त्यस बेलाका रत्‍न

सचित राई

एउटै तादोबाट छुटेका हामी तीरहरू
जब्बर फलामे भित्ताहरू पार गर्दै
प्रचण्ड वायुवेगमा सनसनाउँछौं
आँधी र हुरीको सृष्टि गर्दै
बस एउटै अटल विश्वास लिएर
‘अवश्य छेड्नेछौं शत्रुका मुटुहरू ।’
– रत्नकुमार बान्तवा

सहिद रत्नकुमार बान्तवाको जीवनीसम्बन्धी कृति ‘अमर सहिद रत्नकुमार बान्तवा’मा ‘हामी कार्यकर्ता’ शीर्षकमा संग्रहित उनको यो मुक्तक साह्रै चोटिलो र जोसिलो मात्र होइन, साहित्यिक मूल्यका दृष्टिबाट पनि उच्च कोटिको छ । राजनीतिक व्यक्तित्व मात्र नभएर यस्ता सिर्जना–शिल्पीको परिचय अहिले एउटा पूरा–कथाजस्तो बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको ‘असल व्याख्याता’ रत्नलाई बिर्सिइँदै गएको छ । त्यस बेलाका क्रान्तिकारी धेरै नेता अहिले आएर क्रान्तिको उपलब्धिस्वरूप सत्ताको सिंढी उक्ली नवधनाढ्य बनिसकेका छन् । जसले वर्गविहीन समाजको नारा घन्काए उनीहरू नै कम्युनिस्टको नाममा अर्को वर्ग निर्माणमा लागिपरेको यथार्थ घामझैं छर्लंग छ ।

त्यसो त कवि भूपी शेरचनले २०१९ सालमै ‘सहिदहरूको सम्झनामा’ शीर्षकको कवितामार्फत यसो भनेका हुन्– ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुई/चार सपूत मरेर नगए ।’ देश बन्न/बनाउनलाई सपूतहरू मर्नुपर्ने÷सहिद हुनुपर्ने कस्तो देश हो यो ? तर, रत्नजस्ता हजारांै सपूत मरेर गए पनि देश भने बनिसक्न बाँकी नै छ । नयाँ नेपाल निर्माणको कुरा कुरामै सीमित छ । हामी नयाँ नेपाल बनाउने भनेर उहिलेदेखि नै क्रान्तिमा होमिएका हौं । क्रान्तिमा लागेर पटक–पटक राज्यव्यवस्था परिवर्तन भएको पनि हो ।

तर, हामीले हाम्रा व्यावहारिक पक्षहरूलाई परिवर्तन गर्न सकिरहेका छैनौं । बरु उल्टै रत्नजस्ता सहिदका समकालीन नेताहरू देशलाई भड्खाँलोमा जाग्न पो उद्यत देखिएका छन् । हुन त सहिदहरूको अवमूल्यन भइरहेको पछिल्लो समय ‘रत्नलाई सम्झिरहनुपर्छ भन्ने के छ र !’ यस्तो तर्क पनि उठ्ला । ‘रत्नहरू’लाई भन्दा पनि राजनीतिक तथा सामाजिक परिवर्तनमा उनीहरूले  पुर्याएको योगदानको स्मरण गर्नुपर्ने हो । त्यहीअनुरूप देशलाई समृद्धिको बाटोमा अग्रसर गराउनुपर्ने हो ।

पटक–पटक भएको राजनीतिक परिवर्तनका क्रममा हजारौंले सहादत प्राप्त गरे भनिरहनु परेन । प्रत्येक सहिदको कथा भने किंवदन्तीजस्तो बनिरहेको छ अर्थात् एकादेशको कथाजस्तै । ‘रत्नकुमार बान्तवा’को नाम पनि मैले ‘किंवदन्ती’कै रूपमा सुनेको हुँ । खासगरी, रत्नको हत्यासँग जोडिएका प्रसंगले उनको जीवनीलाई किंवदन्तीजस्तो महसुस गराइदियो । मेरो बाल–मस्तिष्कमा एउटा छाप परेको थियो– ‘रत्नको निधारभित्र चन्द्रमा थियो । उनी रेडियो सुन्दै दुवै हातले एकसाथ दुइटा चिठी तयार पार्न सक्थे र त्यहीअनुरूप व्यवहार पनि गर्थे ।’ उनी किन मारिए या मरे भन्ने बोध हुने कुरै रहेन । हाम्रो गाउँमा माकुरे नामको एउटा एकदमै प्यारो कुकुर थियो– त्यो कुकुर ‘रत्नकुमार बान्तवाको हो’ भनिन्थ्यो । रत्न मारिएपछि उनको कुकुर हाम्रो गाउँसम्म आइपुगेको भन्ने सुनेको हुँ । त्यो कुकुर शिकार गर्न सिपालु– मृग या दुम्सी शिकार गर्नुपर्यो कि शिकारीहरू त्यही कुकुरको खोजी गर्थे ।

पछि त्यो कुकुर कता गयो ? के भयो ? केही यकिन छैन । एवंरीतले केही सालपछि ‘सलल इभाङको डाँडा पोतियो रत्नको रगतले’ होस् या ‘देउमाई खोला बगेर गइगयो, चेली र माइतीको बिछोडै भइगयो’जस्ता बोलका गीतका माध्यमबाट रत्नलाई चिन्ने अवसर मिल्यो । त्यसपछि चलचित्र ‘देउमाईको किनारमा’मार्फत उनलाई थप बुझ्ने अवसर पाएँ मैले । हुन त चलचित्रमा उनको जीवन–कथा नअटेको या साहित्यिक बनेको पनि होला । रत्नलाई आख्यानीकरण गरिएको पनि हुन सक्छ । त्यसले अवश्य पनि कथात्मक मोड लिएको पनि हुन सक्ला । तापनि, उनीप्रतिको मेरो बुझाइ भने फराकिलो बनेकै हो । तर, त्यस बेला गहिरो गरी उनलाई अध्ययन भने गरिनछु । सञ्जय थापा अर्थात् प्रदीप नेपाल ? ले लेखेको उपन्यास ‘देउमाईको किनारमा’ पनि पढेंजस्तो लाग्छ । त्यही कृतिकै आधारमा चलचित्र निर्माण भएको हो ।

(लेखक तथा पत्रकार सचित राईको अनुसन्धानमूलक कृति ‘माङखिम’मा संग्रहित लेखको सम्पादित अंश । हत्याको ३७ वर्षपछि सरकारका तर्फबाट सहिदको सम्मान पाएका रत्नको आज स्मृति दिवस र जन्मजयन्ती मनाइँदै छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार