मुकेशको ‘मनोकांक्षा २’ बजारमा

काठमाडौं : गीतकार मुकेश राईले दोस्रो गीति एल्बम ‘मनोकांक्षा २’ दर्शक/श्रोतामाझ ल्याएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले यो एल्बमको विमोचन गरे ।

सुशीला लाबुङ राई प्रस्तुतकर्ता रहेको एल्बमको बजार व्यवस्थापन स्टारलाइट इन्टरटेनमेन्टले गरेको जनाइएको छ । एल्बममा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दुःखमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, ‘फिक्का–फिक्का भाको छ’ र ‘के कुरा बसन्तको’ बोलका गीत समेटिएका छन् ।

ताराप्रकाश लिम्बू र हरि लम्सालका संगीतमा ताराप्रकाशसहित राजेशपायल राई र बानिका प्रधान, मेलिना राई, मिलन अमात्य, प्रमोद खरेल र अमृता लिम्बूले स्वर भरेका छन् । यी गीत जीवनवादी, आशावादी रहेको टिप्पणी गर्दै कवि तथा गीतकार स्वप्नील स्मृतिले यो एल्बम उत्कृष्ट रहेको बताए ।

गीतकार राई इलाम घर भई बेलायतमा बसोबास गर्दै आएका छन् । एसएलसीसम्मको अध्ययनपछि ब्रिटिस आर्मीमा भर्ती भएका उनले सन् २००७मा अवकाश पाएका थिए । सन् १९९० मेईमा भर्ती भएका उनले ब्रिटिस गोर्खा सेनाको क्विन्स ओन गोर्खा लजिस्टिक कोरमा १७ वर्ष काम गरेको ई मिडिया हबले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीकालदेखि साहित्यमा रुचि राख्दै आएका उनले सैनिक जीवनमा पनि त्यो रुचिलाई निरन्तरता दिएको बताए । यसअघि उनका ‘अनुभूतिका रङहरू’ कविता संग्रह २०६८, ‘मनोकांक्षा’ गीति एल्बम २०७० र ‘रङ जिन्दगीको’ गीति संग्रह २०७२ प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार