आइतबारदेखि इलाम साहित्य महोत्सव हुँदै, तयारी पूरा

  नयाँ बुलन्द  165 पटक हेरिएको

इलाम : जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा आइतबारदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुँदैछ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।

साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थाम्सुहाङल बताए । ‘इलाम त्यसैपनि पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट समेत थप विकास गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको हो’ अध्यक्ष थाम्सुहाश्रले भने ।

इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा हुने महोत्सव सोमबारसम्म संचालन हुनेछ ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुने महोत्सवमा नेपाल र भारतका डेढ सय साहित्यकारको सहभागिता रहने अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका  साहित्यकारको सहभागीता रहनेछ ।

महोत्सवमा पहिलो दिन ‘अंक, अर्थ र अध्यात्म’, ‘राजनीतिमा एजेण्डा कि अनुहार’, ‘कवितामा स्थानीय चेत’, ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’, ‘कला र आदिवासी सौन्दर्य चेतना’ र ‘कस्तो चेतना’ विषयमा छलफल हुनेछ ।

त्यस्तै दोस्रो दिन ‘लेखन सफल कि सार्थक’, ‘समावेशी लेखन र समकालीनता’, ‘महाभारादेखि टिष्टासम्म’, ‘मातृभाषा साहित्यमा शिल्प चेतना’, ‘फिक्सन डिजाइनर इन पोइट्री’, ‘जनआकांक्षा, विकास र पर्यावरण’, ‘नारी पर्या-साहित्य र सत्ता’ र ‘पहिचानको सङ्घर्ष’ विषयमा छलफल हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

२०७६ मा पहिलोपटक इलाममा साहित्य महोत्वस आयोजना गरिएको थियो । तर कोरोना भाइरस (कोभिड १९) महामारीका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिएपनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने अध्यक्ष थाम्सुहाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार