घुर्बिसे पञ्चमीः इलामको फाकफोकथुम १ र पाँचथरको फाल्गुनन्द ४ को सिमानामा पर्ने पुरानो पञ्चमीमा २१५० औं ग्याल्पो लोसार भव्यताका साथ मनाइएको छ ।नेपाल शेर्पा संघ दुवै पालिकाको आयोजना तथा पालिकाको सहयोगमा विविध कार्यक्रमसहित ल्होसार मनाइएको हो ।
अल्पसंख्यक समुदाय रहेको यस क्षेत्रमा २०६५ सालमा संघ गठन भएको साथै यसअघि अन्य कार्यक्रमहरु गर्दै आएता पनि यसपाली पहिलोपटक शेर्पा समुदायले भाषा,संस्कार,संस्कृति,कला सीप र आफ्नो जातिको भेषभूषाको जगेर्ना गर्ने तथा प्रवर्द्धन गर्ने उदेश्यले उक्त कार्यक्रम मनाउन थालेको संघका पालिका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । विभिन्न साँस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा पालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे तथा उपाध्यक्ष ठाकुर नेम्बाङले १०८ बत्ती बालेका थिए ।
यस संघको हालसम्म कुनैपनि आफ्नो भौतिक संरचना निर्माण नभएकाले आगामी दिनमा यसै स्थानमा गुम्बा निर्माण गर्ने गरी स्थानीय समाजसेवी पासाङ शेर्पाले तीन रोपनी जमीन निःशुल्क उपलब्ध गराएका छन् । अन्य जाती सरह हरेक क्षेत्रमा सीमान्तकृत,अल्पसंख्यक शेर्पा समुदायको प्रतिनिधित्व र समावेशी अवसर हुनेगरी साथसहयोग गर्न र भाषा संस्कृतिको प्रवर्द्धन तथा सम्वर्द्धन गर्न पनि सम्बन्धीत निकायलाई संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले आग्रह गरेका छन् खरायो,ड्रागन (मेघ),सर्प,घोडा,भेडा, बाँदर,चरा,मुसा,गाई,बाघ,बराह र कुकुर गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
नेपाल सरकारले देशभर सार्बजानिक बिदा दिएको यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउँदै आएका छन् । ल्होछार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउँदै आएको छ ।