एक प्राथमिक शिक्षकको चिठ्ठी

  नयाँ बुलन्द
539 Shares

 

 प्रिय शिक्षक साथीहरु,

शिक्षाको गुणस्तर उठाउने र शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रयासमा फुर्सदको समयमा दिवा स्वप्न, असफल स्कुल, शिक्षाको त्रिवेणी जस्ता पुस्तकहरुका साथै शिक्षक मासिक पत्रिका, गुड मर्निङ सर,थ्री आइडीवट ,मेडम गीता रानी जस्ता चलचित्र, द मेन वीथ मेनी मिसन, सोनाम वाङचुक/कैन बनेगा करोडपती कार्यक्रम र गजेन्द्र सरको कथा, ज्ञान सरको कथा, कर्म सपना श्रृङ्खला जस्ता हेर्ने कथाहरुलाई स्रोत सामाग्रीको रुपमा राख्दै आज एउटा पत्र लेख्दै छु ।

साथीहरु, प्राज्ञिक अध्ययनहरुले भने- शिक्षा सुध्रेन,उपभोक्ता अध्यनले भने- नियमित अनुगमन र थप सहयोगले सुधार सम्भव छ । दलिय राजनितिज्ञ तथा तिनकाका झोले संस्थाहरुले भने- शिक्षा नीति,दर्शन र पाठ्यक्रम भएन । देशलाई छुट्टैखाले शिक्षा चाहियो जनवादी,जनमुखी र समाजवादी,राष्ट्रवादी,व्यवहार वैज्ञानिक,उत्पादनमुखी। यसै गरी शिक्षक संघसंगठनले भने- शिक्षा बिग्रनुमा सरकार दोषी छ । निजी विद्यालटहरुले भने- हामी सक्षम छौं शिक्षा सुधार्न सकिन्छ । सञ्चारमाध्यमहरुले भने- सरकारी स्कुल‌मा केही सुधारक छन् ‌केही बिगारक छ‌न् । यसरी हेर्दा हामीमा शिक्षा सुधार्ने पिरलो र सम्भावना रह्यो सुधार्न सकिन्छ । निर्णय रह्यो सुधारक शिक्षक नै हुन् । व्यवस्थापन रह्यो संयुक्त प्रयास विश्वास रह्यो । शिक्षणकला बदल्न सके शिक्षा सुध्रिन्छ । त्यो सुधारक र बदल्ने शिक्षक नै हो । त्यसो त शिक्षक हुन राजालाई पनि चाहना हुँदोरहेछ भन्ने कुरा महाभारतको अनुशासन पर्व अध्याय ५५-५६ मा उल्लेख छ । राजा कुशिकले ब्राहमणत्मको तिब्र चाहना गरेका थिए। तिनका छोरा गाधिलाई पनि यो चाहना तिव्र थियो । गाधिले मृगु सन्तान ऋचिकलाई आफ्नी छोरी सत्यवती दिएर नाति जमदग्मी गुरुकुल प्रमुख भए‌कोमा आनन्द मनाए । गाधिका छोरा विश्वरथ चाँहि ठुलो शिक्षक भएरै छाडे । राजनितिक स्वाभाव छोडेर शिक्षकको स्वभावमा आउन तीन पुस्ता लाग्यो । कुशिकलाई तीन जन्म लाग्यो । त्यसैले शिक्षक हुन पाएकोमा मेरो छाती गौरवले ढक्क फुल्दो छ ।

विद्याल‌य भनेको आदरभाव राख्ने ज्ञान र विवेकले भरिएको पवित्र थलो हो । त्यसमा रहेका वि.व्य.स. सहायक र अभिभावक पूरक हुन् । सरकार सहयोगी हो । तपाइहरुलाई एक आदर्श शैक्षिक नेताको रूपमा रुपान्तर गर्ने मेरो सोच हो । सार्थकता मेरो तपस्या हो । तर, केही शिक्षक नेताहरुले शिक्षामा आफ्नो भूमिका अत्यन्त सिमित पारेकोले विभिन्न आरोप समेत खेप्नु परेको छ । ती अहोरात्र तलव, भत्ता,सेवा,नियमावली र सरुवा बढुवा कुरामा मात्र सिमित रहन्छन् । शिक्षकलाई रकम असुल्न थुप्रै शिक्षकहरु, आउछन् तर इमान्दारीपूर्वक चन्दाको हिसाब कसैले देखाउँदैनन्।  आफुले दिएको चन्दा कहाँ, कसरी, कुन काममा खर्च हुन्छ भन्ने कुरा आम शिक्षकले कहिल्यै थाहा पाउँदैनन् । आफुले पाएको जिम्मेवारीलाई आत्मीय, लगनशील र सिर्जनशील तरिकाले सम्पन्न गर्नुको सट्टा कुनै पनि राजनैतिक दलको केन्द्रमा बस्न खोज्ने केही शिक्षकका मनोवृतिले मेरो शिर लज्जा र पश्चातापले झुकेको छ ।

शिक्षक साथीहरु,

तपाईहरूले पढाएर मात्र पुग्दैन हामीले ध्यानदिनु पर्ने ठुलो कुरा त विद्यार्थीहरुमा मानवीय स्वभाव र विवेक कसरी बढाउने भन्ने पो रहेछ । बालवालिकालाई मानव बन्न प्रेरित गर्नु र शिक्षित दानव बन्नबाट जोगाउनुमा नै शिक्षाको सार्थकता रहेको हिटलरको यातना शिविरबाट जोगिएक एक अमेरिकी स्कुलका प्रार्चायले सहकर्मी शिक्षकलाई सम्बोधन गर्दै लेखेका छन् । ‘म एउटा यातना शिविरबाट बाँचेर निस्केको व्याक्ति हुँ। त्यहाँ मैले जे देखें ती कुरा अरु कसैले पनि कहिल्यै देख्नु नपरोस, किनभने ती दृष्य मानव जातिले नै हेर्न  लायकको थिएनन् ।’ शिविरहरुमा आफ्नै आँखा सामुन्ने भएका घटनाहरुका कारण मेरो मनमा शिशा प्रति एउटा गहिरो आशङ्का उब्जिए‌को छ । यतना शिविरमा मानवले मानवप्रति गर्न सक्ने अत्यचारको चरम सिमाको वर्णन गर्दै ती प्रार्चाय अगाडी लेख्छन् ‘ती ग्याँस च्याम्बर विद्वान इन्जीनियरहरुले नै बनाएका थिए भन्ने कुरामा कुनै शङ्का छैन । त्यहाँ बालबालिकाहरुलाई विष दिने पनि सुशिक्षित चिकित्सकहरु नै थिए । महिला केटाकेटीहरु‌लाई निर्ममतापूर्वक गोलीले भुट्‌ने काम पनि कलेजका स्नातकले नै गरेका थिए। शिक्षित व्यक्तिहरुबाट त्यस्तो दानवीय कृत्य देखेपछि मलाई खाली शिक्षाले मात्र नपुग्ने रहेछ भन्ने लाग्न थालेको छ ।

अन्त्यमा व्यक्तिको सामाजिक मनोवृ‌तिमा आए‌को फेरबदलको आधारमा कालक्रम सापेक्ष समाज शास्त्रीय विश्लेषणात्मक दृष्टीकोणले तीन कालखण्डमा विभाजन भएको देखिन्छ । पुर्ख्यौली धान्ने मनोवृति पुस्ता, आधुनिक पुस्ता र नकारात्मक/सकारात्मक सोचका पुस्ता । आधुनि पुस्तालाई डटकम अर्थात् डिजिटल जेनेरेसन पनि भनिन्छ । अत्याधुनिक सञ्चार सुविधालाई समात्दै अगाडी बढीरहेको यो पुस्ता टेलिभिजन,कम्प्युटर,मोबाइल‌को स्क्रिनमा समेटिन खोज्ने भएकोले यसलाई डटकम अर्थात् डिजिटल जेनेरेसन भनिनु सान्दर्भिक नै देखिन्छ । डटकम पुस्ता परिपक्व हुँदा उनीहरुसंग केवल यन्त्र मात्र हुनेछ। उनीहरुसंग व्यवस्थित मानव संस्कार हुने छैन । संस्कार विहिन यान्त्रिक विकास संसारका लागि झन् भयानक चुनौती हुनेछ भन्दै फेरि अको पत्रमा भेट हुनेछ भन्ने वाचाकासाथ आजलाई विदा ।

लेखक तथा संकलनः­- मोहनचन्द्र चेम्जोङ (शिक्षक)

घुर्बिसे पञ्चमी मा.वि. फाल्गुनन्द-५ फाक्तेप,पाँचथर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार