किरात राई कविहरुले सुनाए मातृभाषामा कविता

किरात राई कविहरुले सुनाए मातृभाषामा कविता
 काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले हालै राजधानीमा ‘किरात राई मातृभाषा कवि गोष्ठी एवं भाषिक विमर्श’ कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा वाचित किरात राई मातृभाषाका कविताहरु मध्येबाट नवीन प्यासी वाम्बुले राई प्रथम, जीवनजीत चाम्लिङ राई द्वितीय, मीना साम्पाङ राई तृतीय भए भने उदिम थुलुङ किराती र श्रीकुमार पुमा राईले सान्त्वना पुरस्कार प्राप्त गरे ।

कविताको निर्णायकमा प्राज्ञ शशी लुमुम्बू, मुन्दुमविज्ञ भोगिराज चाम्लिङ र कवि चन्द्र रानाहँछा रहेका थिए । कार्यक्रमका अतिथिहरुलाई ‘किरात राई फेटा’ लगाइदिएर ‘शिर–सम्मान’ गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्राज्ञ श्रवण मुकारुङले ‘भाषाको जन्म हुनुभन्दा पहिला नै कविता जन्मिएको’ बताउँदै कविताले भाषालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका प्राज्ञिक विभाग प्रमुख एवं मातृभाषाविज्ञ डा. तारामणि राईले मातृभाषाको महत्वबारे विस्तृत रुपमा प्रकाश पारे । अर्का वक्ता किरात राई मातृभाषा संरक्षण अभियानकर्ता तथा साहित्यकार नवराज राई ‘वर्तमान’ले मातृभाषा साहित्यका बारेमा बोले भने गीतकार टीका चाम्लिङले संस्थाका गतिविधिमाथि प्रकाश पारे ।

केन्द्रका अध्यक्ष डा. भक्त राईले किरात राई समुदायका युवापुस्तामा आफ्नो मातृभाषा र साहित्यप्रति अभिरुचि जगाउने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयोजना बताए । उनले भने, ‘केन्द्रले आदिवासी, जनजातिका भाषा, साहित्य, दर्शन, इतिहास र संस्कृति सम्बन्धी अध्ययन–अनुसान्धान लगायतका कार्यहरु गर्दै आएको छ, यो त्यसैको एक शृङ्खला हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार