झापा : चलचित्र तारेभिरको च्यारिटी शो मार्फत झापा र पाँचथरका तीन जना जटिल प्रकारका विरामीको उपचारमा आर्थिक सहयोग जुटाउने प्रयास थालिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका तथा साविक धरमपुर –९ का ६ बर्षिय क्यान्सर पिडीत सेसेहाङ शेर्मा, पाँचथर इम्बुङका मृगौला पिडीत ४० बर्षिय सुन्दर नेम्वाङ , फाक्तेपका आन्द्राका विरामी ४२ बर्षिय कुमारी लावती खजुमको उपचारका लागि सो चलचित्रको च्यारिटी मार्फत सहयोग जुटाउने अभियानमा युवाहरु लागेका हुन् । गएको फागुनमा धरानमा पहिलो च्यारिटी शो गरिसकिएको र आगामी चैत्र ५ गते दमकको पाथिभरा चलचित्र हलमा १९ गते इलाम र २६ गते पाँचथरमा च्यारिटी शो गरिने सो सहयोग अभियानमा जुटेका विक्रम वनेम फागोले जानकारी दिए ।
च्यारिटी मार्फत संकलन भएको सहयोग रकम व्यवस्थापन वापतको खर्च कटाएर ति विरामीको उपचारका लागि विरामीको प्रकृति र अवस्था हेरि प्रदान गरिने सो अभियानमा संलग्न अर्का युवा सुसन राईले बताउनु भयो । अर्थिक विपन्नताका कारण जटिल प्रकारका ति रोगबाट पिडीतहरुले उपचार र आवश्यक औषधी पाउन नसकेको जानकारी स्थानीयबाट आएपछि युवाहरु स्वयमसेवामा लागेको बताएका छन् । चलचित्रको च्यारिटीका लागि पाँच सय र एक हजार दरका टिकट खरिद गरेर मानवीय जिवन बचाउन सहयोगका लागि उनीहरुले अपिल समेत गरेका छन् । सो अभियानमा विभिन्न स्थानमा लिम्बु विद्यार्थी मञ्च, किराँत याक्थुम चुम्लुङ लगायतका संस्थाहरुले संयोजनकारी भुमिका निर्वाह गर्ने गरेका बताइएको छ ।
तारेभिर चलचित्र नारी प्रधानका साथसाथै नेपाल प्रहरीले राष्ट्र सेवाको क्रममा कति सम्म उच्च काम गर्न सक्दछ र राष्ट्रसेवामा लागेपछि प्रहरीले आफ्नो व्यक्तिगत र पारिवारिक जिवनमा कस्तो सम्म समस्या झेल्नु पर्छ भन्ने लगायतका बिषय बस्तु समेटिएको चलचित्र हो । चलचित्रमा महिलालाई एउटा साहसिक पात्रका रुपमा उभ्याउनुका साथै प्रहरीको दायित्व र जिम्मेवारी बोध गराउदै उच्च सम्मानको खाँचो औंल्याइएको चलचित्रका निर्माता देउकृष्ण देवानले बताए । सो चलचित्रमा प्रेम सुब्बाको लेखन तथा निर्देशन रहेको छ भने कलाकारहरु विष्णु चेम्जोङ, रेखा फागो, नविन कार्की लगायतको मुख्य अभिनय रहेको छ ।