काठमाडौं : कलाकार अमित श्रेष्ठले राजधानीको बागबजारस्थित सिटी म्याक्स हल परिसरमा मेट्रो लन्ज बार सञ्चालनमा ल्याएका छन् । झन्डै आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका अमितले जीवन लामा र ज्ञानेन्द्र खड्कासँग सहकार्य गर्दै बार खोलेका हुन् ।
एक कार्यक्रमबीच चर्चित अभिनेत्री रेखा थापाले बारको उद्घाटन गरिन् । उनले अमित आफ्नो परिवारको सदस्यजस्तै भएकाले उसले सञ्चालन गरेको बारले उन्नति गर्नेमा आशा व्यक्त गरिन् । ‘अमितले चलचित्रमा जस्तै यो बारबाट पनि चर्चा पाओस् भन्ने मेरो कामना छ ।’ आमा सरस्वतीसँगै पुगेकी रेखाले भनिन् । उनले पोखरामा हुन लागेको राप्रपाको कार्यक्रमलाई रद्द गरेर आफू अमितको बार उद्घाटन गर्न आएको पनि बताइन् ।
रेस्टुरेन्टमा झन्डै एक करोडको लगानी रहेको छ । ‘गजलसहितको हाम्रो रेस्टुरेन्टमा आफूलाई मनपर्ने गीतसँगै विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।’ अमितले भने । उद्घाटन कार्यक्रममा चलचित्र निर्माता तथा वितरक गोपाल कायस्थ, नायिका रिमा विश्वकर्मा, उत्तम केसी, निर्देशक दीपक खाँड लगायतको उपस्थिति थियो । अमितले ‘अन्दाज’, ‘हमेसा’, ‘लोफर’, ‘लुटेरा’ र ‘ड्रिम्स’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।