दशैं मेलामा सन्थाल नाचको आर्कषण

नयाँ बुलन्द

झापा : पूर्वका लोपन्मुख जातिका रुपमा मानिने सन्थाल जातिको परम्परागत नाचसहित दशैं मेला धुमधामका साथ भइरहेको छ ।

बर्सेनी दशैंको फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लामा लाग्दै आएका दशैं मेला धुमधाम भइरहे्को छ । जिल्लाको गरामनी, कमल गाँउपालिकाको मंगलबारे, पाडाजुंगी बजार, ढ्याङग्री, क्याम्पा, गौरीगञ्ज गाउँपालिकामा पर्ने गौरीगञ्ज, कुञ्जीबारी बजार, झापा गाउँपालिकामा पर्ने टाघनडुब्बा, फुलवारी,  शरणामती, झापा बजारहरुमा विभिन्न दिनमा लाग्ने  दशैं मेलामा यी समुदायको परम्परात नृत्यनै विशेष आकर्षणका रुपमा रहने गरेको छ ।

झापा र मोरङमा मात्र बसोबास गर्ने सन्थाल समुदायले आफ्ना पितृ र देवी देउतालाई  खुशी बनाउदै आफ्नो बासस्थान वरपर आफ्नो समुदायका साथै समाजकै भलो चिताउदै  प्रार्थना गरेर दशैंमा दुर्गा मन्दिरहरुमा समूह–समूह बनाएर पूजाआजा गर्दै नाच्ने गर्छन् । सन्थाल समुदायका अगुवा कमल गाँउपालिका–१ का दुखीराम हेमरम भन्छन्, ‘अन्य पर्व भन्दा दशंैमा भने मुख्यतय हामीले प्राचिन समयदेखि नाच्दै आएको नृत्य दशै मेलामा देखाउछौ ।’

प्रकृतिपूजक धर्म मान्ने सन्थालहरु दशैंलाई विशेष महत्वका रुपमा मान्ने गर्छन् । दुखीरामका अनुसार दशैंका अवसर पारेर लाग्ने पूराना मेला,वजारमा सन्थालको नृत्य देखाउन बोलाउने गरिन्छ । अन्य समुदायको सांस्कृतिक नृत्यभन्दा पृथक कला,सभ्यता भएकाले पनि हाम्रो नृत्यले प्रमुखता पाउने उनको दावी छ ।

सन्थालका नृत्यमा सहभागि टोलीले आफ्नै भाषामा पेड….पेड…भन्दै गरेको उच्चारणले सबैको  ध्यानाकर्षण गराउँछ भने बाजाको तालमा आफ्नो शरीरलाई हल्लाउने उनीहरुको कलाले झनै नृत्य मनमोहक हुने गरेको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजार व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राई बताउँछन्  । यस्तो नृत्यमा पुरुषसंगै महिला र साना, बालबच्चाहरु पनि अत्यन्त उल्लासका साथ संलग्न हुन्छन् । उनीहरुले आफनै भेषभूषासंगै नृत्यकारहरुले रङ्गीचङ्गी कमिज, धोती लगाएर शिरमा मयूरको प्वाँख, ऐना र  झुम्काले बनाएको रंगिन फेटा लगाएर र कल्ली बाँधेर एउटै ताल, सुरमा  छुट्टाछुट्टै समूह बनाएर नाच्ने गर्छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका वजार समितिका अध्यक्ष राई भन्छन्, ‘पृथक संस्कृति भएकाले पनि सन्थाल नृत्य मनोरञ्जनपूर्ण छ ।’ दशैं टिकाको भोलिपल्ट एकादशीका दिन मेला लाग्दै आएको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारको मेलामा विगत तीन दशक देखि सन्थाल नृत्यले प्रमुख स्थान पाउदै आएको छ । स्थानीय सगुन युवा क्लवले आयोजना गदैं आएको सो एकादशी मेलामा सन्थाल नृत्यलाई संरक्षण गरि सांस्कृतिक महत्वमा जोड दिदै आएको क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बे बताउँछन् । उनी भन्छन्, ‘परम्परागत संगै साँस्कृतिक भेषभूषा,नृत्यमा क्लवले यस मेलामा अवसर दिएका छौ ।’ त्यस मेलामा जिल्लाको विभिन्न ठाँउबाट एक दर्जन टोलीले नृत्य देखाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार