बुवा
जब चैत बैशाखमा
खडेरी लागेर
हाम्रो रैकरे बारी सुकेर फुट्न थाल्थ्यो
तब तपाई
पुडे र तारे गोरु नारेर
दात कुडिने
खरर खरर गर्दै जोत्नु हुन्थ्यो।
त्यतिवेला बढेमानका खाम्बक्ना उड्थ्यो ।
बिचारा मसिनो धुलो
त्यही खाम्बक्नाको निरङ्कुस
टाङ्मुनी आफ्नो अस्तित्व
निमोठेर बाच्न बाध्य बन्थ्यो
अनि फेरि तपाईं
काधमा लेडुका बोकेर
समानताको महिमा
बुझाउन पुग्नु हुन्थ्यो
लेडुका माथी चडेर
स्वतन्त्रताको सिर्कुना हल्लाउँदै
निमेष भरमा नै
तिमीहरू एउटै हौ मिलेर बस
सिकाइ सक्नु हुन्थ्यो ।
बुवा
आज पनि यो देशमा
खुब खडेरी लागेको छ
जोत्यो भने
देश बिगार्न खाम्बक्ना उठ्नेवाला छन्
कुलमान घिसिङका उज्यालासोचहरु
किचिमिची पारेर
तिर्सुली नदि मा बगाउने
दाउमा छन्
मूर्ख खाम्बक्नाहरु
त्यसैले
कविताको हलो लिएर
खरेडी जोत्न जादैछु
बुवा तपाईं पनि
त्यो स्वर्गबाट एकछिन झर्नु है
समानताको उद्घोष गर्ने
बडेमानको लेडुका लिएर