फिक्कलमा १५ बेडको अस्पताल, २४ सै घण्टा सेवा दिने

इलाम : इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा १५ बेडको अस्पताल स्थापन भएको छ । अस्पतालको औपचारिक उद्घाटन एक कार्यक्रमबीच विहीबार भएको छ ।

फिक्कल प्राथमिक स्वास्थ्य चौकिलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ बेडको अस्पतालको स्वीकृत दिएसँगै अस्पतालको उद्घाटन भएको हो ।

नगरपालिकाले दरबन्दी तेरिज र संगठनात्मक संरचना समेत पारित गरिसकेको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । ३३ जनाको दरबन्दीमा एक मेडिकल जनरलिष्ट, दुई मेडिकल अधिकृतलगायत अन्य जनशक्ति रहेनेछन् । हाल मेडिकल जनरलिष्ट नभएपनि समितिले चाडैं व्यवस्थापन गर्दै जाने नगरप्रमुख राईले बताए ।

अस्पतालले २४ सै घण्टा प्रस्तुती सेवा, बेड भर्ना गरी उपचारको लागि वार्ड सेवा र औषधी, दन्त चिकित्सा सेवा, छाला, हात, खुट्टा, पेटको डिझिटल एक्स्रे, ल्याब सेवा, बिमा सेवा, भिडियो एक्स्रे र एक्स्रे सेवा प्रदान गर्नेछ ।

त्यस्तै सम्पूर्ण बडामा पुग्ने सक्ने गरी सुविद्या सम्पन्न एम्बुलेन्स सेवा पनि उपलब्ध हुनेछ । एम्बुलेन्स सूर्योदय नगरपालिकाले केहि दिनभित्रै अस्पताललाई हस्तान्तरण गर्ने नगरप्रमुख राईले जानकारी दिए ।

हाल पुरानो भवनलाई व्यवस्थापन गरिएको भएपनि निर्माण हुँदै गरेको भवनलाई समयमै निर्माण सम्पन्न गरी अस्पताल व्यवस्थापन गरिने जानाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार