नयाँ बुलन्द
इलाम : इलाम नगरपालिकाले इलाम सदरमुकाम स्थापनाको २०० बर्ष पुगेको उपलक्ष्यमा तयार गरेको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र प्राज्ञ कोमल निरौलाले इलाममा आयोजित एक कार्यक्रममा संयुक्त लोकार्पण गरेका हुन् ।
युट्युब च्यानल टिभी नाइनले आफ्नो युट्युब च्यानलमा सो अफिसियल भिडियोलाई प्रशारण गरेको छ । इलामका सञ्चार उद्यमी प्रविन श्रेष्ठद्वारा लिखित ‘भन्छन् सबैले इलामलाई’ बोलको सो गीतमा रचनाकार श्रेष्ठ र दमन्ती राईले अभिनय गरेका छन् । भिडियोमा इलामका विभिन्न चर्चित पर्यटकीय स्थलको ड्रोन क्यामेराको प्रयोग गरि दृश्याङ्कन गरिएको छ ।
पदम तामाङको निर्देशन रहेको भिडियोमा इलामका गायक उमेश गुरुङले स्वर भरेका छन् भने डेनी निरौलाले संगीत भरेका छन् । शिखर प्रोडक्सन हाउसको ब्यानरमा तयार गरिएको सो भिडियोमा सन्दीप प्रधानले इडिट र रंग भर्ने काम गरेका हुन् । लोकेश अधिकारी र धनराज थापाले ड्रोन क्यामेरा चलाएका छन् भने दुर्गेश क्षेत्रीले क्यामेरामा साथ दिएका छन् ।
सार्वजनिकिकरण कार्यक्रममा बोल्दै गीतकार प्रविन श्रेष्ठले इलाम चिनाउने यस गीतलाई सबैलाई शेयर गर्न अनुरोध गरे । गीत तयार गर्न सहयोग गर्ने हरि गुरुङ, प्रज्वल चापागाई र उनको परिवारलाई उनले विशेष धन्यबाद ज्ञापन गरे ।