१० सहकारी संस्था खारेज

झापा : डिभिजन सहकारी कार्यालय झापाले जिल्लाका १० वटा सहकारी संस्थालाई खारेज गरेको छ ।
दर्ता भएर पनि नियमित कारोबार नगर्ने, लेखा परीक्षण नगर्ने, वार्षिक साधारणसभा नगर्ने र डिभिजन सहकारी कार्यालयमा मासिक तथा वार्षिक प्रगति विवरण पेस नगर्ने सहकारी संस्थाहरू खारेजीमा परेका हुन् ।

सहकारी ऐन २०४८ अनुसार लेखा परीक्षण र साधारणसभा गरी ३५ दिनभित्र प्रतिवेदन पेस गर्न सूचना जारी गर्दा पनि प्रतिवेदन पेस नभएकाले ती सहकारी खारेजी गरिएको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

‘सूचना जारी गरेको ३५ दिनसम्म ती सहकारीले सम्पर्कसमेत नगरेको हुँदा सहकारी ऐन २०४८ को दफा ४१ को उपदफा ३ तथा डिभिजन सहकारी कार्यालयको निर्णयअनुसार खारेजी गरेका हौं,’ न्यौपानेले भने ।

खारेजीमा पर्ने सहकारी संस्थाहरूमा कुमरखोद–९ को जीवनगंगा महिला बचत तथा ऋण सहकारी, तोपगाछी–५ को सफल कृषि सहकारी, कुमरखोद–५ को सुन्दर जीवन महिला कृषि सहकारी, दुवागढीको त्रिपला जडीबुटी उपभोक्ता सहकारी, जलथल–६ को जलथल सामुदायिक बचत तथा ऋण सहकारी, मेचीनगर–५ को अञ्जुली बचत तथा ऋण सहकारी, शरणामती–१ को जय माँ लखी बचत तथा ऋण सहकारी, पथरिया–१ को जमुना समृद्धि बहुउद्देश्यीय सहकारी, पाँचगाछी–१ को पदमचाला महिला समृद्धि सहकारी र पाठामारी–२ को उत्तम समृद्धि बहुउद्देश्यीय सहकारी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार