प्रकाश नेपाल
इलाम : इलाममा कडा प्रकृतिका रोगबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गत वर्षको तुलनामा कडा प्रकृतिका रोगबाट प्रभावितको संख्या १४ प्रतिशतले वृद्धि भएको छ ।जीवनशैली, सरसफाइ र हावापानीको कारण यस्ता बिरामीको संख्या बढेको पाइएको हो ।
पछिल्लो समय अस्वस्थकर खानपान अस्वस्थ वातावरण र व्यायामको अभावका कारण गम्भीर प्रकृतिका रोगहरुले धेरैलाई आक्रमण गर्न थालेका छन् ।इलाम जिल्लामा पनि कडा रोगीको संख्या दिनप्रतिदिन बढ्न थालेको देखिएको छ ।
पछिल्लो समय क्यान्सर, मुटुरोग, मधुमेह ,असन्तुलित रक्तचाप,स्वासप्रश्वासको समस्या भएका बिरामीको सख्या बढ्दै गएको छ ।सरकारले कडा रोगबाट पीडित भएकालाई उपचारमा एक लाख रुपैयाँ बराबरको सहुलियत उपलब्ध गराउदै आएको छ ।
सहुलियतका लागि सिफारिस माग्दै दिनहुँजसो बिरामी जनस्वास्थ्य कार्यालय धाइरहेको पाइन्छ ।पहाडी जिल्ला भएको कारण स्वच्छ र सन्तुलित हावापानी भएपनि जिल्लामा जटिल रोगीको संख्या भने बढ्न थालेको छ ।
कडाखालका रोगले आक्रमण गर्दा सहजै निको नहुने र खर्चिलो उपचार पद्धति हुने भएकोले उपचारमा पनि समस्या हुने गर्दछ । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ ।
जसमा पनि क्यान्सर र मृगौलाका रोगीको संख्या अस्वाभाविक बढेको चिकित्सक बताउँछन् । आधुनिक जीवनशैली बढी निष्क्रिय बन्दै गएको छ ।अस्वस्थकर खाना शारीरिक व्यायामको अभावले जटिल रोगलाई टेवा दिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
चालु आर्थिक वर्षको बैशाखसम्ममा एकसय ८३ जना कडा रोगका बिरामीलाई सहुलियतका लागि सिफारिश गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका सूचना अधिकारी टंक चौधरी बताए ।प्राथामिक स्वास्थ्य संस्था या जिल्ला अस्पतालका चिकित्सकको प्रेसक्रिप्सन अनुसार स्वास्थ्य चौकीबाटै केही निशुल्क औषधि पाइन्छ ।
कडा रोगीको संख्या उच्च भएपछि जिल्लामा स्वास्थ बीमा कार्यक्रममार्फत् जिल्ला अस्पताल र अन्य जिल्लाबाट पनि सेवा लिइरहेको स्वास्थ्य बीमा बोर्ड इलामका दर्ता अधिकारी खेम अधिकारी भने ।जटिल किसिमका रोगी बढ्दै गएकोले यस्ता रोगबाट बच्ने उपायका बारेमा सबै सचेत हुनु जरुरी छ ।
यस्ता रोगका कारण धेरैले अकालमा ज्यान गुमाउनुपरेको भने कसैले अनुत्पादक जीवन बिताउनु परेको दुखद यथार्थ हाम्रोसामु छ ।त्यसबाट बच्नको लागि धूम्रपान,मद्यपान नगरी स्वस्थकर खानेकुरा खाने, स्वास्थ्यजाँच गराइरहने र शारीरिक व्यायाम गर्नुपर्ने देखिन्छ ।















































