
पाँचथर : कुम्मायक गाउँपालिकालाई दक्षिण कोरियामा रहेका युवाद्वारा तीन लाख बढीको स्वास्थ्य सामाग्री विहिवार उपलब्ध गराएका छन् ।
रोजगारीको शिलशिलामा कोरियामा पुगेका पालिकाका युवाहरुले तीन लाख ४७ हजार दुई सय १२ रुपैयाँ बराबरको १० थान अक्सिजन,सेनिटाइजर,मास्क लगायत सामाग्री सहयोग गरेका हुन् ।
पालिकाका पाँच वटै वडालाई ५१ हजार मुल्यको औषधि सहित तीन लाख ९८ हजार दुई सय १२ रुपैयाँको सामाग्री पालिकालाई हस्तान्तरण गरेको मञ्चका कुम्मायक सदस्य हुकुमबीर लावतीले जानकारी दिए ।
यासोक-देउराली समाज काठमाण्डौंले उक्त सामाग्री पालिकालाई प्रदान गर्न समन्वय गरेको लावतीले बताए ।
यसअघि यासोक-देउराली सरोकार सेवा समाज काठमाण्डौंले पाँच लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । समाजको समन्वयमा स्वास्थ्य सेवा विभाग मार्फत चार लाख ४० हजार र समाजको तर्फबाट ६० हजार बराबरको स्वास्थ्य सामाग्री पालिकालाई उपलब्ध गराएको हो ।
महामारीको समयमा स्वास्थ्य सामाग्री सहयोग गरेकोमा पालिका अध्यक्ष जयबहादुर चेम्जोङले युवाहरुको प्रशंसा सहित धन्यवाद दिएका छन् । विदेशी भूमिमा पसिना बगाएर कमाएको रकमबाट आफ्नो गाउँवासीको स्वास्थ्यमा प्रति चासो राख्दै सहयोग पुर्याउने युवाहरुको योग्दानलाई स्थानीयले कहिल्यै नभुल्ने उनले बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष सीता आचार्य,प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी,१ नम्बर वडाध्यक्ष देबेन्द्रकुमार लावती, ५ नम्बर वडाध्यक्ष यामबहादुर खड्का,स्वास्थ्य शाखाका प्रमुख केदारबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
























































