इलाम : फाल्गुनन्द पदमार्ग अन्तरगत इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी छिन्टापु खण्डमा निर्माणको काम शुरु भएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष कमला खनालको अध्यक्षता गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आतिथ्यतामा पदमार्गको निर्माण शुरु भएको हो । स्वीस विकास नियोग र नेपालका तीन तहकै सरकारहरुबिचको आर्थिक र प्राविधिक सहयोगमा कोशी प्रदेशका २ वटा पदमार्गमध्ये फाल्गुनन्द पदमार्ग पाँचथरको पौवाभञ्ज्याङ्गबाट सन्दकपुरसम्म निर्माण हुन्छ । सोही पदमार्गमा इलामको सन्दकपुर गाउँपालिकाको विश्व रामसार सुचिमा सुचिकृत माईपोखरीबाट छिन्टापुसम्म निर्माणको काम हुनेछ ।
सोही खण्डको एक कार्यक्रमका बिच निर्माणको कामको सुभारम्भ गरिएको निर्माण समितिका सचिव श्यामकुमार राईले बताए । निर्माणको कामको उद्घाटनमा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा, वडा नम्बर १ का अध्यक्ष रहर कुमार राई, नेपाल आदिवासी जनजाति महासंघका पालिका अध्यक्ष रुपेनराज नेम्बाङ्ग, माईपोखरी त्रिधार्मिक समितिका अध्यक्ष प्रेमनाछिरिङ्ग, देउराली खानेपानी तथा सरसफाई समितिका अध्यक्ष किरनदिप राई, नेपाल रेडक्रस शोसाइटी देउराली उपशाखाका सचिव युवराज गुरुङ्ग लगायतको आथित्यता रहेको थियो ।
स्वीस सरकार विकास सहयोग एस डिसिको ५१ प्रतिशत र संघीय सरकारको ५ प्रतिसत, प्रदेश सरकारको २२ प्रतिशत र स्थानीय तहको २२ प्रतिशत आर्थिक लगानीमा चार वर्षका लागि परियोजनाको काम शुरु भएको हो । पदमार्गको चालु आर्थिक वर्षमा ५ सय १७ मिटर पदमार्ग निर्माण हुने । त्यससँगै कुर्सी १ वटा, फोहारदानी १ वटा र पोखरीको वाल १ वटा चालु आर्थिक वर्षमा निर्माण हुनेछ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तरगत निर्माण हुने पूर्वाधारले सन्दकपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।