भारतले रोक्यो नेपालको अदुवा, करोडौंको अदुवा गोदाममा

नमिन ढकाल

इलाम : ११ दिनदेखि भारत निकासी बन्द भएर नेपाली अदुवा गोदाममै थन्किएपछि पूर्वी पहाडी जिल्लाका किसान र व्यापारी समस्यामा परेका छन् । माऊ अदुवा झिकेर बिक्री गर्ने मुख्य सिजनमा भारतले प्रतिबन्ध लगाएपछि किसानहरुको करोडौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो ।

भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाँउदा पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका अदुवा किसानहरु चिन्तामा परेका छन्। हानिकारक विषादीको मात्रा र संक्रमण भएको चिनियाँ अदुवा नेपालको बाटो हुँदै भारत निकासी भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निर्यात रोकेको इलाम विल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए। दश दिन यता अदुवा निकासी बन्द भएपछि किसान र व्यापारीको करोडौं रुपैयाँ डुबेको पौडेलको भनाइ छ। उनले भने ‘ इलाम र पाँचथरमा मात्र एक सय गाडी भन्दा बढी अदुवा गोदामै थन्किएका छन धेरै किसानहरुको बारीमा अदुवा छ। अब एक सातामा भारतको प्रतिबन्ध नखुले यहाँको अदुवा सबै कुहिएर नष्ट हुन्छ।’ पौडेलको गोदाममा पनि पाँच सय क्वीन्टल अदुवा थन्किएको छ।

प्रतिबन्ध नहुने हो भने बिल्याँटे बजारमा मात्र यो सिजनमा दश करोड रुपैयाँ बढीको अदुवाको कारोबार हुने थियो। यस्तै नयाँबजार, फिक्कल, हर्कटे, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्रहरुमा संकलन भएको अदुवा पनि व्यापारीको गोदाममै थन्किएको छ। यहाँको अदुवा भारतीय बजारहरू नक्सल, बैंगलोर र सिलिगुडीमा बिक्रीका लागि लैजाने गरिएको छ। मसला जन्य वस्तुका रुपमा प्रयोग गरिने अदुवा मुस्लिम समुदायको रम्जाम पर्व अगाडि राम्रो बिक्री हुने गरेको थियो।

कृषि कार्यालयको ०७१/०७२ को तथ्यांक अनुसार जिल्लाको ३ हजार २ सय ३३ हेक्टरमा अदुवा खेती हुने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार