‘अबको ४ वर्ष भित्रमा सबैको हातहातमा लालपूर्जा हुनेछन्’ : शम्सेर राई

इलामको रोङ गाउँपालिका मेची राजमार्गले दुईतिर विभाजन गरेको गाउँपालिका हो । कृषिमा आत्मनिर्भर यहाँका तल्लो भेगका अधिकांश मानिस सुकुम्बासीजस्तै छन् । उनीहरूसँग जग्गा छ तर जग्गाधनीपूर्जा हातमा छैन । गाउँपालिकाले आगामी चार वर्षभित्रमा सबै जनताको हातमा जग्गाधनीपूर्जा थमाउने योजना बनाएको छ । यो योजनाको नेतृत्व गाउँपालिकाका अध्यक्षको रूपमा शम्सेर राईले गरिरहेका छन् । प्रस्तुत छ नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष राईसँग नयाँ बुलन्द डटकमले गरेको कुराकानीको सम्पादित अंश :

केमा व्यस्त हुनुहुन्छ ?
योजना कार्यान्वयन र विभिन्न ऐन तथा कानुनहरू निर्माणमा व्यस्त छु ।

केकस्ता योजनालाई प्राथमिकता दिनुभएको छ ? 
भौतिक पूर्वाधारलालाई नै प्रथम प्राथमिकतामा राखेको छु । पहिलो वर्ष भएको हनाले विकासमा पूर्वाधारलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । दोस्रो प्राथमिकतामा ऐन तथा कानुनहरू निर्माणलाई दिएको छु । सायद सबै स्थानीय तहले भौतिक पूर्वाधारलाई नै पहिलो प्राथमिकता दिएका होलान् ।

अन्य स्थानीय तहमा कृषि तथा पशुजस्ता क्षेत्रलाई प्राथमिकता दिएको जस्तो लाग्दैन । यहाँ के छ ? 
समग्रमा त्यस्तो देखिन स्वभाविक हो । किनकी हरेक स्थानीय तहले बजेट ल्याउने बेलामा पशु तथा कृषि कार्यालयबाट ससर्त बजेट आउँछ भन्ने बुझेको थियो । जस्तै उदारहणका लागि, स्वास्थ्यमा कार्यक्रम र बजेट सँगसँगै आयो । शिक्षामा ससर्त बजेट नै आयो । कृषि र पशुको पनि त्यसरी नै आउँछ भन्ने बुभाइ भयो ।

यहाँ सबै स्थानीय चुकेको छ । तैपनि हामीले जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयले पठाएका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । आवश्यक परिमार्जन गरेर बजेटमा समावेश गराउनु भनेर उहाँहरूले आफ्ना कार्यक्रम पठाउनुभएको थियो । ती कार्यक्रमहरूलाई आमीले समावेश गराएका छौँ । त्यसका लागि बजेट पनि छुट्याएका छौँ ।

विकासका लागि नयाँ काम के के भइरहेका छन् ?
नयाँ काम थुप्रै भएका छन् । हिजो गाविस नै हुँदा पनि बाटोचाहिँ निर्माण भएकै थियो । तर, डिपिआरको काम गरेको थिएन । पूर्वाधारहरूलाई व्यवस्थित रूपले अगाडि लैजाने कुनै योजना निर्माण गरेको थिएन । त्यो काम हामीले गरेका छौँ । जस्तो, अहिले रोङ गाउँपालिकाले ९२ किलोमिटर बोटोको डिपिआर गर्दै छ । त्यस अर्थमा भौतिक पूर्वाधारहरू सुव्यवस्थित गर्ने योजनाहरू केही नयाँ छन् । जसलाई हामीले केन्द्रमा भोलि समपूरक अनुदान र विशेष अनुदानमा प्रस्ताव गर्ने गरी तयार गर्दै छौँ ।

पर्यटनलाई व्यवस्थित गर्नका लागि पाथिभराको धार्मिक गुरुयोजना निर्माण गर्दछौँ । संस्कृति प्रवद्र्धनलाई व्यवस्थित गर्न असंख्यक लेप्चा जातिको भाषा, संस्कृतिको अध्ययन र अनुसन्धान गर्ने केन्द्रीय स्थलको रूपमा विकास गर्दै छौँ । कृषिलाई प्रवद्र्धन गर्न माहुरीको स्रोत केन्द्र स्थापना गरेर सञ्चालन गर्दै छौँ । यसरी थुप्रै नयाँ कामको सुरुआत गरेका छौँ ।

संविधानले स्थानीय तहलाई कानुन बनाउनेसमेत अधिकार दिएको छ । अहिलेसम्म कतिवटा कानुन बनाइसक्नुभयो ?
सुरुमा बजेट ल्याउनका लागि चाहिने विभिन्न ६ वटा कानुन बनायौँ । अहिले सहकारी ऐनलाई केन्द्रले पठाएको नमुनाको आधारमा केही संशोधन गरेर पारित गरेका छौँ । शिक्षा ऐनको तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि सरोकारवाला र विज्ञहरूसँग छलफल र सल्लाह भइरहेको छ । सुझाव संकलनको काम भइरहेको छ । त्यस्तै स्वास्थ्यको पनि तयारी गर्दै छौँ । कृषिको पनि तयारी गर्दै छौँ । अब तत्काल विशेष गाउँसभा बोलाएर सात वटा ऐनहरू पास गर्ने तयारीमा छु ।

न्यायिक समितिको अवस्था के छ ?
न्यायिक समितिको गठन भएको छ । कार्यसम्पादनको सवालमा केही कामहरू गरिएका छन् । स्थानीय तहमा आएका विवादहरूलाई माथि जान दिएको छैन । तर, त्यो जबरजस्त भने होइन । तालिमप्राप्त मेलमिलापकर्ताको सहयोगमा मेलमिलाप गराइने गरिएको छ । यसलाई थप व्यवस्थित गर्ने तयारीमा छौँ ।

मुद्दा जनप्रतिनिधिकहाँ आइनपुगोस् भनेर वडावडामा स्वतन्त्र, वुद्धिजीवीहरूलाई गाउँपालिकाले नै तालिमको व्यवस्था गरी वडावडामा नै मेलमिलाप केन्द्र स्थापना गरिनेछ । मेलमिलाप केन्द्रबाट फुत्केर आएका वडामा र वडाबाट फुत्केर आएका मात्र गाउँपालिकामा आउने र गाउँपालिकामा पनि मिलमिलाप डेक्सको स्थापना गर्ने तयारी छ । मेलमिलाप डेक्समा पनि नमिले मात्र न्यायिक समतिमा आउने व्यवस्था मिलाउँदै छौँ ।

विकास बजेट कार्यान्वयनको अवस्थाचाहिँ कस्तो छ ? 
बजेट कार्यान्वयन तीव्र गतिमा भइरहेको छ । अहिलेसम्म ६४ प्रतिशत बजेट कार्यान्वयन भइसक्यो । अन्य केही योजनाको सम्झौता भइसकेको र केही कार्यान्वयनको चरणमा छ । तसथै बजेट समयमै कार्यान्वयन भइसक्छ । कार्यान्वयन हुँदैन कि भन्ने आशंका कहीँ कतै छैन ।

निर्वाचनका वेला धेरै एजेन्डाहरू जनतामा लैजानुभयो । कार्यान्वयनमा कस्ता जटिलताहरू देखिएका छन् ?
जनताका आकांक्षाहरू धेरै छन् । यो स्वभाविक हो । चुनाव लड्दै गर्दा उठेका मुद्दाहरू पनि धेरै स्वभाविक थिए । धेरैमा बाटोहरू माग भएका थिए । त्यस्तै बिजुली, खानेपानी लगायतका मुद्दाहरू बढी मात्रा थिए । केही साथीहरूले सबै बाटो पिच गरिदिन्छु भन्दै भोट माग्नुुभयो । तर, मैले पूरा गर्न नसक्ने सपना बाँडिनँ । मैले पाँच वर्षमा साविकका चार वटा गाविसका मूल बाटाहरू जसले झापा र इलामलाई प्रत्यक्ष रूपमा जोड्छ ।

त्यहाँको अधिक भूभागलाई जोड्छ । वडादेखि मुख्य कार्यालयसम्म जोड्ने बाटाहरू छन् । मैले त्यस्ता बाटाहरूलाई अलवेदर रोड बनाइदिन्छु भनेको थिएँ । आज पनि त्यहाँ मुख्य रूपमा बजेट केन्द्रित छ । यो पूरा गर्ने क्रममा छौँ । त्यस्तै विद्युतीकरण र खानेपानीका अधिक योजनाहरू छन् । सबै कार्यान्वयनका चरणमा छन् । मैले मतदातामाझ राखेको प्रतिवद्धता पूरा हुने क्रममा छन् ।

यसमा कुनै जटिलता छैन । तपाईंको गाउँपालिकाका तल्लो क्षेत्रमा धेरै मानिसहरू लालपूर्जा नपाएर बसिरहेका छन् । स्थानीय तहको चुनावमा पनि एजेन्डा बन्यो । प्रतिनिधि र प्रदेशसभाको चुनावमा पनि बन्यो । संविधानसभाको चुनावमा पनि बनेको थियो । वर्षाैँदेखि बन्दै आएको छ । त्यसको समाधानका लागि तपार्इंको योजना के छ ?धेरै पहिलादेखि यो मुद्दाको उठान भएको छ । जिर्मलेको पाटापुरको कुरा गर्ने हो भने ०५१ मा त्यहाँ धनीपूर्जा बाँडिएको थियो ।

तर, जसको लगत अहिले पनि मालपोत कार्यालयमा नभएकौ कारण उनीहरू जग्गाधनी हुन सकेका छैनन । इरौंटारको पनि अवस्था उस्तै छ । ऐलानी जग्गामा बसोवास गरिरहेको अवस्था छ । वडा नम्बर ४ को काउसेटारमा एउटै नापी छैन । त्यहाँ घनावस्ती छ । धनसार, दुधे, असुरेलायतको समस्या त्यस्तै छ । कुटीडाँडामा पनि त्यस्तै छ । त्यहाँ प्रसिस्त घरहरू छन् तर कसैको जग्गाधनीपूर्जा छैन ।

यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछु भनेको छु । हिजो चुनावमा पनि भनेको थिए । म धनीपुर्जा बाँड्छु भन्दिनँ, किनभने मैले बाँड्ने होइन । तर, विधि र प्रक्रिया पूरा गरेर व्यवस्थित बनाएर लैजाने भनेको छु । त्यसो हुँदा अहिले राज्यको तर्फबाट पनि व्यवस्थित बसोवास समिति भनेर आयोग नै बनेको छ । र, मैले पनि भर्खरै कार्यपालिकाको बैठकबाट रोङको बसोवास व्यवस्थापन गर्न व्यवस्थित बसोवास समिति गठन गर्ने प्रस्ताव पारित भएको छ ।

त्यो समितिले के काम गर्छ ?
सबैभन्दा पहिलो कानुनी आधारहरू के के हुन्छन्, कसरी भएका छन्, हिजो सुकुम्बासी आयोगले बसेर कसरी डकुमेन्टेसन गरेका छन् ? अहिलेका धनीपुर्जा वितरणका कानुनी आधारहरू के के हुन् ? भन्ने कुराको अध्ययन पहिलो चरणमा गर्छ । त्यसरी डकुमेन्टेसन गरिसकेपछि प्राविधिक कुरा अगाडि बढाएर प्रदेश हुँदै अगाडि जाने हो ।

अबको मेरो मिसन भनेको अब जग्गाविहीन मान्छेहरू कोही छैनन् भन्ने सन्देश दिनु हो । त्यसले गर्दा चार वर्षभित्रमा रोङ गाउँपालिकाभित्र बस्ने सबै मासिनले जग्गाको लालपुर्जा हातमा बोकेका हुनेछन् ।

गाउँपालिकाको विकासका सम्भावनाहरू कत्तिको देख्नुहुन्छ ? कत्तिको सहज छ ?
सम्भावना पनि छ र सहज पनि छ । पूर्वाधारका हिसाबले बाटो, बिजुली, स्वच्छ खानेपानी आधारभूत कुरा हुन् । तर, यत्तिले मात्र विकास भयो भन्न मिल्दैन । तर, प्रारम्भिक चरणमा त्यही गर्छु । किनभने रोङ अधिकांश कृषकहरू बसोवास भएको क्षेत्र हो । कृषकहरूलाई त्यही कुरामा कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा काम थालेको छु । पर्यटनको अत्यन्तै सम्भावनायुक्त क्षेत्र हो । त्यसका लागि प्रारम्भिक काम थालेको छु ।

पर्यटनको धेरै काम छन् । पर्यटन फा निरपेक्ष कुरा होइन, यो सापेक्ष कुरा हो । अहिले पाथीभराको बृहत् गुरुयोजना निर्माण गर्दछु । जसका लागि अन्य स्थानीय तहसँग धेरै ठूलो छलफल गरिरहन आवश्यक पर्दैन । तर, समग्र पर्यटन विकासका लागिचाहिँ सूर्योदय, बुद्धशान्ति, मेचीनगरसँग समन्वय गरेर बृहत् गुरुयोजना निर्माण गरेर जाने सोच छ । यसो गर्दा परिवर्तन सम्भव छ, विकास सम्भव छ ।

चुनौतीचाहीँ के देख्नुहुन्छ ?
चुनौती पनि छन् । एउटा भौगोलिक विकटता हो । अधिकांश चुरेको क्षेत्र भएको गाउँपालिका हो यो । चुरे क्षेत्रमा भौतिक विकास गर्दा धेरै सचेतता अपनाउनुपर्छ । हामीले गर्दै गरेको विकास र पर्यावरणीय क्षतिको लेखाजोखा गर्नुपर्छ । मलाई चुनौती त्यहाँ छ । अर्को चुनौती प्राप्त बजेटको कुशल कार्यान्वयन हो ।

यसलाई कार्यान्वयन गर्ने नीति, कार्यविधि अहिलेसम्म केही पनि छैन । हामी सर्वज्ञानी भएर आएका होइनौँ । जनताको मन जितेर आएका छौँ । विधि नीति बनाउने क्रममा कहाँ चिप्लिने हो टुंगो छैन । अर्को समस्या स्रोत साधन पनि छ, बजेट पनि छ । तर, बजेट कार्यान्वयन गर्ने जनशक्तिको अभाव छ ।

तपाईंसँग पराजित उम्मेदवार र राजनीतिक दलसँग कसरी समन्वय गरेर अगाडि बढ्दै हुनुहुन्छ ? 
मैले विजय र पराजयको महसुस नै गरिनँ । मात्र प्रथम र दोस्रा भएका मात्र हौँ । मलाई भोट दिएर पहिला बनाए, त्यस्तै अरू साथीहरूलाई दोस्रा, तेस्रा बनाए । त्यसको अर्थ सबैको उत्तिकै जिम्मेवारी छ । म एक्लैको होइन । जिम्मेवारी बराबरी भएपछि दायित्व पनि बराबरी हुन्छ । तसर्थ सबैसँग सहकार्य र समन्वय गरेर नै अगाडि बढिरहेको छु । मेरो प्रतिष्पर्धीसँग छलफल गर्छु ।

उहाँहरूले पनि कार्यक्रम कसरी अगाडि बढाएर लैजाने, बजेट ल्याउनुभन्दा अगाडि बृहत् रूपमा बसेर छलफल गरौँ भन्नुहुन्छ । मैले पनि पाँच वर्षभित्रमा तथ्यगत रूपमा उपलब्धि हुने योजनाका कुरामा बसेर छलफल गरौँ भनेको छु । विशेष महत्व राख्ने हरेक कुरामा मैले उहाँहरूलाई सहभागी गराउँदै आएको छु । किनकी जनताको म्यान्डेड उहाँहरूलाई पनि थियो । पहिलो भएकाले बढी जिम्मेवारी मेरोमा आएको मात्र हो ।

गाउँपालिकाको केन्द्र निर्धारण गर्ने सवालमा समस्या थियो । समाधान भएको हो ?
यो संक्रमणको समयमा हरेक कुराको हरेक ठाउँमा केही न केही समस्या आउँदो रहेछ । यहाँबाट दुई किलोमटर टाढा मात्र झरेको छ । निर्वाचनका बेला पनि केन्द्र कोल्बुङबाट अन्यत्र लान हुँदैन । लग्यो भने कार्यान्वयन गर्न गाह्रो हुन्छ भन्ने लागेको थियो ।

त्यही अन्तर्गत सबैसँग छलफल गरेर सर्वदलीय टिमको राय सुझाव, निर्वाचित टिमले वडावडामा गएर लिएको सुझाव र जग्गा उपलब्ध तीन ठाउँमध्ये प्राविधिक दृष्टिले कुन ठाउँमा संरचना बनाउँदा उपयुक्त हुन्छ भन्ने प्राविधिकको राय सुझावको आधारमा कुनै विवाद नगरिकन सर्वसम्मत निर्णय गरेका छौँ । केही साथीहरूले त्यो ठाउँमा भन्दा यही ठाउँमा भए राम्रो हुन्थो भन्ने कुरा राख्नुभएको थियो । तर, यसमा ठूलो विवाद केही पनि छैन ।

सूर्योदय नगरपालिकाले मेची राजमार्गको चौडाइ बढाउन थालेको छ । रोङमा पनि मेची राजमार्ग पर्ने हुनाले तपार्इंको पहल के छ ? 
अर्को स्थानीय तहले गरेको विकासको रणनीतिप्रति मेरा कुनै टिप्पणी छैन । तर त्यहाँ के भइरहेको छ भन्ने कुरा सुक्ष्म अध्ययन गर्दै छु । रोङको प्राथमिकता मेची राजमार्ग बढाउने होइन । मेरो प्राथमिकता बेग्लै छ । ६ वडामध्ये २ वडा मेची राजमार्गले छोएको छ । अन्य ४ वडामा वर्षामा गाडी कुद्दैन । त्यतापट्टि बढी ध्यान गएको छ । ती बाटाहरू अलवेदर बनाउनु छ । हाम्रो प्राथमिकता त्यतापट्टि छ ।

सूचना र प्रविधिको युग छ । सञ्चारमाध्यमलाई कसरी उपयोग गर्ने योजना बनाउनुभएको छ ?
सञ्चारलाई सकरात्मक रूपमा उपयोग गरेर गयो भने सबैभन्दा उपयुक्त हुन्छ । सञ्चारसँग अप्राकृतिक शुद्धता सम्बन्ध पनि गाँस्नु छैन । कसैकसैले सञ्चारलाई अलि फरक ढंगले प्रयोग गरको पाइन्छ । सूचना दिन सञ्चार महत्वपूर्ण छ । विकासलाई प्रचारप्रसार गर्न सञ्चारको भूमिका महत्वपूर्ण छ ।

जनताको मनमा जनताबाट परीक्षण हुने आधार सञ्चारमाध्यम हो । सकारात्मक र सही रूपमा उपयोग गरेर जाने हो । त्यसको वृत्ति र विकासका लागि हाम्रो तर्पmबाट पुर्याउने टेवामा कुनै कसर बाँकी राख्देनौँ ।

तपाईंको कार्यकाल पूरा भएपछि यो गाउँ कस्तो बन्नेछ ?
सम्पूर्ण रोङ गाउँपालिकावासीहरूमा विकासको प्लेटपर्म तयार गरिदिन्छौँ । जग खनिदिन्छौँ । गाउँपालिकाको मजबुद विकासका लागि प्रसस्त आधार तयार हुनेछ । भौतिक पूर्वाधारका धेरै काम पूरा हुनेछन् । वडावडामा सडकहरू पुग्नेछन् । उज्यालो गाउँपालिका बन्नेछ । रोङ व्यवस्थित र सुन्दर बसोवासको क्षेत्रमा परिणत हुनेछ ।

अहिले मात्र कृषिको क्षेत्र छ, यसलाई बसोवासको क्षेत्रमा परिणत हुनेछ । सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, खानेपानी तया सिँचाइको पहुँच पुग्नेछ । त्यसबाट झापालगायत विभिन्न सहरमा बसाइँ सरेर गएकाहरूलाई फेरी यतै फर्कौंफर्कौं लाग्ने हुनेछ । सबै नागरिक आत्मनर्भिरताको बाटोमा लाग्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार