अर्को गीति एल्बम ‘अभ्यर्थना’ लिएर आए राजेश

इलाम : इलामे गायक तथा संगीतकार बि एन्ड डी राजेश चाम्लिङले सांगीतिक करिअरको दोस्रो एल्बम ‘अभ्यर्थना’ श्रोतामाझ ल्याएका छन्।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक/संगीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा लगायतले एल्बम सार्वजनिक गरे।

सदस्य सचिव रसिकले गायक चाम्लिङका गीतहरु मन छुने किसिमका रहेकाले आम श्रोताले यसलाई मन पराउनेमा विश्वास व्यक्त गरे। ‘पछिल्लो समयमा म्युजिक भिडियो अनिवार्य बनिसकेको छ। एल्बममा रहेको गीतअनुसार भिडियो पनि मर्मस्पर्शी लाग्यो,’ उनले भने,‘आगामी दिनमा गायकले अझ राम्रा गीतहरु ल्याउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु।’

गायक चाम्लिङले सानैदेखिको संगीत प्रतिको रुचि र सांगीतिक गुरु हस्त चाम्लिङको प्रेरणाले संगीत क्षेत्रमा पाइला चालेको बताए। एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन्। गीतमा राजेश र सुयर्मा राईको शब्द छ भने डेनी निरौला र राजेशकै संगीत छ। ‘डेटिङ’ बोलको गीतमा गायिका बिना राईले राजेशलाई स्वरमा साथ दिएकी छन्।

कार्यक्रममा ‘मेरी आमा’ र ‘डेटिङ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो। २०५७ सालबाट औपचारिक रुपमा संगीत सुरु गरेका राजेशले २०६८ सालमा पहिलो एल्बम ‘स्पर्श’ बजारमा ल्याएका थिए। उनले हालसम्म २० वटा गीत लेखन, ६० गीतमा संगीत र ४० वटा गीतमा स्वर दिइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार