यसकारण राई जातीले नखाएका हुन् बाख्राको मासु

  नयाँ बुलन्द  187 पटक हेरिएको

इलामः  मुन्दुममा बाख्रालाई किरात राई समुदायले अपवित्र मान्नुका कारणबारे चतुरभक्त दुमी राई ‘निप्सुङ पत्रिका’ (संवत् २०५९) मा लेख्छन्, ‘किरात पुर्खा खक्चिलुपा र नागेलुम्को विवाहपछि छमदम अर्थात् किरात धर्म तथा संस्कृति अनुसार तीन दिनसम्म गरिने महान् कार्य गर्नाले नाम र उपाधि पाइन्छ भनेर विश्वास गरिन्छ ।

सो कार्य गर्ने निधो गरे । यो कार्य गर्न खक्चिलुपाले दिदीहरू तोमा, खेमाको उपस्थिति आवश्यक ठाने । उनीहरूले दिदीहरूको निम्ता गर्न उपियाँ पठाए । दिदीहरूले उपियाँको टाउको किचेर फ्याँकिदिए । त्यसपछि बाख्रालाई पठाइयो । बाख्रा पनि नफर्केपछि अविश्वास गरी बाहिर हट्टा गरे । त्यही समयबाट किरातीले बाख्रा खाँदैनन् ।’

विजयलक्ष्मी साम्पाङ र शंकर साम्पाङले तुवाचुङ जायजुम नामक स्मारिका (२०७१) मा लेख्छन्, ‘किरात पुुर्खा खचुलुप्पाले आफ्ना हराएका दिदीहरू तँमा र खेमालाई खोजेर ल्याउन बाख्रालाई पठाए । बाख्राले ल्याउन नसकेकाले खचुलुप्पाले अविश्वासी, अह्राएको काम पूरा नगर्ने, लाछी भएको र अबदेखि कुलमा अछुत हुनुका साथै सुङ्सामा गनिने सराप दिएकाले उनीहरूको संस्कार र सांस्कृतिक कार्यमा बाख्रा प्रयोग राम्रो मानिदैन ।’

‘परापूर्वकालमा किरात पुर्खा हर्कबुङ आफ्ना सन्तान भुसुरी, छछाप्पा र वाछाप्पालाई लिएर पूर्वको सप्तकोसीका सहायक नदी अरूण, तमोर र सुनकोसी पछ्याउँदै हिमालतर्फ जान खुवालुुङ (हाल : वराहक्षेत्रनजिक रहेको अरूण, तमोर र सुनकोसी नदीको संगम) पुगे,’ धनकुटा खबर अनलाइनमा नवीन खड्का लेख्छन्, ‘त्यहीक्रममा खुवालुङको कठिन मार्ग पार गर्नुपर्थ्यो । खुवालुङको ढोका सधैं बन्द हुन्थ्यो । धामीले मुन्दुम फलाक्दै पशुपक्षीको रगत चढाएपछि मात्र खुवालुङको ढोका खुल्थ्यो । यहीक्रममा भुसुरीहरूले खुवालुङको ढोका खुलाउन क्याँकी चरा (रातो जुुरेली) समातेर भोग दिए । भोग खानासाथ खुवालुङको ढोका खुल्यो । त्यसपछि खुवालुङ पार गरी उनीहरू उकालो लागे । उता, छछाप्पा र वाछाप्पा केही पछि रहेकाले भुसुरीसँगै खुवालुङ पार हुन सकेनन् ।’

उनीहरूले उकाली चढ्दै गरेका भुसुरीलाई सोधे, ‘हैन दाजुभाइ हो, हजुरहरूले के–कसो गरी खुवालुङ तर्नुभयो ? हामी त तलै पो अड्कियौं त ?’ उनीहरूको कुरा सुनेर भुसुरीले ठट्टा गर्दै भने, ‘हैन दाजुभाइ हो, हामीले त आफ्नै चेलीको रगत चढाएकाले खुवालुङको बाटो खुल्यो त । उनीहरूको कुरा सत्य ठानेर छछाप्पा–वाछाप्पाले पनि आफ्नी चेलीको हातको औंला काटेर खुवालुङमा रगत चढाएपति खुवालुङको ढोका खुल्यो । उनीहरूले पनि खुवालुङ पार गरे । त्यसपछि खुवालुङको ढोका कहिल्यै बन्द भएन ।

उता, काटिएको औंलाबाट झरेको चेलीको रगत एउटा केराको पातमा पर्यो । केराको पातमा परेको रगत बाख्राले चाट्यो । विडम्बना तत्कालै चेलीको निधन गयो । त्यसपछि छछाप्पा–वाछाप्पाले आफ्नी चेलीको रगत खाने बाख्रा प्रजातिको मासु कहिल्यै नखाने प्रतिज्ञा गरे । त्यसपछि खसी–बाख्राको मासु खाँदा आफ्नै चेलीको मासु खाएबराबरको दोष लाग्ने भएकाले किरात राई समुदायले खसी–बाख्राको मासु नखाएका हुन् ।’

यसैगरी जय सिवाहाङका अनुसार पारुहाङ र सुम्निका सन्तान वाडिनकुप्पा र वाडिनकुप्माले मृग, घोरल र बाख्रा जंगलबाट ल्याएर पाल्न थाले । पाल्नेक्रममा चर्न जंगल पठाउँथे । चर्न गएका जनावर आफैं फर्कन्थे । एक दिन बाख्रा हरायो । खोजतलास गर्दा फेलापरेन । त्यसपछि उनीहरूले सराप दिए । अबदेखि बाख्रा हाम्रो पितृमा नचल्ने होस् । सुुङ्सा होस् भनेपछि पितृमा नचलेको हो भन्ने विश्वास गरिन्छ ।

यही विश्वासले किरात राई समुदायको पूजाआजा तथा शुभकार्यमा बाख्राको मासु चलाइँदैन । उनीहरूको पितृपूजा गर्ने स्थानमा बाख्राको मासु पकाउनसमेत मिल्दैन । बाख्राले पितृ चुला छुन मिल्दैन । पितृ पूजारी माङ्पा र धामीले बाख्राको मासु खानै मिल्दैन भने यी बाहेकका किरात राई समुदायले सकेसम्म बाख्राको मासु खाँदैनन् । बाख्राको मासु खाइहालेमा तितेपातीले नुहाएर मात्र घरभित्र प्रवेश गर्न मिल्छ । यसको मासु खाएर ननुहाइ घर पसेमा पितृ रिसाउँछन् । सम्बन्धित परिवारमा हानी हुने विश्वास छ । माङ्पा र धामीले खाएमा जिब्रो बसेर बोली नआउने, बौलाउनुका साथै ज्यानै जाने विश्वास छ ।

कतिपय सुक्सङ धामी अर्थात् असहज मृतात्मालाई बाटो लगाउने धामीले बाख्राको मासु खाएको पाइन्छ । दुर्घटनामा परेर मृत्यु भएको र मर्ने बेलामा शरीरमा घाउचोट लागेर मृत्यु भएकाको आत्मालाई असहज मृतात्मा भनिन्छ । मानिस मरेपछिको चोखिने दिन अर्थात् सुधाइ कार्यमा मात्र बाख्राको मासु प्रयोग गरिन्छ । यस बाहेकका सांस्कारिक तथा सांस्कृतिक कार्यमा अशुद्ध तथा अशुभ मानिन्छ ।-तुवाचुङबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार