काठमाडौं : स्वर्गीय कवि तथा चित्रकार अर्जुन खालिङको कृति ‘गोयाङको सुगन्ध’ले यस वर्षको पहिचान पुरस्कार पाउने भएको छ । गत २९ मंसिरमा आत्महत्या गरेका खालिङको आफ्नो कृतिले पहिचान पुरस्कार पाएको सुखद खबर सुन्न पाएनन् ।
उनको मृत्युको ठीक १० दिनपछि ‘गोयाङको सुगन्ध’ कृतिलाई २ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार दिने निर्णय गरेको पहिचान पुरस्कार कोषले जनाएको छ । यसअघि सो पुरस्कार राजन मुकारुङको निबन्ध ‘फेरिँदो सौन्दर्य’ले पाएको थियो ।
यस वर्ष स्व. खालिङको कवितासंग्रह ‘गोयाङको सुगन्ध’लाई कोषले प्रदान गर्ने भएको बेलायतबाट नरेश काङमाङ राईले जनाए । २०५८ साल स्नातक तह फाईन–आर्टमा उनी गोल्डमेडल विजेतासमेत हुन् । खालिङका दुईवटा कविता संग्रह ‘सूर्य निरन्तर डडिरहेछ’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित छन् ।
लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।