संस्कृति संरक्षणका अभियान्ता ‘आङ्दम्बे’ सम्मानित

samman
आङ्देम्बेलाई सम्मान गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य यामप्रसाद लिम्बू ।

राम योङ्हाङ

इलाम : आफ्नो संस्कृति र पहिचानको संरक्षणमा अहोरात्र खटिरहने इलामका एक वृद्ध योद्धा सम्मानित भएका छन् । लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति एवं पहिचानको संरक्षण, सर्म्वर्द्धन र उत्थानमा सक्रिय इलाम नगरपालिका ३ का ७० वर्षीय बखतबहादुर आङ्देम्बे सम्मानित भएका हुन् ।

आङ्देम्बेलाई किरातीहरुको महान् चाड उभौली (यक्वा तङनाम ५०७६) को अवसरमा इलाम नगरपालिका ९ स्थित बालनगाउँमा आयोजित च्याब्रुङ प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ इलामले सम्मान गरेको हो । आङदेम्बेलाई किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य यामप्रसाद लिम्बूले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।

लिम्बू जातिको साँस्कृतिक बाजा च्याब्रुङको संरक्षण र सम्बर्द्धनका लागि प्रमुख प्रशिक्षकको रुपमा स्थापित आङदेम्बे विगत १८ वर्षेखि सामाजिक सेवामा समर्पित हुँदै आएका छन् । आङदेम्बे २०५५ सालमा तत्कालिन नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकबाट अवकाश भई निरन्तर सामाजिक कार्यमा संलग्न छन् ।

वृद्धावस्थामा समेत युवा जोसजाँगर सहित जतीय पहिचान र संस्कृतिको जगेर्नामा निरन्तर क्रियाशील रहेकाले उनको योगदानलाई उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको चुम्लुङका जिल्ला अध्यक्ष अभिषेक येक्तेनले जानकारी दिए । ‘७० वर्षपुगेर पनि १७ वर्षे युवा जस्तो गरी जोसजाँगरका साथ लिम्बू जातिको संस्कृति संरक्षण र जगेर्नामा लागेर गर्नुभएको योगदान स्वरुप उहाँलाई सम्मान गरिएको हो’ अध्यक्ष येक्तेनले भने, ‘उहाँको योगदानको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।’

उनी हाल पूर्व प्रहरी संघ इलाम शाखाका सचिव, किरात याक्थुङ चुम्लुङ जिल्ला सल्लाहकार र याक्थुङ फासिङ सजुमका अध्यक्षका रुपमा कार्यरत छन् । अन्य दर्जनौं स्थानीय सामाजिक संघसंस्थामा क्रियाशील छन् ।

यता सम्मानित आङ्देम्बेले आफूले आफ्नो समुदायको लागि गरेको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिए । ‘यसले मलाई थप सामाजिक काममा लाग्न उत्प्रेरणा मिलेको दिएको छ’ उनले भने ।

चुम्लुङका अध्यक्ष चक्र येक्तेन अभिषेकको अध्यक्षतामा भएको कार्यक्रमका किरात याक्थुङ चुम्लुङका केन्दिय सदस्य यामप्रसाद लिम्बू, पूर्व उपाध्यक्ष मोहनसिंह थेवे, पूर्व केन्द्रिय सदस्य द्वय खिनु लङ्वा र गायत्री थेगिम, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो लगायतले आङदेम्बेले पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार