इलाम (सन्दकपुर) : विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारीसम्म जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरिएको छ । माईपोखरी रामसार क्षेत्र सन्दकपुर १ मा अवस्थित छ ।
त्रिधार्मिक पर्यटकीय क्षेत्र माईपोखरीबाट शुरु भएको पदमार्ग सन्दकपुर ५ को जौबारीसम्म जोडिएको छ । संघीय सरकारले माईपोखरीबाट ढाप पोखरीसम्म ५० किलोमिटर पदमार्ग निर्माण गरेको छ । माईपोखरीबाट पर्यटकीय क्षेत्र कैयाकट्टासम्म संघीय सरकारको पर्यटन विभागले पदमार्ग निर्माण गरेको हो ।
कैयाकट्टाबाट जौबारीसम्मको पदमार्ग प्रदेश सरकारबाट निर्माण भएको हो । सन्दकपुर गाउँपालिकाको कार्यपालिका बैठकले माईपोखरीबाट जौबारी जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरेको हो । समुन्द्र सतहबाट २१ सय २१ मिटरमा अवस्थित माईपोखरीबाट इलामको अग्लो ३६३६ मिटरमा अवस्थीत पर्यटकीय क्षेत्र सन्दकपुर हुँदै २९ सय २९ मिटरको उचाईमा रहेको जौबारी रेडपाण्डा पदमार्गले जोडिएको छ । रेडपाण्डाको बासोबास र रेडपाण्डाका माध्यमबाट पर्यटन प्रवद्र्धनका गतिविधि हुँदै आएको क्षेत्र भएर निर्माण भएको पदमार्गलाई (रेडपाण्डा पदमार्ग) नामाकरण गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
माईपोखरीबाट जौबारीसम्मको पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, सन्दकपुर गाउँपालिका, केचना कंचनजंघा पर्यटन विकास समति, डिभिजन वन कार्यालय लगायतका संस्थाको आयोजनामा रेडपाण्डा महोत्सव र पदयात्रा गरिएको थियो । रेडपाण्डाको अध्ययन र अवलोकन गर्न सकिने क्षेत्र भएकाले पदमार्गलाई पनि रेडपाण्डा पदमार्ग घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । यो पदमार्गको प्याकेज बनाएर पर्यटकहरुका लागि खुल्ला गर्ने योजना रहेको उपाध्यक्ष लुङ्गेलीको भनाइ छ ।
सरकारको ठुलो लगानी भएको पदमार्गलाई चलायमान बनाउनका लागि नामाकरण गरि अन्य पर्यटकीय गतविधि गर्ने योजना रहेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए । रेडपाण्डा पदमार्गले १३ वटा पर्यटकीय गन्तव्यहरुलाई जोड्नेछ । पर्यटकीय गन्तव्यमा नेपाल र भारतबाट वर्षमा सयौँ पर्यटकले भ्रमण गर्दै आएका छन् । पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माणमा राज्यको ठुलो लगानी भएकाले संचालनमा ःल्याउनका लागि गाउँपालिका अग्रसर हुनुले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार द्यौरालीले बताए ।
रेडमाण्डा पदमार्ग जोडिने १३ पर्यटकीयस्थल
माइपोखरी
रामसार सूचीमा सूचीकृत माईपोखरी सन्दकपुर १ र ३ मा अवस्थित छ । सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिन्छ । माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । माईपोखरी२१ सय २१ मिटरको उचाइमा अवस्थित छ ।
साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको माइपोखरीमा चिताएको मनोकाङक्षा पूरा गर्न भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा निषेध छ । माईपोखरी हिन्दु, बौद्ध र किराँत धर्मावलम्विहरुले पुजा गर्ने त्रिधार्मिकस्थल हो । सबैधर्मको आस्थाको केन्द्र माईपोखरी बहुधार्मिकस्थल हो । माइपोखरीमा बैशाख नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिशेष पुजा र मेला लाग्ने गर्छ । सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा माईपोखरीमा धार्मिक अनुष्ठानका कार्यक्रम हुँदै आएका छन् । माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आराधाना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ती पाइन्छ । नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ, उभयचर, ठकठके, रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको बासस्थान पाइन्छ । माईपोखरीमा सुनगोहोरो, लालीगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अध्ययन गरिन्छ । माईपोखरी इलाम बजार बिब्ल्याँटे, जस्बिरे हुँदै पुगिन्छ । मेचीराजमार्ग निर्माण अघि झापाबाट इलाम हुँदै ताप्लेजुङ यात्रा माइपोखरीकाट हुँदै गरिन्थ्यो । शक्ति पिठ ताप्लेजुङको पाथिभरा दर्शन गर्न पैदेल जाँदा भक्तजनले माइपोखरीको जल उठाएर पाथिभरामा चढाउने प्रचलन थियो । पाथिभरामा माइपोखरीको शुद्ध जल चढाएमा मनोकाक्षा चाडो पुरा हुने विश्वास छ ।
७ माई दिदिबहिनीमध्ये ४ जना खोला भएर बगेको, १ जना अकाशमा, १ जना पतालमा भासिएको र १ जना माईपोखरी भएर बसेको कथन छ । खोला भएर बगेका माई दिदिबहिनी मध्ये, माई नदी, जोगमाई, पूवामाई र देउमाई खोला हुन् ।
डम्बरसिंह सुनुवार संग्राहालय
शोकलाई शक्तिमा बदल्दै, पहाड पल्टाउने ’माउन्टेन म्यान’ यानेकी स्व. डम्बरसिंह सुनुवारको कला देउराली बजारबाट ५ सय मिटर ठाडो उकालो यात्रापछि पुगिन्छ । स्व ः डम्बरसिंह सुनुवार सांस्कृतिक संग्राहलय रामसार क्षेत्र माइपोखरीबाट पदमार्गले जोडिएको छ । आँखाको सामुन्ने गोलीबाट सन्तान गुमाउनुको पिडालाई जीवन्त तुल्याउन ६ दशक सम्म चट्टान काटेर विभिन्न आकृति बनाएका थिए ।
स्वर्गिय सुनुवारको घरपुग्दा लाग्छ हामी कुनै पुरातात्विकस्थलमा पुगेका छौँ । बुकि फुल्ने रुखो डाँडोमा रहेको स्वर्गीय सुनुवारको घर पर्यटक र राजनीतिशास्त्रको विद्यार्थीको अध्ययन केन्द्र बनेको छ । संग्राहालय समुन्द्र सतहबाट २१ सय २८ मिटर उचाईमा अवस्थित छ । स्वर्गीय सुनुवारको नाममा बहुसास्कृतिक संग्राहालय सन्दकपुर ३ स्थित माईपताल क्षेत्रमा निर्माण हुदैछ । सग्राहालय निर्माणका लागि राजनितिक व्यक्तिव पासाङ सेर्पाले ५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
सात खाल्डे
प्रजातन्त्रका निम्ति सुरु भएको सशस्त्र संघर्षका क्रममा ७ जना प्रजातान्त्रिक योद्धाको हत्या भएको ऐतिहासिक क्षेत्र सात खाल्डेका नाममा परिचत छ । सन्दकपुर गाउँपालिका ३ मा अवस्थित सातखाल्डे गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र रहेको देउराली बजारमा छ । बिक्रिम सम्बत २०१९ सालमा सुरक्षा फौजले आफै खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको पुरेर हत्या गरेको क्षेत्र सात खाल्डे हो ।
देउराली बजारको नजिकै उत्तरपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माण भएको छ । सात खाल्डेमा सन्दकपुर १ का तुला बहादुर राई, डाकमान राई, तेज बहादुर राई, जितबहादुर राई, बल बहादुर गुरुङ्ग लाखमान राई र खड्गबहादुर राईको विभत्स हत्या भएको थियो । सात खाल्डे सहिद पार्क २ हजार ८९ मिटरको उचाईमा अवस्थित छ ।
रेडपाण्डा प्रजनन् केन्द्र टप्पु
सन्दकपुर वडा न १, २ र ३ मा अवस्थित छ पर्यटकीय क्षेत्र टप्पु । लोपोन्मुख जीव, वन्यजन्तु, वनस्पति, १२ महिना फरक फरक मौसममा फुल्ने जंगली फुल र जडिबुटी पाइने टप्पु क्षेत्रलाई प्राकृतिक चिडियाखाना बनाउने योजना छ । हामी लोपोन्मुख वन्यजन्तुको प्रजनन् केन्द्र टप्पु पुग्नेछौँ । टप्पु प्राकृतिक रमणियताले भरिएको ठाउँ पनि हो । लोपोन्मुख जीव वन्यजन्तु वनस्पती फरक/फरक मौसममा फुल्ने जंगली फुल, जडिबुटी पाइने टप्पु क्षेत्रलाई प्राकृतिक चिडियाखानाको रुपमा विकास गरिँदै छ ।
टप्पुबाट हिमाली दृश्यसँगै महाभारत पर्वतका अग्ला पहाड छिन्टापू, सन्दकपूर र कंचनजङ्घाको दृश्यावलोकन गरिन्छ ।घना जंगलमा रहेको टप्पुमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि प्रजनन् केन्द्र निर्माण गरिएको छ । हिउँदमा बाक्लो हिमपात हुने टप्पुमा हिउँ खेल्नेको बाक्लो भिड हुन्छ । हिउँ खेल्नका लागि इलाम, झापाका आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । टप्पु समुन्द्र सतहबाट २५ सय ५ मिटरको उचाईमा छ ।
छिन्टापु डाँडा
छिन्टापु ३३ सय ३ मिटरको उचाइमा अवस्थित छ । इलामको सन्दकपूर गाउँपालिका १ र २ मा अवस्थित छिन्टापु डाँडा जति घुमेपनि धित मर्दैन । घुमुघुम झैँ लाग्छ । जैविक विविधता, प्राकृतिक सुन्दरता र वसन्त ऋतुमा डाँडाभरि १८ प्रजातिमा फुल्ने लालीगुराँसले छिन्टापु पुग्नेको मन लोभ्याउँछ । लालीगुराँसको फुलले सजिएका बेला छिन्टापु नवजोडी झै सुन्दर हुन्छ । यति मात्रै हैन छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजंघा र कुम्भकणर् हिमालको दृश्य टल्कदा आहा ! बयान गर्ने शब्द नै हुँदैन । कुमारी पर्वतका नामले भारतमा चर्चित छ छिन्टापु ।
छिन्टापु आसपासमा सांस्कृतिक महत्व बोकेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरी, जोरपोखरीसँगै ८ वटा पोखरी छन् । बर्षौ लगाएर बनाइने कृतिम सुन्दरतालाई हजारौँ कोष टाढा छोड्ने छिन्टापुमा भारतीय पदयात्रीको आकर्षण बढेको छ । छिन्टापुको सुन्दरता नेपाल भित्रमात्रै हैन, भारत हुँदै विश्वभर विस्तार हुँदै छ । छिन्टापुमा फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले स्वागत गर्छ । अरुबेला हिमाली जडिबुटी, असंख्य हिमाली फुल र जता फर्के पनि टलक्क टल्कने दर्जनौ हिमाली दृश्यबाट स्वागत हुन्छ । छिन्टापु सन्दकपुर १ को रामसार क्षेत्र माईपोखरीदेखि टप्पु, खप्परे हुदै पदयात्रा गर्नुपर्छ ।
छिन्टापू क्षेत्रमा होमडाँडा र मन्दिर डाँडा गरि दुई अग्ला डाँडाहरु छन् । यी डाँडाहरुबाट छिन्टापु क्षेत्र चिनियाँ सम्राटले निर्माण गरेको ग्रेटवाल झै देखिन्छ ।गाडीको यात्रा गर्दा छिन्टापू पुग्ने इलाम बजारबाट माईपोखरी, बुधबारे गोरुवाले भञ्ज्याङ हुँदै देउरालीसम्म पुगिन्छ । देउरालीबाट हामीले पदयात्रा गर्नुपर्ने हुन्छ ।
आहाल डाँडा
आहाल डाँडासन्दकपुर २ मा अवस्थित छ । नेपाल र भारतबाट सन्दकपुर भ्रमण गर्ने पर्यटकहरुको गन्तव्यस्थलमा पर्छ आहल डाँडा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडाबाट २ किलोमिटरको दूरीमा आहाल डाँडा पर्छ । आहाल डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य मज्जाले देखिन्छ । आहाल डाँडा पर्यटकहरुको हिमश्रङ्खला दृश्यावलोकन गर्ने भ्यु पोइन्ट भएको छ । आहाल डाँडाबाट नेपाल, भारत, भुटान र चीनको तिब्बतसम्मका हिमश्रङ्खलाको दृश्यमा रमाउन सकिन्छ । समुन्द्र सतहबाट ३५ सय २७ मिटरको उचाईमा अवस्थित आहाल सन्दकपुर डाँडाबाट पदमार्गले जोडिएको छ ।
सन्दकपुर डाँडा
कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल हो सन्दकपुर । सन्दकपुर नेपालको ःयकत एयतभलतष्ब िम्भकतष्लबतष्यल मा घोषित क्षेत्र हो । समुन्द्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाइ रहेको सन्दकपुर विश्व भरका पर्यटकको गन्तव्यस्थल हो । नेपाल र भारत सीमा क्षेत्रमा पर्ने सन्दकपुर डाँडा भारतीय पर्यटन पदमार्गमा उत्कृष्ट घोषित छ ।
भारती पदमार्ग भएर चार लाख बढी पर्यटक पुग्ने सन्दकपुरमा नेपालबाट वार्षिक ३० हजार पर्यटक पुग्ने गरेका छन् । सन्दकपुरबाट नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमाल नियाल्न सकिन्छ । हिमालसँग कुम जोडिएझैँ १८० डिग्रीको सोझो सतहमा सबैभन्दा बढी हिमश्रङ्खला दृश्यावलोकन गर्न सकिने विश्वकै एक मात्र ठाउँ हो,सन्दकपुर ।
सूर्योदय, सूर्यास्त, २० प्रजातीमा फुल्ने लालिगुराँसको दृश्यबाट आनन्द लिँदै सन्दकपुरको पदयात्रा गर्न सकन्छि । सामरिक दृष्टिले पनि महत्वपूणर् सन्दकपुरसगरमाथा, कंचनजङ्गा, मकालु पाथिभरा, कुम्भकणर् हिमालसँगै ६० बढी हिमश्रङ्खलाको दृश्यले आनन्दित बनाउँछ । छिनछिनमा बदलिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा धर्तिमै स्वर्गीय आनन्दको अनुभुति दिन्छ ।
इलामको चार खोलामध्ये पवित्र माई नदीको मुहान रहेको सन्दकपुरमा विश्वभरका श्रद्धालु भक्तजनले पुजा गर्छन् । सन्दकपुरको डाँडाबाट नेपाल र भारतका गाउँबस्तीहरु हत्केलामा राखेर हेरिरहुँ जस्तो लाग्छ । सन्दकपुर डाँडाको पदयात्रा वडा न १ को माइपोखरीबाट टप्पु, छिन्टापु हुँदै गर्न सकिन्छ । गाडिको यात्रा माइपोखरी बुधबारे, कालपोखरी हुँदै हुन्छ । सन्दकपुर डाँडा पुग्ने अर्को बाटो इलाम बजार सुलुबुङ माबु, कालपोखरी सन्दकपुर हो । पर्यटकीय गन्तव्य सन्दकपुरमा अहिले विद्युतको केन्द्रिय प्रशारण लाइन पुगेको छ । यहाँ खान र बस्नका लागि होटल र होमस्टेहरु रहेका छन् । इलाम सदरमुकामबाट ४२ किलोमिटरको यात्रापछि पुगीने सन्दकपुर डाँडा सन्दकपुर गाउँपालिका २ र ४ मा अवस्थित छ ।
चौरीचोक
सन्दकपुर २ मा अवस्थित चौरीचोक पर्यटकहरुको बासस्थान क्षेत्र हो । समुन्द्र सतहबाट ३१ सय १९ मिटरको उचाईमा रहेको चौरीचोकमा होमस्टे रहेका छन् । चौरीचौकबाट नेपाल र भारतका ग्रामीण बस्तिको दृश्यमा रमाउन सकिन्छ । चौरीचोकबाट सूर्यास्तको दृश्यमा रमाउन सकिन्छ ।
कालपोखरी
नेपाल र भारत दुबैतिरबाट सन्दकपुर भ्रमणका लागि आउने पर्यटकको संगमस्थल हो, कालपोखरी।पर्यटकीय सिजनमा सन्दकपुर पुग्न लम्किरहेको हुलका हुल पर्यटकको लावालस्कर कालपोखरीमा हुन्छ । कालपोखरी पर्यटकहरुको बासस्थान क्षेत्र हो । नेपाल भारत सीमा क्षेत्रमा सानो पोखरी पनि छ । पोखरीको पानी कालो हुने गरेकाले पोखरीको र बस्तिको नाम कालपोखरी रहेको हो । समुन्द्र सतहबाट ३१ सय ८६ मिटरको उचाईमा अवस्थित कालपोखरी सन्दकपुर ४ मा अवस्थित छ ।
दोबाटे
माबुथामबाट ४ किलोमिटरमा पुगिन्छ रेडपाण्डा अध्ययन क्षेत्र दोबाटे । दोबाटे लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको अध्ययन क्षेत्र हो । दोबाटे सन्दकपुर वडा नम्बर ४ मा अवस्थित छ । दोबाटेमा सानो बस्ति रहेको छ । बस्तिमा होमस्टे संचालनमा रहेका छन् । पर्यटकहरुले दोबाटेमा बास बसि रेडपाण्डाको अध्ययन अवलोकन गर्दै आएका छन् ।
दोबाटेबाट अघि बढेपछि बिचैमा लालबास सीमसार क्षेत्र पुगिन्छ । यो सिमसार क्षेत्र सन्दकपूर गाउँपालिकाले अहिले संरक्षण गरेको हो । सीमसार वरिपरिको जंगलमा लालीगुराँस, सुनाखरी फुल र चराहरुसँगै रेडपाण्डाको अध्ययन गर्ने आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् । दोबाटे समुन्द्र सतहबाट २७ सय ५० मिटर उचाईमा अवस्थित पर्यटकीय गाउँ हो ।
कैयाकट्टा
समुन्द्र सतहबाट २७ सय २७ मिटरमा रहेको कैयाकट्टा सन्दकपुर ५ मा अवस्थित छ । कैयाकट्टा पुग्न जौबारी गैरीबासहुँदै पदमार्ग भएर पैदलयात्रा गर्नुपर्ने हुन्छ । नेपाली भु-भाग भएर कैयाकट्टा जोड्ने सडक नहुँदा गाडीमा यात्रा गर्ने सुविधा नेपाली भुमि भएर छैन । सवारीसाधनबाट यात्रा गर्दा पर्यटकले भारतीय सडक प्रयोग गर्नुपर्छ ।
घना जंगल भएर पदमार्गको यात्रा गर्दा हिमाली फुल, लालिगुराँस, जडिबुटी, वन्यजन्तु, चराहरु अध्ययन अवलोकन गर्न सकिन्छ । गैरीबासबाट डेढ घण्टाको पदयात्रामा पुगिन्छ कैयाकट्टा ।
कैयाकट्टा वन्यजन्तु र चराहरुको अध्ययन गर्ने थलोको रुपमा परिचित छ । नेपाली बस्ति कैयाकट्टामा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, ध्वाँसे चितुवा, मुनाल लगायत दर्जनौ चराहरुको अध्ययनका लागि विश्वभरका पर्यटक पुग्ने गरेका छन् । कैयाकट्टामा विश्वभरका पर्यटकहरु चरा, वन्यजन्तु अध्ययनका लागि आउने क्रम बढ्दो छ ।
गैरीबास
गैरीबास सन्दकपूर ५ मा अवस्थित छ । सन्दकपुर ५ को जौबारीबाट २ किलोमिटरको यात्रामा पुगिने क्षेत्र हो, गैरीबास । गैरीबास क्षेत्रका जंगलमा लोपोन्मुख रेडपाण्डा, चराहरुसँगै लेकाली जडिबुटी, लालिगुराँसको फुलमा रम्न नेपाल र भारतबाट पर्यटन पुग्ने गरेका छन् ।
ग्रामिण भु-भागको दृश्यावलोकन गर्दै सन्दकपूर पदयात्रा गर्ने पर्यटकहरुको बासस्थान हो, गैरीबास । नेपाल भारतको सीमा बस्ति गैरीबासमा पर्यटकको सुविधाका लागि होमस्टे र होटलहरु संचालनमा रहेका छन् । समुन्द्र सतहबाट २४ सय ८० मिटर उचाईमा गैरीबास रहेको छ ।
जौबारी
समुन्द्र सतहबाट २९ सय २९ मिटरमा रहेको जौबारी सन्दकपुर ५ मा अवस्थित छ । हिउँदमा सेताम्मे हिउँले ढाक्ने भएकाले पर्यटकीय क्षेत्र जौबारी ‘इलामको मुस्ताङ’ को उपमाले परिचत छ । जौबारी क्षेत्र, इलामको सन्दकुपर -५ र माईजोगमाई गाउँपालिका-२ मा अवस्थित छ ।
मोति झै टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न जौबारीमा नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थलको हो । जौबारी पर्यटकहरुको रात बिताउने क्षेत्र हो । वर्षातयामको झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिमपात जौबारीमा पर्यटक तान्ने माध्यम हुन् ।
जौबारी पुग्दा स्वर्गीय आनन्द चाँदी झै टल्किएका हिमालको दृश्यबाट हुन्छ । झरि, हुस्सुकुहिरो र हिउँदमा बाक्लो हिउँको वास्ता नगरि जौबारी पुग्ने पर्यटकलाई स्थानीयले न्यानो स्वागत गर्छन् ।
वर्षातको हरियाली, प्राकृतिक सुन्दरता र हिउँदमा हिउँ खेल्न सकिन्छ जौबारीमा । हिमाली क्षेत्रका असंख्य जडिबुटी, चराहरु, नेपाल र भारतका मनोरम दृश्यमा रमाउँदै जौबारी पुग्दाको आनन्द बेग्लै हुन्छ ।
नेपाल भारत सीमा क्षेत्र हुँदै जौबारी बजार भएर कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरसम्म पर्यटकले पदयात्रा गर्छन् । पदयात्रा गर्दा पाइने कलात्मक काठेघर, आदिवासी जनजाति समुदायको संस्कृति, रहनसहन र सुन्दर प्राकृतिक छटाको दृश्यले रमाउन सकिन्छ ।
जौबारी पुग्दा हिमाली दृश्य, प्राकृतिक छटा, जैबिक विविधता, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गीको दृश्यमा आनन्द लिन सकिन्छ । आधुनिक कृषि प्रणालीको विकास गर्न सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्क, आलुबाली तथा बागबानि विकास केन्द्र पुनः स्थापना गरेपछि जौबारी किसानको अध्ययनको थलो बनेको छ ।
जौबारीलाई सन्दकपूर र माइजोगमाई गाउँपालिकाले सडकबाट जोडेपछि भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । पर्यटकको संख्या बढेसँगै होमस्टे, ग्रामिण होटेलहरु खुल्ने क्रम बढको छ । होटल होमस्टेले पर्यटकहरुलाई सेवा सुविधा दिएर मनग्ये आर्थिक आर्जन गरेका छन् ।
यात्रामा अध्ययन थप क्षेत्रहरु
पदयात्रामा पर्यटक आकर्षण गर्ने झरनासँगै जैविक विविधताले महत्वपूणर् सन्दकपूर गाउँपालिका थुप्रै नदी, खोलाहरुको उद्गमस्थल हुन् । कोशी प्रदेशको उर्वर भुमी झापा जिल्लाको सिचाई र खानेपानीको मुख्य श्रोत माई नदीको मुहान सन्दकपूर-२ को सन्दपूर डाँडामा पर्दछ ।
इलामको चार खोला मध्ये पुवाखोलाको उद्गम क्षेत्र सन्दकपूर-२ को छिन्टापू हो । छिन्टापू क्षेत्र मेवा, राते, गिताङ, खोलाको उद्गमस्थल रहेको छ । सन्दकपूर-५ को जमुना खोलाकोे मुहान कैयाकट्टा हो । सन्दकपूर-५ कै इङ्ला खोलाको मुहान क्षेत्र जौबारी हो । सन्दकपूर-४ र ५ भएर बग्ने धुवाखोलाको मुहान क्षेत्र चिसापानी क्षेत्र हो । सन्दकपुर-५ मा रहेको पाहाखोलाको मुहान क्षेत्र लामिझोड हो ।
सबै नदी र खोलाको मुहान क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले महत्वपूणर् मानिन्छन् । धार्मिक हमत्व रहेका खोला र नदीका मुहान क्षेत्रमा घना जंगल रहेकाले वन्यजन्तु, जडिबुटी, चराहरुको अध्ययन गर्न सकिन्छ ।
जातजातिको संस्कृति
आदिवासी जनजातिको मौलिक रहनसहन, जातिय भेषभुषा र हरेकचाडपर्वहरुमा नाचिने जातिय झाँकी सन्दकपुरमा पर्यटन प्रवद्र्धनका माध्यम बनेका छन् । प्रकृति पुजक किराँत राई जातिको आफ्नो भेषभुषमा सजिएर नाचिने उधौली, उभौली र साकेला चण्डी नाच हेर्न पाइन्छ ।
आफ्नो भेषभुषा सँस्कृति र परम्परामा आधारितसुनुवार जातिको स्यादर चण्डी नाच यहाँको अर्को आकर्षक हो । पुर्खाहरुले परापूर्वकालमा गरिएका कामको स्मरण गर्दै गाइने र नाचिने हुर्रा नाच मगर जातिको जातिय सस्कृतिले हामीलाई लोभ्याउँछ ।
गुरुङ्ग जातिको रहनसहन, साँस्कृतिक सम्पदासँगै आफ्नै भेषभुषामा नाचिने नृत्य ग्रामीण पर्यटनको माध्यम बनेको छ । बाम्हण र क्षेत्री समुदायले संरक्षण गरेको १६ संस्कारमा आधारित साँस्कृतिक नृत्य सन्दकपुरको सम्पत्ति भएको छ ।
लिम्बु जातिले बिहे, भोज, भतेर र मेला पर्वहरुमा नाचिने धाननाच पालमनाच, च्याब्रुङ ढोलनाच सन्दकपुर गाउँपालिकामा पर्यटनको माध्यम भएको हो । दलित समुदायको परम्परागत पञ्चेबाजा, मारुनी नाँच अध्ययन गर्न सन्दकपुरमा पाइन्छ ।
कृषि, पशुपाल, जडिबुटी
सन्दकपुर गाउँपालिकाको खाध्यवबाली, नदेवाली, पशुपालन र जडिबुटी खेती मुख्य आम्दानी हो । धान, मकै, आलु, अलैची, अम्लिसो, पशुपालन र जडिबुटी खेती पर्यटन व्यवसायसँग जोडिएका छन् । किबि फल सन्दकपुरमा व्यवसायिक खेती हुन्छ ।
पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकहरुलाई व्यवसायीले स्थानीय उत्पादनको परिकार पस्कने गरेका छन् । सन्दकपुर गाउँपालिकालाई किवी फलको जोन घोषणा भएपछि देशविदेशका उद्यमी र किसानको अध्ययन क्षेत्र बनेको छ ।
उद्यमशिल किसानहरुको पसिनाले रुखो डाँडाडाँडामा रहरलाग्दा चियाका बुट्टाहरु मौलाएका छन् । मकै र धान फल्ने घर घुरानदेखि खेतबारीमा अलैची खेती विस्तारि छ । व्यवसायीक गाईभैसी, चौरी पालनले गाउँगाउँमा खोलिएका असंख्य डेरी, चीज उद्योगहरुबाट गुणस्तरीय चिज, छुर्पी, घ्यूको स्वादमा पर्यटक रमाउने गरेका छन् ।
औषधीजन्य गुण रहेका बहुमुल्य जडिबुटीको व्यवसायिक खेतीसन्दकपुरमा हुन्छ । सन्दकपुर पूर्वी पहाडको जडिबुटी र बनस्पतिको राजधानी हो । किसानहरुले पाखा पखेरुहरुमा सतुवा, मजिटो, इन्द्रेणी, लौठ सल्ला, सुनाखरी, चिराइतो, पाँचऔले, कुड्की, ओख्खे आलु, चिम्फिङ्ग जस्ता थुप्रै जडिबुटीहरुको अध्ययन क्षेत्र सन्दकपुर बनेको छ ।
अर्गानीक खाना/मदिरा
ग्रामीण क्षेत्र सन्दकपुरको ९ सय ९ मिटरदेखि ३६ सय ३६ मिटरसम्मको क्षेत्रफलमा कृषि उपज, जडिबुटी, मौसमी, बेमौसमी खाध्यबाली, जडिबुटी उत्पादन हुन्छ । सन्दकपुर घुम्दा हामी बास बस्ने होमस्टे र होटलमा अर्गानिक परिकारको स्वादमा रम्नेछौँ ।
हामीले थकान मेटाउन जडिबुटी मिसाएर तयार पारिएको स्थानीय मधिरा पिउन सक्छौँ । गाउँमा उत्पादन भएको खाध्यबालीबाट बनाइने नेपाली खाना, लोकल कुखुराको मासु, अकबरे खुर्सानी, जडिबुटीबाट बनेको अचारको स्वादमा रम्न सक्छौँ ।
हामी सन्दकपुर यात्रामा १७ प्रजातीका फलफुलको स्वाद पाइने किबि फल र त्यसबाट बनेको वाइन,रक्सिमा रम्ने गरेका छौँ । किविको रक्सि १ लिटरको ८ सय रुपैयाँ पर्छ । लेकाली जडिबुटी मिसाएर तयार पारिएको रक्सि १ लिटरको १ हजार ५ सयमा पाइन्छ ।
जडिबुटी चिङ्फिङ मिसाएर बनाइएको रक्सि ६ सय ५० र पदमचाल मिसाएर बनाइएको ७ सय र टिंबुर मिसाएर बनाएको रक्सि ६ सय ५० रुपैयाँ खर्च गरि रमाउन सकिन्छ ।
सन्दकपुर यात्रा
पर्यटकीय गाउँपालिका कोशी प्रदेशको सुदुरपूर्वी जिल्ला इलाममा अवस्थित छ । पर्यटकीयस्थलले भरिपूणर् सन्दकपुर गाउँपालिका नेपालको राजधानी काठमाडौँबाट करिब ६ सय किलोमिटर यात्रा गर्नुपर्ने छ ।
काठमाडौँबाट महेन्द्र राजमार्ग हुँदै झापाको चारआलीबाट इलामको यात्रा गर्न मेची राजमार्ग भएर सानी पाथिभरा, कन्याम हुँदै इलाम सदरमुकामसम्म पुगिन्छ । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हावाई यात्रा झापाको भद्रपुरस्थित चन्द्रगढि एयपोर्टसम्म हुन्छ । चन्द्रगढि एयरपोर्टबाट मेची राजमार्ग हुँदै चारआलीबाट इलामको यात्रा तय गर्नुपर्छ ।
चारआलिबाट इलाम बजारसम्मको यात्रा ७५ किलोमिटरको छ । इलाम सदरमुकामबाट १८ किलोमिटरको यात्रापछि सन्दकपुर गाउँपालिका १ स्थित रामसार क्षेत्र माईपोखरीमा पुगिन्छ । माईपोखरीमा पर्यटन सुचना केन्द्र रहेको छ । सुचना केन्द्रबाट सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय गन्तव्य भ्रमणका लागि सुचना र सहयोग लिएर आफ्नो यात्रा तय गर्न सकिन्छ ।