‘माङ पितृ हो कि देवीदेउता ?’

नयाँ बुलन्द

धरान : पत्रकार, कवि तथा लेखक सचित राईको अनुसन्धानमूलक निबन्धात्मक कृति ‘माङखिम’माथि धरानमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा बुद्ध चोकस्थित फुड स्टोरीमा शनिबार यो कृतिमाथि परिचर्चा गरिएको हो । साहित्यकार प्रा. डा. टंक न्यौपाने, मुन्धुम अध्यता डा. मोहन तुम्बाहाङ र पत्रकार राजेश विद्रोहीले यो कृतिमाथि बोलेका थिए ।

प्रा. डा न्यौपानेले यो कृतिमा विषयगत विविधता रहेको उल्लेख गर्दै लेखन शैली सबैभन्दा सबल रहेको धारणा व्यक्त गरे ।प्रायः निबन्धमा राई बान्तवा भाषा आउनु सकारात्मक रहेको टिप्पणी गर्दै उनले यसले नेपाली वाङमयको समृद्धिमा टेवा पुग्ने बताए । उनले माङ शब्दलाई अहिलेसम्म किरात समुदायमा देवताका रुपमा अथ्र्याइँदै आए पनि लेखकले पितृको संज्ञा दिँदै यसमाथि पुनर्विचार गर्न आग्रह गरेको सुनाए ।

‘लेखकको भूमिका नपढी भित्रका शीर्षकसँग नामकरणको संगति मिल्दैन’, उनले भने, ‘जब मैले भूमिका पढें तब उहाँले गाउँ, छिमेक र घरपरिवारको बारेमा पनि लेखेको रहेछ भन्ने बुझें । भित्रका निबन्ध मात्र पढ्दा खेरि देवगृह भनेर बुझेको थिएँ ।’ उनले माङबारे नयाँ व्याख्या आएको उल्लेख गर्दै यसले पुनविर्चार गर्न उत्प्रेरणा मिल्ने धारणा व्यक्त गरे ।‘धार्मिक–सांस्कृतिक हिसाबले पुनर्विचार गर्नुप¥यो कि माङ भनेको के हो’, उनले भने, ‘पितृ हो कि साँच्चै देवीदेउता नै हो ? यो निबन्ध संग्रहले पहिलो प्रश्न नै यही उब्जाएको छ ।’

डा. तुम्बाहाङले माङखिममा नेपाली समाज प्रतिविम्बित रहेको उल्लेख गर्दै विविध विषयवस्तु लेखकलेशिष्ट, सरल र सन्तुलित भाषा शैलीमा समेटेको चर्चा गरे । ‘लेखनले मान्छेलाई वास्तविक मान्छे बनाउँछ’, उनले भने, ‘सचित राईजी पनि वास्तविक मान्छे हुनुभएको छ ।’

पत्रकार विद्रोहीले यो कृतिमा समेटिएका विषयलाई विश्वसनीय बनाउन लेखकले खोजअनुसन्धान गरेको उल्लेख गर्दै यो कृतिले युवामा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे । ‘उहाँले निकै मेहनत गरेर इतिहासको खोज गर्नुभएको छ । कतिपय ऐतिहासिक व्यक्तिहरूका बारेमा भएको द्विविधालाई पनि उहाँले समाधान गर्ने प्रयास गर्नुभएको छ’, उनले भने, ‘आफ्नो जाति, भाषा, धर्म, संस्कृतिप्रति सबै सचेत हुनुपर्छ । यसमा राज्यले पनि सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ भन्ने भावना यस कृतिका निबन्धहरूमापाइन्छ ।’यति हुँदाहुँदै पनि अरुका जाति, भाषा, धर्म, संस्कृतिप्रति घृणाको भावना नराखी उत्तिकै सम्मानको दृष्टि राख्नु लेखकको सबल पक्ष रहेको उनको भनाइ थियो ।

लेखक राईले आफ्नो पुस्तकको विषयमा सोधिएका प्रश्नहरूको उत्तर दिँदै माङखिम शब्दलाई नेपाली शब्दकोशले समेट्नुपर्नेमा जोड दिए । ओझेलमा परेका व्यक्तिका योगदान तथा विषयलाई माङखिममार्फत दस्तावेजीकरणको प्रयास गरेको उनको भनाइ थियो । उनले पुस्तकमा २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईको जीवनी पनि समेटेका छन् ।

रामप्रसादले राजनीतिक तथा सामाजिक परिवर्तनमा पु¥याएको योगदानको कदर गर्दै राज्यले उनलाई सम्मान दिनुपर्नेधारणा लेखकले व्यक्त गरे । जनस्तरबाट सम्मानका लागि आफूले उनको विषयमा आफूले खोजेर प्रस्तुत गरेको उनको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई रामप्रसादको योगदानबारे जानकार रहेकोउल्लेख गर्दै नयाँ सरकारले उचित सम्मान दिने विश्वास व्यक्त गरे ।

पुष्पा लोहोरुङ प्रकाशक रहेका माङखिममा रामप्रसादको रामकहानी, त्यस बेलाका रत्न, सुन्तलाबारीमा बूढीआमा, फलासिंहको फैलावट, धर्मगुरुको गाउँ, छापामारलाई बयान, शाकाहारी माङमालुङ, कोसी बौलाएको बेला, घरको पिङलगायत १६ आलेख समेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार