सुजता सुनुवार
इलाम : सामाजिक विषयवस्तुमा आधारित ‘नथिया’ उपन्यासकी लेखक सरस्वती प्रतिक्षासँग ‘नथिया’ संवाद इलाममा सम्पन्न भएको छ ।
‘नथिया’ संवादमा बोल्दै लेखक प्रतिक्षाले वादी प्रथाका कारण महिलाले भोग्नु परेको पिडालाई बुझ्न ‘नथिया’ उपन्यास लेखिएको बताइन् । वादी महिलाको नदेखिएको भित्री कथा बुझ्न उपन्यासलाई पढ्न जरुरी रहेको बताउदै उनले भनिन्, ‘२१ औँ शताब्दीको हाम्रो समाजमा अझै कुमारित्वको खुल्लाम खुल्ला लिलामी गरिने प्रथा कम भएको छैन ।’
दाङ्गको ग्रामिण बस्ती बस्तीमा साँस्कृतिक महत्व बोकेको शब्द ‘नथिया’ ले आफ्नो कुमारित्वलाई बाजी राखेर प्रतिष्पर्धा गर्नु पर्ने बुझाउँछ । उपन्यासको माध्यमबाट सामाजिक चेत खुलाउन ‘नथिया’ उपन्यासले सहयोग गर्ने अपेक्षा समेत गरिएको उनको भनाई छ ।
यस्तै कार्यक्रममा साहित्यकार विमल वैद्यले लेखिका चिनारी दिदै नेपाली साहित्यमा धेरै मध्ये राम्रा लेखिका औला भाँचेर गन्न सकिने मात्र रहेको बताए । यी राम्रा मध्ये उपन्यासकार प्रतिक्षा पनि एक भएकै कारण ‘नथिया’ उपन्यास २०७५ सालको मदन पुरस्कार प्राप्त कृतिभित्र छनौटमा परेको समेत उल्लेख गरे ।
करिब ७० जनाको सहभागीतामा भएको कार्यक्रममा कृतिका विषयमा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । ती जिज्ञासाका समाधान ‘नथिया’ उपन्यासकी लेखिका प्रतिक्षाले समाधान गरेकी थिइन् ।
भानु प्रतिमा साहित्य सम्बद्र्धन समिति इलामको आयोजनामा भएको कार्यक्रम फरक आयमका जितेन पन्दाक मुस्कानको अध्यक्षतामा सम्पन्न भएको थियो ।


















































