नयाँ बुलन्द
इलाम : अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् ।
केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि अग्र्यानिक चिया उत्पादनमा अग्रसर भएका हुन् । केही वर्षयता पूर्ण अग्र्यानिक चिया उत्पादन गर्दै आएका माइपोखरीस्थित सन्दफु चिया कारखानाका शरद सुब्बा रासायनिक मल र विषादी प्रयोगले अन्तर्राष्ट्रिय बजार खस्किएपछि धेरै किसान अग्र्यानिक चिया उत्पादन गर्न थालेको बताउँछन् ।
चियाको दक्ष प्राविधिकका रुपमा समेत चिनिुभएका सुब्बा आफ्नो कारखानामा ३५ प्रकारको तयारी चिया उत्पादन गरी वार्षिक दुई हजार किलो बिक्री गर्ने गरेको बताउँछन् । अहिले अग्र्यानिक हरियो चियाको मूल्य प्रतिकिलो २५० पर्छ ।साना चिया किसानको तर्फबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउनुभएका साँखेजुङ–६ का मिलनकुमारी खत्री आफूले उत्पादन गरेको अग्र्यानिक चियाबाट सन्तुष्ट छन् । विसं २०६५ मा लघु उद्योगका रूपमा आफैँ चिया प्रशोधन उद्योग स्थापना गरेका खत्री अहिले आफ्नो उद्योगमा धान्नै नसक्ने माग आएको बताउँछन् ।
खत्रीसँग व्यापारीले ३० टनदेखि ४० टनसम्म अग्र्यानिक चिया माग गरेका छन् । कारखानाको क्षमता र श्रम शक्तिको अभाव हुँदा माग धान्न नसकेको उनको भनाइ छ । उहाँले किसानबाट प्रतिकिलो रु ३२० सम्ममा हरियोपत्ती खरिद गरिरहेका छन् । विराटनगर, धरान, काठमाडौँलगायत ठाउँमा यहाँको चिया बिक्री हुन्छ । रुस, थाइल्यान्ड र ताइवानसम्म समेत चिर्या निर्यात हुने गरेको छ । अग्र्यानिक चिया बिक्री गर्न समस्या नभएको साँखेजुङकै हिमालयन साङ्ग्रिला चिया कारखानाका रामचन्द्र नेपाल बताउँछन् । पाँच सय किसानले चिया बिक्री गर्ने उक्त कारखानामा पूर्ण अग्र्यानिक चिया उत्पादन हुने गरेको नेपालको भनाइ छ ।