा भ्यू पोइन्ट, दोमाङ छोलिङ गुम्बा हाँगेथाम, हाँगेथाम वन, ढोक्से चौक, नारायण ढुङ्गा, धप्परटार, उदाउने डाँडा, लाइन डाँडा हुँदै कैयाँकट्टा पुगिन्छ । ढापोखरीबाट ४ घण्टाको पदयात्रामा कैयाकट्टा पुगिन्छ । हाँगेथामबाट कैयाकट्टासम्म जंगलको बिचमा निर्माण भएको पदमार्गको यात्रा गर्दा आनन्द हुने गरेको छ । पदयात्राका क्रममा पनि चरा, वन्यजन्तु, डाँफे, मुनालहरुको अध्ययन गर्न सकिन्छ । थरिथरिका चरा र रेडपाण्डाको दृश्यावलोकनले कैयाकट्टाको यात्रा सफल भएको एक साता अघि त्यहाँ पुगेका पत्रकार खेमराज ढकालले बताए । प्राकृतिक सुन्दरतामा रमाउँदै पदयात्रा गर्दाको आनन्द बेग्लै हुने ढकालले बताए ।
खर्च कति लाग्छ 
कैयाकट्टा यात्राका लागि काठमाण्डुबाट झापासम्म हवाई र सडक यात्राको सुविधा   छ । काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५७ मिनेटमा झापाको भद्रपुर विमानस्थल आइपुगिन्छ । हवाइ यात्रामा न्युनतम ५७ सय खर्च हुन्छ । भद्रपुरबाट झापाको पूर्व पश्चिम राजमार्गको चाराआली सडक खण्डमा आइपुग्नुपर्छ । भद्रपुरबाट चारआली भाडा ६० रुपैयाँ छ । चारआलीबाट इलाम बजारसम्मको ट्याक्सि भाडा ५ सय रहेको छ । इलामबजारबाट ढापपोखरीसम्मको भाडा ४ सय रुपैयाँ लाग्छ । इलाम बजारमा बास बस्नु परे २ हजारमा एक दिन खान र बस्न पाइन्छ ।
ढापपोखरीमा क्षेत्रमा बास बस्दा पन्ध्र सयमा १ दिनमा खर्च हुन्छ । त्यहाँबाट ४ घण्टामा पदयात्रामा कैयाकट्टा पुगिन्छ । कैयाकट्टामा बास बस्नका लागि होमस्टेको व्यवस्था छ । होमस्टेमा १ दिमा ३ हजार खर्च हुन्छ । जंगल सफारिका लागि गाउँपालिकाले न्युन कर लिन्छ ।
जंगलमा पर्यटक मात्रै सफारि गर्ने हो भने अन्य खर्च लाग्दै तर जंगल सफारिका लागि दैनिक १ जनाको १ हजारको दरले खर्च    लाग्छ । कैयाकट्टा यात्रामा एक्लै भन्दा पनि समूह बनाएर यात्रा गर्दा राम्रो हुन्छ । चिसो क्षेत्र भएकाले न्यानो कपडाहरु पर्यटकले बोक्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार