इलाम : अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।
छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन्।
गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए।
सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएका छन्।
पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९/८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए। त्यसअघि आव २०७८र७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७८र७९ मा २९ हजार आठ सय ११ जना मात्र इलाम घुम्न आएका थिए।
कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको पाइएको हो।
इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।