फिक्कल (इलाम) : इलाममा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका-११ स्थित तीनघरेमा दुई दिने महोत्वस सुरु भएको हो ।
आदिवासीको मौलिक संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रदर्शनी, प्रवर्द्धन, उपयोग र बजारीकरणमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले साँस्कृतिक बाजा ‘ढोलक’ बजाएर गरे। उनले विभिन्न जातजातिको रहनसहन, भाषा, संस्कृति संरक्षण गर्न महोत्सवले सहयोग पुग्ने बताए ।
सोमबारसम्म सञ्चालन हुने महोत्सवमा रैथाने खानाका परिकारहरु राखिएका छन् । महोत्सवमा राई, लिम्बू, मगर, नेवार, तामाङ र लोपोन्मुख लाप्चा जातिका रैथाने खानाका परिकारका २० बढी स्टलहरु राखिएका छन् । महोत्सवमा वाचिपा, कोदो र फापरको रोटी, ढिँडो, गुन्द्रुक, तरुलजस्ता गुन्द्रुक, तरुलजस्ता रैथाने खानाका परिकारहरु राखिएका छन् ।
महोत्सवमा आउने पाहुनाहरुलाई रैथाने खानाका परिकारहरु चखाउने गरिएको आयोजक नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले बताए । महोत्सवमा विभिन्न जातजातिको लोप हुँदै गएका वस्तुलाई प्रदर्शनीमा राखिएको छ । यस्तै विभिन्न जातजातिको मौलिक साँस्कृतिक झाँकी तथा भेषभूषाहरु प्रदर्शनीमा राखिएका छन् ।
‘आदिवासी जनजातिको संस्कृतिको संरक्षण तथा रैथाने उत्पादनको प्रदर्शनी, प्रवर्द्धन, उपयोग र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,’ अध्यक्ष योल्मूले भने, ‘महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित झाँकी, भेषभूषा एवम् रैथाने परिकारहरु प्रदर्शनमा राखिएका छन् ।’
महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा संघ, नेपाल शेर्मा समाज, नेपाल मगर संघ, लाप्चा उत्थान मञ्च, नेवा: दय दबु, नेपाल थामी समाज, तमू ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्माबाट सहभागिता छ ।
महोत्सवले नयाँ र पुराना पुस्ता मिलेर आदिवासी जनजातिको पुर्ख्यौली कला, संस्कृति र परम्परा तथा रैथाने परिकारको संरक्षण, संवर्द्धन, प्रवर्द्धन गर्दै बजारीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको अर्को आयोजक संस्थ सूर्योदय महिला मञ्चकी सचिव साधना फागोले बताइन् । १५ हजार बढीले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको उनले बताइन् ।