इलाम : कोरोना माहामारीका कारण पछिल्लो समय इलाम भित्रने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको छ ।
जिल्ला दर्जनौं पर्यटकीय स्थलहरु भएपनि घुम्नका लागि जिल्लाबाहिरबाट आउनेको संख्या बर्सेनि घट्दो क्रममा रहेको पाईएको हो ।
झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलस रोङको तथ्याङ्क अनुसार कोरोना कालको वर्षहरुमा घुम्नका लागि इलाम भित्रिने पर्यटकहरुको संख्या ह्वात्तै घटेको हो ।
पर्यटन सूचना केन्द्रको तथ्याङ्क अनुसार जोरकल हुँदै आर्थिक वर्ष २०७५/०७६ एक लाख ३४ हजार ७७ जना पर्यटकहरु इलाम भित्रिएका थिए ।
आव २०७६/०७७ मा भने घटेर एक लाख २९ हजार २० जना मात्र इलाम घुम्न आएका थिए । यो अघिल्लो आवको भन्दा पाँच ५७ कमी हो ।
त्यस्तै आव २०७७/०७८ मा ३९ हजार आठ सय ११ जना मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यो अघिल्लो आवको तुलनामा ८९ हजार दुई सय ९ कमी हो ।
चालु आव २०७८/०७९ मा भने पर्यटकको संख्यामा बृद्धि भएको देखिएको छ । पुससम्म ८७ हजार तीन सय ७१ जना इलाम घुम्न आएका छन् । असोजमा छ हजार २८, कात्तिकमा १९ हजार आठ सय १२, मंसिरमा २८ सात सय ५७ र पुसमा ३२ हजार सायत सय ७४ जना इलाम आएको पर्यटन सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेले जानकारी दिए । साउन र भदौको भने कोरोना महामारीका कारण इन्ट्री नगरिएको घिमिरेले जानकारी दिए ।
कोरोना महामारीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ । होटल क्षेत्र, यातायात र रेष्टुरेन्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरु शिथिल भएका छन् । पर्यटनसँग प्रत्यक्ष जोडिएका सयौंले रोजगारी गुमाएका छन् । होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी मार परेको व्यवसायीले बताएका छन् ।
कोरोनाका कारण सधैं पर्यटकले भरिभराउ हुने कन्याम, अन्तु, सानो पाथीभरा, माइपोखरी, ढापपोखरी, सन्दकपुर, पानीटार, सिद्धिथुम्का, गजुरमुखी, माङमालुङ, माङसेबुङलगायत क्षेत्र अझै सुनसान जस्तै छन् ।