नयाँ बुलन्द
इलाम : सूर्योदय दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट मानिएको पूर्वी इलामको सुर्योदय नगरपालिकास्थित श्रीअन्तुमा पर्यटकको चहलपहल बढेको छ । दिनहुँजसो जिल्लाभित्र र बाहिरबाट आउने पर्यटकको भीडभाड देखिन्छ । एकाविहानै सुर्योदय दृश्यावलोकनका लागि पर्यटकहरुको तछाँडमछाड हुने गरेको छ ।
मौसममा सुधार आउनु, सूर्योदय हुनु, पर्यटकका लागि भाग्योदय हुनु जस्तै हो । यही कारण श्रीअन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो । पर्यटक सँगसँगै होटल व्यवसायीको भाग्य पनि चम्केको छ । पर्यटकको मात्र होईन, व्यवसायीका समेत चेहरा उज्यालो देख्न पाइन्छ । कारण मौसम सफा त छँदैछ नै, व्यवसाय समेत फस्टाएको छ । पर्यटक आगमन बढेसँगै व्यापारव्यवसाय पनि बढेको अन्तु पर्यटन परिसरभित्र पसल सञ्चालन गर्ने संचालकहरुको भनाई छ ।
मेची लोकमार्ग अन्तरगत इलामको फिक्कलबाट १४ किलोमिटरको दूरीमा पर्दछ । पैदल हिँड्दा कठिन हुने भएपनि श्रीअन्तु पुगेपछि थकान पलभरमै मेटाउन सकिन्छ । समुन्द्री सतहबाट एक हजर आठ सय २८ मिटरको उचाइमा रहेको श्रीअन्तुबाट सूर्योदय, सूर्यास्त, विभिन्न हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखैअघि नियाल्न सकिन्छ । यस्तै नेपालको सबैभन्दा होचो ठाउँ केचना र ताप्लेजुङको विभिन्न ठाउँसमेत देखिन्छ ।
श्रीअन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृतिको रुपमा धनी छ । कृषिबाट सुधारिएको जीवनशैली, व्यवसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । साथै पारिवारिक वातावरण, स्थानीय परिकार, डुङ्गामा चढेर अन्तु पोखरीको सयर गर्न समेत पाइने भएकाले पनि श्रीअन्तु पर्यटकका लागि लोकप्रिय बन्दै गएको छ ।
स्थानीय जातीय झाँकी, पुरातात्विक वस्तुको संग्रहालय, पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाउने गरेको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको खुवाई, बसाई र घुमाईको लागि प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बार्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताए ।
अन्तु पोखरी आसपासमा दैनिक १० देखि २० को हाराहारीमा गाडीहरु पिकनिक खान आउने गरेका छन् । यतिबेला जिल्लाका विभिन्न स्थान तथा पूर्वी नेपालका विभिन्न जिल्ला र भारतको विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।
२०६० साल यता पर्यटक प्रवद्र्धनका लागि सक्रिय अन्तुबासीले पर्यटकका लागि होमस्टे (सामुदायिक घरवास) समेत सञ्चालनमा ल्याएका छन् । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटकहरु बस्ने गरेको होमस्टेकी सञ्चालक बिनिता प्रधानले बताइन् । अन्तुबासीले होमस्टेबाट समेत मनग्य आम्दानी लिइरहेका छन् ।
अन्तुको पर्यटन विकासका लागि मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले सहयोग गर्दै आएको छ । मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले भ्युटावर निर्माण गरिदिएपछि पर्यटकलाई चउरमा बसेर सूर्योदय हेर्नुपर्ने बाध्यता समेत हटेको छ । सरकारको उचित सहयोग र प्राकृतिक श्रोत साधनको समुचित उपयोग गर्न सके श्रीअन्तु लोकप्रिय पर्यटकीय केन्द्र बन्ने निश्चित छ ।