बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

काठमाडौं : ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

सन्तबहादुर लामाले आर्थिक अवस्था कमजोर हुँदा पनि बुद्ध लामालाई संगीत सिक्न पठाउनुभयो । सन्तबहादुर लामा २०४२ सालमा धादिङबाट पोखरा बसाईँ सर्नुभएको थियो ।

सन्तबहादुर लामा पोखरा लेखनाथ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखामा काम गर्नुहुन्छ । त्यसैको आम्दानीले परिवारको खर्च धान्नुहुन्छ । दुःख गरेर नै बुद्धलाई संगीत सिक्न पठाएको उहाँ बताउनुहुन्छ । बुद्धलाई संगीत सिक्न उनका भिनाजुले पनि सहयोग गर्नुभयो । बुद्धले गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा संगीत सिकेका थिए । बुद्धले १३ वर्षको उमेरदेखि विभिन्न कार्यक्रममा गीत गाउन थालेका थिए । बुद्ध लामा सानैदेखि सांगीतिक कार्यक्रमहरुमा सहभागी हुन्थे । उनी टोलमा हुने सांस्कृतिक कार्यक्रम तथा भजनहरुमा गीत गाउने गर्थे । पोखराको महेन्द्रपुलमा रहेको महेन्द्र माविबाट एसएलसी पास गरेका उनी विद्यालयमा पनि पढाईमा भन्दा गीत संगीतमा नै बढी रुचि देखाउने गरेको उनका शिक्षक बताउँछन् । विद्यालयमा रहँदा उनी निकै नै सहयोगी स्वभावका थिए । उनी विद्यालय स्काउटको ग्रुप लिडर तथा रेडक्रस कमिटीको अध्यक्ष थिए ।

बुद्ध लामा पोखराको बिग एफएमद्वारा आयोजित २०७० सालको बिग आइकनमा शीर्ष ४ सम्म पुगेका थिए । त्यसपछि बुद्ध स्टेज कार्यक्रममासमेत छाउन थालेका थिए । बुद्धले क्लासिकल, आधुनिक र पप सबै प्रकारका गीतमा अब्बल प्रस्तुति दिन्छन् ।

बुद्ध लामाको सांगीतिक यात्रा त्यति सहज भने छैन । उनले आफ्नो अध्ययन र संगीतलाई निरन्तरता दिन दोहोरी साँझमा पनि गीत गाए । पोखराको पोखरा दौँतरी साँझमा उनले गीत गाउने गर्थे । उनले मासिक ८ हजार रुपैयाँ पारिश्रमिक पाउँथे । दोहोरी साँझका सञ्चालक विरेन्द्र केसी र निर्मल भण्डारीले बुद्ध लामा निकै नै सहयोगी स्वभावका भएको बताउनुभयो । कहिलेकाहीँ वाद्यवादकहरु नआएको समयमा बुद्ध लामाले नै वाद्यवादकको काम पनि गर्थे ।

बुद्ध लामाले नेपाल आइडलको अडिसनमा ‘आँखाको निद खोसिलाने’ गाएर निर्णायकलाई प्रभावित पार्न सफल भएका थिए । अडिसनदेखि नै उनले दर्शक तथा निर्णायकको मन जितेका थिए । नेपाल आइडलमा बुद्धले दिएका प्रस्तुतिहरुमा ‘उ जितेर गई वा हारेर गई’ को पस्तुति निकै नै मन पराइएको छ ।

कतारमा शुक्रबार बेलुकी भएको नेपाल आइडलको फाइनलमा उनै बुद्ध लामा विजयी घोषित भए । एसएमएस र नेपाल आइडलको एप्समार्फत गरिएको भोटिङमा सबैभन्दा धेरै भोट पाएर उनी आइडल बने । उनले ४ करोेड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाए ।

निशान भट्टराई दोश्रो भए उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट पाए भने १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएका प्रताप दास तेश्रो भए ।

नेपाल आइडलको आयोजक एपिवान एचडी टेलिभिजनले कतारमा भएको फाइनललाई प्रत्यक्ष प्रशारण भने गरेको थिएन । प्राविधिक कारणले फाइनल प्रशारण गर्न नसकेको एपिवान् एचडी टेलिभिजनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार