कदमको ‘मरिचेको चुपी’ राष्ठ्रिय नाटक महोत्सवमा प्रदर्शन हुने

नयाँ बुलन्द

झापा : असार २१ देखि २५ गतेसम्म इलामको गौतम बुद्ध हलमा हुन गइरहेको राष्ट्रिय नाटक महोत्सव २०७४ मा कदम थिएटर दमकले ‘मरिचेको चुपी’ नाटक प्रदर्शन गर्ने भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न हुन लागेको राष्ट्रिय नाटक महोत्सव २०७४ मा प्रदर्शन गर्न नाटक ‘मरिचेको चुपी’ तयार भएको कदम थिएटरका महासचिव मोहन ढुंगानाले जानकारी दिए ।

सोमबार बिहान दमकस्थित  नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको हलमा महोत्सवमा प्रदर्शनका लागि तयार गरिएको नाटकको अन्तिम रिहर्सर सम्पन्न गरिएको हो । सहित्यकार उपेन्द्र सुब्बा लिखित कथा ‘मरिचेको चुपी’लाई नाट्यकर्मी सिजन दाहालले निर्देशन गरेका हुन् ।

प्रदर्शनका लागि तयार गरिएको नाटक ‘मरिचेको चुपी’ मा कलाकारहरु तिब्बत राई, सुवासचन्द्र खरेल, पासाङ चोमु शेर्पा, मौसम राई, सोहन लुइँटेल, देवीप्रसाद उप्रेती, नेरेन्द्र लिम्बू,  सुजन दाहाल, सुवास मुकारुङ र सन्दिप ढकालले अभिनय गरेका छन् ।

नाटकमा सुत्रधार र निर्देशन सहयोगीमा नाट्यकर्मी इँगिहोपो कोइँच सुनुवार रहेका छन् भने नाटकीय रूपान्तरमा कवि नवीन प्राचीनले सहयोग गरेका छन् ।

पाँचथरको आङ्साराङस्थित लिम्बू बस्तीमा आधारित सुब्बाको ‘मरिचेको चुपी’ कथालाई नाटकीय परिवेशमा रूपान्तर गरिएको र नाटकमार्फत लिम्बू समुदायमाथि हुने गरेका राज्यनियन्त्रित जालझेललाई प्रस्तुत गरिएको कदम थिएटरका सचिव कमन देवानले जानकारी दिए । ३० मिनेटको सो नाटक महोत्सव उद्घाटनको दोस्रो दिन असार २२ गते प्रदर्शन हुने देवानले बताए ।

कदम थिएटरले आफ्नो व्यवस्थापनमा पहिलो नाटक तयार गरी महोत्सवमा सहभागी हुन लागेको हो । नाटक प्रदर्शनका लागि कदमको टोली २१ गते इलाम जाने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार