पर्यटकको आकर्षक गन्तव्य ‘कन्याम’

नरेन इलामेली

इलाम : पूर्वी इलामको रमणीय र प्राकृतिक‌ सौन्दर्यताको अनुपम‌ उपहार हो कन्याम। सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गको पहुँचमा पने हुँदा सहजै पुग्न सकिन्छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको झापाको चारआलीबाट देब्रे मोडिएर उकालो लागे पछि करिब  एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम ।

चारआलीबाट उकालो लागे पछि प्राकृतिक‌ सुन्दरतामा हराउँदै नागबेली झैँ घुमेको सडकमा यात्रा गर्दा जो कोहिलाई पनि आनन्दित बनाउँछ। नेपाल र भारतको सीमा पशुपतिनगर बजारबाट  केहि समयको यात्रा गरे पछि फिक्कल पुगिन्छ र देब्रे तर्फ मोडिएर करिब दस मिनेटको यात्रा पछि पुगिन्छ आकर्षक पर्यटकिय गन्तव्य कन्याम। त्यस्तै इलाम सदरमुकामबाट करिब दुई घण्टाको यात्रामा पुग्न सकिन्छ। यतायातको सहज पहुँचमा रहेकाले सहजै आवतजावत गर्न सकिन्छ ।

केहि समय पहिले सम्म हुरहुरे कमानको नामले  चिनिने कन्याम पछिल्लो समय निकै लोकप्रिय बम्दै गएको छ। बक्लो हुस्सु र चिसो हावापानीका कारण कमै मात्र मानिसहरुको आवतजावत हुने कन्याममा अहिले बाह्रै महिना पर्यटकहरुले खचाखच हुने गरेको छ। मेची राजमार्गमै  रहेकाले पनि कन्याम जो कोहिको रोजाईमा सजिलै  पर्ने गरेको छ ।

तराईतिर गर्मी बढ्दा गर्मी छल्न इलाम आउनेको भीड लागिरहेका बेला उत्कृष्ट गन्तव्य बन्दै छ कन्याम। मेची राजमार्ग अन्तर्गत सूर्योदय नगरपालिकामा पर्ने कन्याममा बिदा मनाउन, घुमफिर गर्न, माया प्रेम साट्न, बनभोज खान तथा शैक्षिक भ्रमणका  लागि कन्याम आउनेको घुइँचो लाग्ने गरेको छ । साथै नजिकै रहेको पाथिभरा देवी मन्दिर दर्शन गर्न आउनेहरु पनि कन्याम आएर प्राकृतिक सुन्दरतामा हराउने र आफूलाई आनन्दित पार्ने गरेका छन्। बिदाको दिन र विशेष दिनहरुमा त पर्यटकहरुको भीडका कारण मेची राजमार्ग आवतजावत गर्न समेत समस्या हुने गरेको छ ।

बाह्रै महिना  रहने चिसोे हावापानी , लहरै मिलेर डाँडै ढाक्ने गरी रहेको चिया बगान, लभडाँडा , देउराली डाँडा, हावासँगै सुसाउने सल्ला घारी र लेप्चा र नेवार जातीको परम्परागत सांस्कृतिक र ग्रामीण रहनसहन र रीतिरिवाज यहाँका प्रमुख आकर्षणहरु हुन भने घोडा चढिले पनि पर्यटकहरुलाई आकर्षित गरिरहेको छ। मौसम सफा भएको दिन उत्तरतर्फ मुसुक्क ‌मुस्कुराएर  पर्यटकहरुलाई स्वागत गरिरहेको कञ्चनजंघा हिमाललाई आफ्नै आँखा अगाडी निँयाल्न सकिन्छ भने दक्षिणतर्फ तराईका विशाल  समथर फाँट र नदीनाला अवलोकन गर्न सकिन्छ साथै इलाम, झापा र भारतका विभिन्न स्थानहरुको पनि अवलोकन गर्न सकिन्छ ।

यी नै सौन्दर्यतामा लोभिएर  इलाम, झापा, पाँचथर, मोरङ साथै देशका विभिन्न भू-भाग, भारतको दार्जिलिङ्ग, सिक्किम, मिरिक, सिलिगुडी लगायत तेस्रो देशका पर्यटकहरु समेत बर्षेनी कन्याम आउने क्रम बढेको छ। पारिवारिक घुमफिर, बनभोज, शैक्षिक भ्रमण तथा डेौिङ स्पटका लागि आकर्षक गन्तव्य हो कन्याम ।

पर्यटकहरुको रोजाईको केन्द्रविन्दु रहेको कन्याममा होटल व्यवसाय तथा घोडचढी व्यवसाय राम्ररी फस्टाउँदै गएको छ। चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पर्यटकहरुको प्रमुख आकर्षण हो।‌ ‌‌ग्रामीण परिवेशमा घोडा चढ्नु नौलो नभए पनि सहरी परिवेशका तथा बाह्य पर्यटकहरुका लागि नौलो र आकर्षक काम बनेको छ। पर्यटकको आकर्षणसँगै आन्तरिक ब्यापार समेत बढेको छ। इलामको कोशेली स्वरुप अर्थोडक्स चिया, छुर्पी, ललिपप, पुष्टकारी ,बम्बाइसन, अकबरे खुर्सानी जस्ता परिकाहरु पर्यटकको रोजाईमा पर्ने भएकाले ब्यापार व्यवसाय प्रवर्द्धनमा समेत सहजता मिलेको छ  ।

कन्यामको सुन्दरतामा भुल्नेहरु धेरै छन तर कन्याममा समस्या र चुनौतीहरु भने नभएको भने हैन। पर्यटकिय गन्तव्य भए पनि प्रशस्त मात्रामा  पानी छैन। पर्यटकहरु घुमफिर तथा बनभोजका लागि आउँदा पानी नपाएको गुनासो  गर्ने गरेका छन भने सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । मानिसहरुको आवतजावत बढेसँगै फोहोरमैलाको मात्रा समेत बढेको छ। यसले कन्यामको सुन्दरतामा प्रत्यक्ष प्रभाव पारेको छ र सम्बन्धित निकायले ध्यान नदिएको स्थानियवासीको गनासो रहेको छ ।

कन्यामको अर्को समस्या भनेको पार्किङ्गको सुविधा नहुनु पनि हो। मेची राजमार्गमा पार्किङ्ग स्थल नभएका कारण नजिकै को श्री कृष्ण आश्रम उच्च मा. विको प्राङ्गढमा सवारी पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको छ। जसले‌ गर्दा विद्यालयको पठनपाठनमा समेत समस्या हुने गरेको छ। अव्यवस्थित पार्किङ्ग कै कारण बेलाबेला सवारी दुर्घटना समेत हुने गरेको छ। यी र यस्ता समस्याहरु माथि नगरपालिका र सम्बन्धित निकायको ध्यान जान सके र चाँडै यी समस्याहरु समाधान भएमा मात्र कन्यामलाई दिगो पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्न सकिन्छ । कन्याममा एउटा आधुनिक भ्यू टावर मात्रै बनाउने हो भने हालको भन्दा दोब्बर पर्यटकहरु कन्याम भित्र्याउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार