स्थानीय कलाकर्मीहरुको नाटक मञ्‍चन

कृष्ण ओझा 

पाँचथर : पाँचथरमा सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित दुई नाटक ‘जित्यापार्क’ र ‘उज्यालो पाइला’ मञ्‍चन गरिएको छ ।

जिल्ला समन्वय समितिको फिदिमको सभाहलमा शुक्रबार र शनिबार नाटकहरु मञ्चन गरिएको  हो ।  सार्वजनिक जग्गा पार्टीकरण नगरेर स्थानीय सापेक्षतामा उपयोग गरिनु पर्छ भन्ने सन्देश रहेको जित्यापार्कको निर्देशन राज दिलाञ्जली र नविन ढुङ्गेलले गरेका थिए । चलचित्र पारखी सागर केरुङको लेखन रहेको जित्यापार्कमा डिआर हाङ्सरुम्बा, मधु केरुङ, अञ्जु आङ्देम्बे, एलिसा तुम्बापो, सुनिता जवेगु, कुमार ढकाललगायतले अभिनय गरेका छन ।

जिल्लाकै बहूआयमीक प्रेम ओझाको लेखन निर्देशन रहेको उज्यालो पाइलाले बन्द हड्ताल जस्ता विभिन्न खाले द्वन्द्वले शैक्षिक क्षेत्रमा पारिरहेको प्रभाव उठान गरेको थियो ।  यो नाटकमा मधु केरुङ, डिआर हाङ्सरुम्बा, सुनिता जवेगु, एनवी अञ्जान, कमल घिमीरे, कुमार ढकाललगायतको अभिनय रहेको छ  । प्रस्तुत दुवै नाटकको प्रकाश संयोजन राज दिलाञ्जलीले गरेका हून । जित्यापार्क हाम्रो थिएटर नेपाल र उज्योलो पाइला नौलो साहित्यिक विहानको प्रस्तुतिमा मञ्चन भएका हुन् ।

लामो समयपछि प्रदर्शित दुई नाटक हेर्न एक सय रुपियाँको टिकट काटेर दर्शक उत्साहका साथ हलमा प्रवेश गरेका थिए । नाटक र चलचित्र क्षेत्रमा पाँचथरले फडको मार्न थालेको पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार