सुजाता सुनुवार
इलाम : इलाम नगरपालिका आनन्द टोलको ग्रिन सिटी ललिपप उद्योगकी सञ्चालक दीपा गुरुङ अहिले दंग छिन् । पहिला–पहिला परिवारको गर्जो टार्न एक पैसाका लागि पनि अर्काको भरमा रहनुपथ्र्यो । आफैं ललिपप उद्योग खोलेपछि अब आर्थिक अभावले हुने उहाँका दुःखका दिन सकिएका छन् ।
ओलनबाट बन्ने यो मिठाईको माग र मूल्य राम्रो भएकाले बजारसम्म पुर्याउनै भ्याइनभ्याइ छ उनलाई । १७ वर्षको कलिलो उमेरमै उहाँको बिहे भयो । र, १९ वर्षकै उमेरमा एक छोरीकी आमा भईन् । घरैमा बेरोजगार भएर बस्दा आफ्नो र सानी नानीका रहर गुमाउन बाध्य भईन् । गुरुङ भन्छिन्, ‘पाएको जीवन र समय सदुपयोग गर्न सकरात्मक विचार र चिन्तन चाहिँदोरहेछ । लगनशील भएर कुनै पनि काम गर्यो भने जीवन गुजारा गर्न अरूको भर पर्नुपर्दैन ।’ यही दुग्ध प्रशोधन उद्योग जीविकोपार्जनको गतिलो माध्यम बनेको उनकोे भनाइ छ ।
तीन वर्षअघि थोरै लगानीबाट सुरु गरेको उद्योगमा ६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । अहिले यही उद्योगमा १३ महिला सहित १६ जना कामदारलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी मिलेको छ । दूध लिएर बनाउँदा समस्या भएपछि खुवा मात्र लिएर चकलेट बनाउने गरेको गुरुङ बताउँछन् ।
अहिले प्रतिस्पर्धाको जमाना भएकाले बजारमा टिक्न अन्य उद्योगमा भन्दा फरक बनावटको मिठाई उत्पादन गर्ने गरेको उनको भनाई छ । ललिपका ५ प्रकार मिठाई बक्बैसन, भुजुरी, आठपिसे, दशपिसे र १२ पिसेमध्ये भुजुरी ललिपप बजारमा बढी माग हुन्छ । यो व्यवसायबाट धेरै नाफाको आशा गर्न नसके पनि घाटा भने नहुने उनी बताउँछिन् ।
बसी–बसी काम गर्न पाइने । कामका क्रममा सुख–दुःखका गफ पनि हुने यस प्रकारको उद्योगमा काम गर्दा स्वस्थ्य हुने उद्योगमा कार्यरत एलिस्वा राई बताउँछिन् । महिलाले मात्र होइन, तीन पुरुषले समेत घरखर्च टार्ने माध्यम बनाएका छन् ग्रिन सिटी इलाम ललिपप उद्योगलाई । ‘कामले काम सिकाउँदोरहेछ,’ उद्योग सञ्चालन गर्नुअघि २ वर्ष अर्काको ललिपप उद्योगमा काम गरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘काम सरल भए पनि समयको चाहिँ यसमा लगानी गर्नै पर्छ । खाली समयमा के गर्ने गर्ने, जागिर खाउँ पढाइ पनि कम भएकाले चिन्ता, धेरै पढ्न नपाएकामा दुःख लाग्थ्यो । तर, आज खुसी छु, बसी–बसी घरखर्च जुटाएकी छु ।’ काम गर्दाकै अनुभवले नयाँ उद्योग खोल्न प्रेरित गरेको उद्योगमा कार्यरत अर्की महिला सुमित्रा सञ्जेल बताउँछिन्।
गुरुङ घरखर्च अभावकै कारण आयस्रोत खोज्दै जाँदा २ वर्षसम्म कलेक्टर बनिन् । २ वर्षसम्म ब्रोइलर फार्मसमेत खोलिेर चलाईन्। १ हजार २ सय चल्लाबाट सुरु गरेको फार्मका कुखुरा बिक्री नहुने समस्याले पुरै घाटामा गएपछि फार्म पनि बन्द भयो । आयस्रोत केही नभएपछि अर्काको कम्पनीमा काम गरेको अनुभवले नै आज ग्रिन सिटी ललिपप उद्योगकी प्रोपाइटर बनेकी छिन् उनी ।
‘अरू र आफ्नो कमाइमा रहनु आकाश–पातालको फरक पर्दोरहेछ,’ गुरुङ भन्छिन्, ‘स्वावलम्भी बनेपछि महिला हिंसाबाट बच्न, आत्मबल बलियो बनाउन र हरसमय खुसी रहन सकिन्छ । चाहेको खण्डमा हरेक महिलाले सबै प्रकृतिका काम गरेर सफलता प्राप्त गर्छन् । यो मेरो जीवन भोगाइको अनुभव हो ।’
घुमघामका लागि आउने पर्यटक र चाडबाडमा घर आउने बाहिरी जिल्ला बसोबास गर्नेहरूले ललिपप कोसेलीका रूपमा प्रयोग गर्छन् । महिलालाई पनि ललिपप बनाएरै राम्रो आम्दानी गरी जीविकोपार्जन गर्न सकिने गतिलो स्रोत बनेको यो उद्योग । यस्ता उद्योगले आगन्तुकलाई कोसेली दिएर टाढा रहँदा पनि बारम्बार इलाम सम्झाउन सहयोग गरेका छन् । परिश्रम गर्न सके सानो लगानीबाट पनि सफलता पाउन सकिन्छ । मन र मेहनतले काम गर्न सके घरखर्च चलाउनकै लागि ठूलो दुःख कष्ट गरिरहनु पर्दैन भन्ने यो गतिलो उदाहरण पनि हो ।