पुस्तकालय : एक विस्मृति

  सर्जन सुब्बा  342 पटक हेरिएको

सर्जन सुब्बा, हाल दक्षिण कोरिया

२०६४/६५ को वर्ष माझ हुनुपर्छ । जतिबेला म तिव्र सामाजिक कर्मभावको रुझानले भरिएको थिएँ । एकातिर म आफ्नो औपचारिक अध्ययन वर्षको अन्त्यतिर थिएँ । स्वभाविक उर्जा र सपनाहरुले सुदुर-सुन्दर भविष्य देख्न खोज्थेँ। अर्कोतिर त्यसैताका मैले दुई महत्त्वपूर्ण पुस्तकहरू पढ्न पाएँ । एक, पर्यटन व्यवसायी तथा नेपालमा सकरात्मक सोचका अभियन्ता कर्ण शाक्यको’ सोच’ र अर्को, अमेरिकी नागरिक जोन उडको ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड’ को अनुदित भर्सन ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ । यो दोस्रो पुस्तक लेखक खगेन्द्र सङ्ग्रौलाको अनुवाद थियो ।

तीव्र सामाजिक राजनैतिक परिवर्तनको उछाल चलिरहेको त्यो बेला ती पुस्तकहरु बजारमा बेस्ट सेलिङ लिस्टमा थिए । नेपाली राजनीति ‘नयाँ नेपाल’ को ड्राफ्ट कोर्न चर्को वहस, विवाद र संवाद भएर गुज्रिरहेको थियो । समाज पनि भर्खरैको विष्मयकारी राजनीतिक आँधी हुरी र वर्षात पछिको जीवन जस्तै विस्तारै जागृत हुँदै थियो । खासमा लामो समय मुर्छित नेपाली समाज जनयुद्ध र त्यसको उहापोहको रापतापमा अब सामाजिक सांस्कृतिक पुनः जागरणको नवयुगमा प्रवेश गर्दै थियो ।

‘सोच’ आफैंमा सकरात्मक चिन्तनको घोषणापत्र झैँ नेपाली अध्येताहरु माझ लोकप्रिय थियो । व्यक्तिमा बलियो इच्छाशक्ति भयो भने कसरी अजेय अभियानहरु पनि सम्भवतुल्य हुँदोरहेछ, ‘सोच’ मा मीठो गरि प्रस्तुत छ । साथै, जोन उडका किताबमा एक अनाम विदेशी जोन उड स्वयंले माइक्रोसफ्ट कम्पनीको दुनियाँको आदर्श जागिर छोडेर कसरी नेपाल लगायत गरिब देशहरूमा पुस्तक बाँड्दै, पुस्तकालय खोल्दै, शैक्षिक सहयोग गर्दै मानवतावादी कर्म गरे भन्ने कथा मन छुने गरि लेखिएको छ ।

सन्दर्भ पुस्तकालय दिवस 

अघिपछि पनि यस्तो केही केही अमुर्त योजनाहरु त बन्थे । तर, ती छिटोछिटो बन्थे र त्यसरी नै भत्किन्थे । यसो भनुँ, ती बिहान बन्थे, साँझ ढल्थे। तर, जब यी दुई हस्ताक्षर पढिसकेँ, म मा केही गर्नैपर्ने हुटहुटीले दह्रो घर गर्यो । कमसेकम मेरो जमिन जहाँ म जन्मि हुर्कि बढेँ, मेरो समाजलाई केही त रिटर्न गर्नैपर्छ भन्ने मुल्यबोधले चिमोटीरह्यो । म राजधानीमा थिएँ । म भित्र विस्तारै विस्तारै पुस्तकालयको भ्रुण हुर्कन थाल्यो । अनि एक समय आयो, मैले मेरो सुदुर गाउँमा पुस्तकालय स्थापनार्थ प्रेरित गर्नुपर्छ, अभियान चाल्नुपर्छ भन्ने ठोस निचोडमा पुगेँ । तब मैले पुस्तकालय निर्माण र सञ्चालन सम्बन्धी अरु अध्ययन गर्न थालेँ । म अध्ययन अध्यापनको पेसामा थिएँ । सहपाठी साथीहरूसँग परामर्श लिन्थेँ । पत्रपत्रिका र पुस्तकालय सम्बन्धिका लेख रचनाहरु खोजी खोजी पढ्न थालेँ । इन्टरनेट आज जस्तो हात हातमा त थिएन । तैपनि केही सामग्री, सुचनाहरु त्यहाँ पनि खोज गर्थें ।

यसैक्रममा पछि ‘रुम टु रिड’, जुन जोन उडकै एक सहयोग एजेन्सी संस्था थियो र ‘रिड नेपाल’ नामक गैरसरकारी संस्थाहरुले पुस्तक, पुस्तकालय सम्बन्धी सहयोग गर्छन् भन्ने थाहा पाएँ । म पाटन, पुल्चोकस्थित रुम टु रिड कार्यालयमा पनि पुगेँ । त्यस्तै लाजिम्पाट स्थित रिड नेपालमा पनि गएँ । निश्चित जिल्लालाई प्राथमिकीकरण गरि कार्यक्रम लाने संस्था भएकाले तत्कालीन वर्षहरुमा मेरो जिल्ला इलाममा कार्यक्रम नपरेको जानकारी पाएँ । रुम टु रिडबाट पुस्तकालयको आधिकारिक चिठीको आधारमा केही पुस्तकहरु उपलब्ध गराउने आश्वासन भने लिएर फर्केँ ।

मेरो उर्जाको स्रोत चाहिँ योजना छनौट थियो । अनि अक्षर मोह जसको माध्यम भएर विश्वदृष्टि निर्माणको अभिप्राय थियो । विश्व प्रसिद्ध लेखक जेके रोलिङ को शब्दसार  ‘शंका पैदा भए पुस्तकालय जाउ’ ले पुस्तकालयको महता प्रस्ट पार्छ । म ठान्थेँ, पुस्तकालय निर्माण जस्तो पवित्र कार्यका निम्ति एक, दस हुँदै सयौं हातहरु जुट्नेछन् । गाउँ जुरुक्क उठ्नेछ र, स्वस्फूर्त सिंगो अभियान बोक्न काँध थाप्नेछ। सम्झन्छु, जब मस्तिष्कमा पुस्तकालय बोकेर गाउँ छिरेँ, गाउँ उस्तो उत्साहित पाइन । भन्नलाई सबैले राम्रो भन्थे । तर हार्दिक साथ एकाध व्यक्तिहरुले गरे । सायद, तत्कालीन राजनीतिक सङ्क्रमणको साइड इफेक्ट त्यो विशुद्ध सामाजिक अभियानमा पनि धेरथोर पर्यो कि?

पुर्वी नेपाल, पहाडको सुदुर गाउँ । आधुनिक विकास र विज्ञानको उपयोगबाट गाउँ अझै वञ्चित थियो । यस्तो अवस्थामा शिक्षा र चेतना शुन्यबाट पलाउने कुरै थिएन । मुट्ठीभर मानिसहरु गाउँ नाघेर शहर र सदरमुकाम सम्म पुग्थे । राजधानी सम्मको पहुँच त त्यसबेला पनि, कवि उपेन्द्र सुब्बाको शब्द झैँ, ठुलो योग्यता थियो ।

यसरी पहिले आफू प्रेरित भएपछि सिधा सरोकारवाला गाउँलाई अभिप्रेरित गर्नु थियो । मैले आफ्नो मानसमा कोरेको चित्र गाउँका सचेत साथीहरूलाई, अग्रजहरुलाई सुनाएँ । टेलिफोन गरेर भनेँ । पत्राचार गरेर भनेँ । मुलतः गाउँमा पठन संस्कृतिको थालनी गर्नु थियो । गुच्चा र गुलेली मात्रै खेलाउने कलिला हातहरुमा अक्षर र अंकहरु अलि अलि थमाउनु थियो । सधैं क्यारिमबोर्ड वा राजनीतिक हनुमानगिरिमा लट्ठ युवाहरुलाई केही गम्भीर र कल्पनाशील बनाउनु थियो । त्यसैगरी तास र मदिरामा मस्त अभिभावक पुस्ताको ठुलो पंक्तिलाई पनि पक्कै केही भन्नु थियो ।

यसरी पहिले आफू प्रेरित भएपछि सिधा सरोकारवाला गाउँलाई अभिप्रेरित गर्नु थियो । मैले आफ्नो मानसमा कोरेको चित्र गाउँका सचेत साथीहरूलाई, अग्रजहरुलाई सुनाएँ । टेलिफोन गरेर भनेँ । पत्राचार गरेर भनेँ । मुलतः गाउँमा पठन संस्कृतिको थालनी गर्नु थियो । गुच्चा र गुलेली मात्रै खेलाउने कलिला हातहरुमा अक्षर र अंकहरु अलि अलि थमाउनु थियो । सधैं क्यारिमबोर्ड वा राजनीतिक हनुमानगिरिमा लट्ठ युवाहरुलाई केही गम्भीर र कल्पनाशील बनाउनु थियो । त्यसैगरी तास र मदिरामा मस्त अभिभावक पुस्ताको ठुलो पंक्तिलाई पनि पक्कै केही भन्नु थियो ।

जसोतसो गाउँको केन्द्रस्थित विद्यालयमा एक गाउँ भेला सम्पन्न गरियो । उक्त बैठकमा गाउँका बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी सबै थिए । गाउँ सञ्चालन गर्ने एक ‘कोर टिम’ को उपस्थिति थियो । पुस्तकालय निर्माण प्रस्ताव पारित भयो । भवन निर्माणस्थल जग्गादाता पनि उपलब्ध भयो । संस्थागत दर्ता र अन्य प्राविधिक कामहरू क्रमश गर्दै जाने सल्लाह भयो ।

अनि हाललाई सिमित पुस्तकहरु संकलन गरि विद्यालय नजिकै भाडामा कोठा खोजेर चलाउँदै गर्ने निर्णय गरियो ।  तत्काल कमसेकम १/२ हजार पुस्तक अट्ने बुक र्याक निर्माण गर्यौँ । स्थानीय मनकारी अभिभावकहरुले काठपात दिनुभयो । त्यस्तै मनकारी मिस्त्रीले किताब आलमारी निर्माणमा सिपको सहयोग गर्नुभयो । एउटा नामको न्वारान गरियो ‘श्री इभाङ सामुदायिक पुस्तकालय’ । उक्त साइनबोर्ड पुस्तकालय कोठाको ठिक ढोका माथि राख्यौं ।

सल्लाह अनुसार प्रारम्भिक चरणमा गाउँले सबैले पढिसकेका  पुस्तकदान पुस्तकालयलाई गर्यौँ । संकलनमा मानविर गजमेर (दाइ) सँग घरदैलो अभियान चलायौँ । गाउँका घरमा धुँवा लागेका नयाँ पुराना पुस्तकहरू झोला भरिभरि ल्याएर जम्मा गर्यौँ । पुस्तकका विविधता वृहत् थियो । विद्यार्थीका पाठ्यपुस्तकदेखि धार्मिक, राजनीतिक वा सरकारी, गैरसरकारी संस्थाको विभिन्न दस्तावेज समेत समाविष्ट थियो ।

पुस्तक किन्न सहयोगार्थ दिपावलीमा देउसी पनि खेल्यौँ । रमाइलो त के भने कतिले लाईव्रेरी लाई ‘लैबरी’ भन्दै सस्तो मजाक पनि गरे । बुझेर पनि, नबुझेर पनि यस्तो द्वीअर्थी भाषा प्रयोग गरे । अहिले ठ्याक्कै आर्थिक वर्ष विर्सें । पुस्तकालयलाई पुस्तक खरिद शीर्षकमा गाविस परिषदबाट रु.५,००० विनियोजित भयो । यो सत्प्रयासका निम्ति केही दाईहरुले जिम्मेवार भूमिका खेल्नुभयो जो उल्लेखनीय छ । उक्त पैसाले केही उपयोगी पुस्तक किन्यौँ । अनि, ठुलो झोलाभरि पुस्तक नाइट बस चढेर गाउँतर्फ गयो । त्यो बेला मलाई जोन उडले खच्चड र चौंरीमा भारीभारी पुस्तक लादेर हिमाली गाउँतिर लगेको लर्कोको याद आयो ।

बिचमा सवा एक वर्ष म गाउँमै रहेँ । त्यसबेला पुस्तकालयको खास उन्नयनको काम नभए पनि सञ्चालन सुचारु भयो । नियमितरूपमा पुस्तकालय खुल्ने, विद्यार्थी भाइबहिनीले पुस्तक पढ्ने, लाने ल्याउने क्रम राम्रो भयो । स साना नानीबाबुहरुको पुस्तक प्रेम देख्दा मन साँच्चिकै प्रफुल्ल हुन्थ्यो । कम्तीमा पढ्ने बानीको विकास क्रमश हुँदै थियो ।

समय यसै बितिरह्यो। म काठमाण्डौंतिरै रहिरहेँ । गाउँमा उस्तो आउजाउ भएन । अहिले देश बाहिर छु । सायद गतसाल हुनुपर्छ । सुनेँ, पुस्तकालय सञ्चालित छ । नयाँ कलेवरमा पुस्तकालय पुनः अनावरित भएको छ । अहिले विद्यालयकै कार्यकक्षबाट सञ्चालन भइरहेको छ । स साना विद्यार्थीहरू मध्येबाटै बाल क्लब गठन गरेर क्लब मार्फत नै पुस्तकालय चलिरहेको थाहा पाउँदा मन साँच्चै हर्षित छ । एक सामाजिक संस्थाको सहयोग पनि प्राप्त भएको स्थानीय स्रोतबाट थाहा पाएँ । खुशी लाग्यो । खुशी हुनका खास कारणहरु पनि थिए, छन् । तर, मनमा केही कुरा खड्कीरह्यो । म यी तमाम खबरसँग बेखबर छु । धागो चुँडिएको चंगा भएको महशुस पनि हुँदैछ ।

अहिले ई बुक्स र ई लाइव्रेरीको प्रयोग देश दुनियाँमा छाएको छ ।  विभिन्न अनलाइन पोर्टलले पनि पढ्ने र सिक्ने सामग्रीहरु हरेकको हात हातमा पुर्याउँदैछ । कतिले तर्क गर्न थालिसके कि अब प्रिन्ट वा पेपर पाठ्यसामग्रीहरु विस्थापित हुनेछन् । अब किताबको उपादेयता सकियो पनि भनिसके । तर,  यथार्थ त्यो परिकल्पना विपरीत छ । यसैपनि विद्युतीय सामग्रीहरु असुरक्षित र कुनै पनि बेला नष्ट हुने खतरा हुन्छ नै । हामीलाई आफ्नो समय र समाजको कथा भन्न अझै पनि पुस्तक नै भरसिलो माध्यम हो । भोलिको पुस्तालाई आजको चेतना हस्तान्तरणको माध्यम पनि पुस्तक नै हो । बरु पुस्तकालयको शास्त्रीय प्रयोग र परिभाषामा थप सिक्न जरुरी छ । पुस्तकालयलाई समाजको अंगको रुपमा स्विकार्नु पर्छ । पुस्तकालय प्रयोग एक नित्य संस्कृति बन्न जरुरी छ । समयसापेक्ष पुस्तकालयलाई ‘सामुदायिक केन्द्र’ को रुपमा  स्थापित गर्नुपर्छ जहाँ समाज र समुदायको रुपान्तरण निमित्त बौद्धिक वहस हुन सकोस् । अमेरिकी लेखक मार्क ट्वेनले  ‘राम्रा साथी र राम्रा पुस्तकले जीवन सुन्दर बनाइदिन्छ’ भनेर भनेका छन् । अझ सरल भाषामा भन्दा राम्रो साथी नै राम्रो पुस्तक र राम्रो पुस्तक नै राम्रो साथी सरह पनि हो । र, दुवै सुन्दर जीवन जगतको प्रेरक सारथी बन्न सक्छन् ।   यसर्थ, पुस्तक र पुस्तकालय मानव सभ्यता र विकास खातिर सदा सर्वदा महत्त्वपूर्ण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार