द्वन्द्वपीडितलाई पाँच करोड राहत

तेह्रथुम : दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ । जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए ।

द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो ।

कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी नौ र कर्मचारी एकका परिवारलाई यसअघि दिइएको रकममा थप गरी रु १० लाख पुर्याइएको छ ।

उक्त ८१ जनामध्ये ७८ मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीन जनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताए ।

सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारमध्ये दुई जनाको परिवारलाई यसअघि नै रु पाँच लाख उपलब्ध गराइएको र थप रु पाँच लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उनले बताए ।

बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरुका नाममा आएको राहत रकम फिर्ता भएको छ । त्यसैगरी द्वन्द्वका समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी रु २५-२५ हजार वितरण गरिएको छ ।

राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको प्रजिअ खनालले बताए ।  ४२ लाख बजेट पीडितहरु समयमा बुझ्न नआएपछि फिर्ता गएको स्थानीय शान्ति समितिले जनाएको छ ।

कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न रु पाँच करोड ४३ लाख बजेट प्राप्त भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार