तिम्रा बेगवान यादहरू
जिन्दगीको गुलाबी बार्दलीबाट
बैंसालु सुर्यझैं
मर्निङ वाक गर्दै
हृदय चियाउन आइपुगेका छन् ।
तिमी सँग–सँगै आइपुगेका छन ।
कतै हिड्न लागेको बसन्त
बेसरम चल्दै गरेको उताउलो बतास,
जीवन डुल्दै गरेको सम्झना आरोही,
मनको हाँगा–हाँगामा सैसेला खेल्ने दिल्लगी,
फूल जतिकै राम्रा सपना,
दुर क्षितिबाट फर्केका छन
दःखले उडाएको एउटा खुसी,
गुड फर्केका एक जोर चराझैं
फर्केका छन् ओठबाट खसेको मुस्कानहरू,
उदास अनुहारमा ओर्लेको छ
आसाहरूको जून,
बाँच्ने रहर बोकेर म अलाप्दै
बसेको छु जिन्दगीको धुन,
तिम्रा यादहरू कतै हिडेर
मलाई छोड्न चाँहदैनन,
प्रेमले डल्लै छोएर
साथहरू तोड्न चाँहदैनन,
यसरी भेटेर पनि किन भेटिदैन तिम्रो
स्पर्श,
मेटेर पनि किन मेटाउँदिन नजरको
तिर्खा,
बुझेर पनि कति बुझ्दीन इशारा,
नहेरेर पनि देखिरहन्छु ठ्याक्कै तिम्रो
चेहेरा,
जिन्दगीका स्टेशनहरूबाट पहिलो पल्ट हो
यसरी दुःखहरू छुटेर गएको,
इन्द्रेणी आँखाहरूले पहिलो पल्ट हो
यसरी निधरी लुटेर लगेको,
बाडुलीको हिकिक् हिकिक्ले
ठटाएर पहिलो पल्ट हो यसरी ढुकढुकी बढाएको,
कल्पनाको सप्तरंगी नगरमा
यसरी पहिलो पल्ट हो पाइला चडाएको,
अबिरल प्रेमको बिम्ब बोकेर
उतैबाट आउँछन् एक छिमल चराहरू,
तिम्रो खबर हृदयमा बोकेर
हामफाली रहन्छन् रगतका झर्नाहरू,
फूलजस्तो उत्तेजीत ओठ चुमेर
मलाई जिस्कयाई हिड्छन् पुतलीहरू,
गुलाबहरूको अनुहारमा
खै किन हो रगत छर्किरन्छन मालीहरू,
अन्जान् अन्जान् हावाझैं
छामछाम छुमछुम गरेर
यसरी कति पल्ट छोयौं
मसँग ठीक हिसाबहरू छैनन् ।
हिसाब भएको साँझ
सायद रोकिनेछन् तिम्रो बेगवान यादहरू ।