पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माण तयारी गरिदैँ

इलाम : नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण तयारी सुरु गरिको छ । इलाममा दुई सय वर्ष अघिको युद्ध इतिहास खोजी गरी पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माणको तयारी तीव्र पारिएको हो ।

शुक्रबार नेपाली सेनाको रणशार्दूल गण इलामको पहलमा सदरमुकाममा जिल्लास्थित सुरक्षा निकाय प्रमुख, पदमार्गले छुने स्थानीय तहका प्रमुख, सरोकारवाला एवम् सञ्चारकर्मीहरुको अन्तर्क्रियात्मक बैठक गरी पदमार्ग निर्माणको तयारी तीव्र पारिएको रणशार्दूल गणका प्रमुख सेनानी गणपति प्रल्हाद घलेले बताए ।

पदमार्गले छुने पालिकाहरुको सहभागितामा आगामी असोज १७ गते घटस्थापनाको अवसरमा औपचारिक उद्घाटन गर्नेगरी ‘निशान पदमार्ग’ निर्माणको पहल तीव्र पारिएको उनले बताए ।

अङ्ग्रेज-नेपाल युद्धपछि विस १८७२ फागुन २० मा भएको सुगौली सन्धिपश्चात नेपाली सेनाले इलाम सदरमुकामसम्म निसान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी पदमार्गको रुपमा प्रवर्द्धन र विकास गर्न लागिएको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए ।

भारतको मिरिकस्थित नागरीगढीदेखि करफोकको पूणर्ेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका-७ स्थित माइस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ का रुपमा विकास गर्न लागिएको उनले बताए ।

‘पदमार्गले हुने सूर्योदय र इलाम नगरपालिका एवम् माइजोगमाई गाउँपाकाको समेत पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निसान ल्याउँदा प्रयोग भएको मार्गलाई ‘निसान पदमार्ग’ रुपमा विकास गर्न आआफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गरी विकास गर्ने निणर्य भएको छ,’ गणपति घलेले भने, ‘यो महिनाको अन्तिमसम्ममा मार्ग पहिचान गरी थप काम अघि बढाउने सहमति भएको छ ।’

इलामको ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले निसान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताए । ‘इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामबासीको धार्मिक र साँस्कृतिक आस्थाको केन्द्रको रुपमा रहेको माइस्थान मन्दिर क्षेत्रको महत्व बढ्नेछ,’ उनले भए, ‘यसले समग्रमा इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउनेछ ।’

‘निसान पदमार्ग’ निर्माणका लागि पदमार्गले छुने इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले विशेष महत्वका साथ यसवर्ष बजेट नै विनियोजन गरेका छन् । सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले आफ्नो नगरपालिकाका भूभागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न बजेट नै विनियोजन गरी सम्बन्धित वडा अध्यक्षहरुलाई जिम्मेवारी दिइसकिएको बताए ।

‘हामीले कार्यपालिका बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न सम्बन्धित वडा अध्यक्षहरुलाई जिम्मेवारी दिएका छौं,’ प्रमुख राईले भने, ‘हाम्रो क्षेत्रभित्र पर्ने पदमार्ग व्यवस्थापन गर्न नगरबाट बजेटको समेत व्यवस्था गरेका छौं, सबैले आआफ्नो क्षेत्रमा काम गरौं ।’

इलाम नगरपालिका प्रमुख थापाले विस्तृत कार्ययोजना बनाएर अघि बढ्ने तयारी भएको बताए । त्यसका लागि आउँदो साउन २२ गते पदमार्गले छुने क्षेत्र सूर्योदय नगरपालिकाको करफोकमा वृहत अन्तर्क्रिरया कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनले बताए । ‘पदमार्गले अकुपाइ गर्ने जग्गा निश्चित गरी व्यवस्थापन गर्न यही २२ गते सूर्योदयको करफोकमा वृहत भेला आयोजन गरिएको छ,’ नगरप्रमुख थापाले भने, ‘त्यहाँबाट थप निणर्य गरी हामी अघि बढ्नेछौं ।’ उनले जिल्लाको पर्यटन विकासमा पदमार्गले महत्वपणर् भूमिका निर्वाह गर्ने भएकाले त्यस क्षेत्रमा लगानी गर्न नगर सधैं तत्पर रहेको बताए ।

पदमार्ग निर्माणको सम्भावना पहिल्याउन अघिल्लो महिना सूर्योदय र इलाम नगरपालिकाका जनप्रतिनिधि, इतिहासकार, जानकार र सरोकारवालाको एक टोलि भारतको नागरीगढी पुगेर स्थानीयसँग अन्र्तक्रिया गरेर फर्किएको थियो ।

तत्कालिन अंग्रेज-नेपाल युद्धपछि विस १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल-भारत सीमा कायम गरेको थियो । त्यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूणर्ेडाँडामा आएर बसेको इतिहास छ ।

मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएको इतिहास छ ।

पूर्ण‍ेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका-७ स्थित माइस्थान मन्दिर ल्याइएको इतिहास छ । माईस्थान मन्दिर विस १८८० मा स्थापना भएको अनुमान छ । निसान हाल सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार