किनकी आमा मृत्यु संग लड्दै हुनुन्थ्यो

  प्रमिशा घिमिरे  215 पटक हेरिएको

जण्डिसको सिकिस्त बिरामी जस्तो
क्षितिज पहेलो हुदा
आमाका शरिरबाट खसेका
अनवरत खुनका धाराहरुमा
लुट्पुटिएर चित्कारिरहेको म

आकास अँध्यारो देखे
धर्ती अनकन्टार देखे
किनकी
मैले दूध पिउनु भन्दा अगाडि
आमाको काँचो खुन पिएको थिए

चिप्लो रच्छ्यानले ढाकेको
नाङ्गो शरिरमा
रमाएकै हुन् हरिया झिंगाहरु
किनकी आमा मृत्यु संग लड्दै हुनुन्थ्यो

निदाल माथि राखेको

कर्दमा गरिवीको खिया पुछेर
आमा र मेरो प्रगाढताको रसीमा
सम्बन्ध बिच्छेदको धारले रेटेपछि
खुन बगे कै हो
अलिकति आमाको अनि अलिकति मेरो

मेरै शरिरको एक थुप्रो मासु
टपरीमा हल्लाउदै लगेर
म जन्मिएक‌ै दिन
आलो खुन जम्नै नपाई
भौडी खनेर गाडीदिदा
म रुनुको अर्थ थिएन
किन कि
जन्मिए कै दिन मेरो एउटा अङ्गले त
चिहानको अनुभव गर्नु नै पर्ने थियो

आमाको दुई चार घुड्का दूध पिएर
दिन भरी, आफै पिसाब फेरेका
रसिला थाङ्नाहरु चुस्थे

हड्डी भित्रबाट निस्किएका

स्तन वरिपरिका पसिनाका टाटाहरु
आमाको दुध संग मुछेर खान्थे

हर रातका नुनीला स्वादहरुले
यो एउटा सिङ्गो प्राण बन्दा पनि
म खुशी हुनुको कुनै अर्थ थिएन
किनकी
मैले लगभग आमाको आधा शरीर त खाईसकेको थिए

मेरो प्राणको रशीलाई उजिण्डो लगाईदिन
बाबाले धर्तीको छाती चिरेर
बनाईदिएका पाखुरी बलमा
मेरै कारणले खिएको हो
घरको मूल खाँबो पनि

मूल ढोकाबाट भित्रिएकी
जुनको ढिका ढिका बटुलेर
तन्तनी पिएकै हुँ

लाग्थ्यो दिनले संसार गुमायो
रातले संसार पायो

तर त्यही चक्र उल्टियो
पाउनेहरुले गुमाउदै गए
गुमाउनेहरुले बिर्सदै गए
तापनि बिल्कुल गुनासो छैन
किन कि
आफन्त भन्नू र मलामी भन्नू वा
पैसा भन्नू र टिला भन्नू उहीँ त रहेछ नि आखिर

एउटी चरी
सधै चारोको बहनीमा गईरहन्छे

बचेराहरु
आँ आँ मुख बाइरहेछन्
साना गाडमा त्राण भर्नलाई
म कविताका साथु सामल पिसिरहेछु
कठै कहिले सम्म बाँच्लान् यी बचेरा
मेरा कविताका कनिका टिपेर ।पशुपती नाङ्गी रहेछ
लुम्बिनी शान्तीको गुम्राहामा डुबेर
शान्तिकै भिक्षा मागिरहेछ
म आफ्नै जीवनको झुलो चकमक घ‍ट्दा घोट्दा
आफै हराई रहेछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार