नयाँ बुलन्द
झापा : झापाको दमकमा स्थापित कदम थिएटरले दमकमा नाटक ‘मरिचेको चुपी’ प्रदर्शन गर्ने भएको छ ।
कदम थिएटर दमकले आफ्नो पहिलो प्रस्तुतीका रूपमा प्रदर्शन गर्न लागेको नाटकबाट प्राप्त आम्दानीबाट नाटकघर निर्माण गर्ने शनिबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आख्यानकार उपेन्द्र सुब्बाको कथा ‘मरिचेको चुपी’लाई नाटकीय रूपान्तरण गरेर प्रदर्शनका लागि तयारी थालिएको कदम थिएटरका महासचिव मोहन ढुङ्गाना ‘मेचीपुत्र’ले जानकारी दिए ।
मचीपुत्रका अनुसार दमकस्थित गोरखा डिपार्टमेन्टर स्टोर्सको सभाहलमा यहि साउन २२ देखि २६ गतेसम्म नाटक ‘मरिचेको चुपी’ प्रदर्शन हुने भएको हो । दमकमा आयोजित पत्रकार सम्मेलनमा कदमका सचिव कमन देवानले अनुमानित खर्च र आम्दानीसहितको विज्ञप्ति वाचन गर्दै कदमको पहिलो प्रस्तुतीले दमककेली दर्शकलाई नाटक संस्कृतितर्फ आकर्षित गर्ने दावी गरे । देवानले भने, ‘कदमको कदम दमक र समग्र पूर्वकै कला, साहित्य, संगति र संस्कृतिको साझा उत्थान गर्ने उद्देश्यबाट अभिप्रेरित छ । हामी यो सामाजिक दायित्व पूरा गर्न इमानदार प्रयत्न गर्छौं ।’
नाटकका स्थापित कलाकार राज थापाले बढ्दो शहरीकरणसँगै नाट्य संस्कृति अपरिहार्य भएकाले युवा पंक्तीको जमात नाटकघरको निर्माणमा अघि बढेको जिकिर गरे । उपेन्द्र सुब्बाको कथामा निर्मित नाटकले तत्कालीन राज्यसत्ताको एकल प्रभुत्व र त्यसले समाकालीन समाजमा पारेको असरबारे प्रष्ट्याउने नाटकीय रूपान्तरणकर्ता नवीन प्रचीनले जानकारी दिए । प्राचीनले भने, ‘नाटकको महत्वपूर्ण जिम्मेवारी सामाजिक दायित्व र मुद्दा हो । हामीले त्यसलाई बोक्ने प्रयास गरेका छौं ।’
सिजन दाहालले निर्देशन गरेको नाटकमा ११ जना कलाकारहरुले अभिनय गरेका छन् । ‘मरिचेको चुपी’ हालै इलाममा सम्पन्न राष्ट्रिय नाटक महोत्सव–२०७४ मा पहिलो पटक प्रदर्शन गरिएको हो । पाँच दिनसम्म चल्ने नाटक प्रदर्शनमा टिकट बिक्री र अन्य स्रोतबाट १२ लाख २० हजार आम्दानी हुने अनुमान गरिएको छ भने नाटक प्रदर्शनका लागि ३ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।
नाटक प्रदर्शनबाट प्राप्त हुने आम्दानीको ३० प्रतिशत रकम संस्थागत कोष निर्माणमा र ७० प्रतिशत रकम अस्थायी नाटकघर निर्माणमा खर्च गरिने कदम थिएटरले जनाएको छ । कदम थिएटर संस्था दर्तासँगै दमक नगरपालिकाबाट दमक–९ मा प्राप्त तीन कठ्ठा जग्गामा नाटकघर, पुस्तकालय र अन्य आवश्यक भौतिक निर्माण कार्य गर्ने कदम थिएटरले आफ्ना योजनामा समावेश गरेको छ ।