बिर्तामोड: बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको फेरी एक पटक चर्चा नेपालमा मात्र नभइ विदेशसम्म चुलिएको छ।
खाडी मुलुकमा रहेका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईंको पहलमा मंगलबार एक युवतीको शव नेपाल ल्याइएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव मंगलबार दुवईबाट नेपाल ल्याइएको हो।
कार्यकारी निर्देशक प्रसाईंको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । रानाका आफन्त चेतन गुरुङले शव बुझ्दै आफूहरुले खर्च र कानूनी कारणले दुई महिनादेखि नेपाल ल्याउन नसकेको बताए ।
‘१० दिनअघि एउटा पत्रिकामा दुर्गा प्रसाईंले दुबईमा मृत्यु भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन गयौ गुरुङले पत्रकारहरुसँग भने ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरें । सबै खर्च व्यहोरेर उहाँले शव ल्याइदिनुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’
प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने बताए । ‘सरकारले स्वदेशमै रोजगारी सृजना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै, पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको शब परिवारलाई दिन पनि सकेन’ प्रसाईंले भने ‘मानवीय हिसाबले मैले ती परिवारको पीडामा मल्हम लगाउन खोजेको हुँ।”
प्रसाईको यो कदमले अहिले स्वदेशमा मात्र होइन विदेश सम्म चर्चा चुलिएको छ। दुई साताअघि दुवईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईले आफन्तले लैजान नसकेका नेपालीका शब आफूले लगिदिने प्रतिवद्धता जनाएका थिए ।
उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शब नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाएका छन् । प्रसाईका अनुसार एक शब नेपाल ल्याउन ४ लाख खर्च हुने बताए ।
उनले आफ्नो क्षमताले सके सम्म अब यस्तै गरीब दुखीको सेवा र बिपन्न नागरिकको हीतमा काम गर्ने बताए – ग्लोबल टिभी संचारबाट