सेना प्रहरी लगाएर राजनीतिक समस्या समाधान हुन्न : यादव

बसन्त बस्नेत

काठमाडौं : संघीय गठबन्धनले राजधानीकेन्दि्रत आन्दोलन थप १० दिन लम्ब्याउने निर्णय गरेको छ । बुधबार राजधानीको शान्तिवाटिकामा पहिलो चरणको एक साता लामो आन्दोलन टुंगिएको घोषणा गर्दै गठबन्धन परिचालन समिति संयोजक उपेन्द्र यादवले दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन् ।

बुधबार बिहान समाजवादी फोरम मूख्यालयमा बसेको गठबन्धन बैठकले आन्दोलन कार्यक्रम तय गरेको हो ।
दोस्रो चरणको आन्दोलनमा बिहीबार लगनखेलदेखि मंगलबवजारसम्म जुुलुससहित सभा गर्ने, शुक्रबार नया बानेश्वरमा सभा गर्ने, शनिबार सीतापाइला चोकबाट जुलुसहित स्वयम्भुमा कार्यक्रम गर्ने, आइतबार जोरपाटी र गौशालाबाट जुलुसहित चाबहिलमा सभा गर्नेलगायत कार्यक्रम छन् । गठबन्धनले कीर्तिपुर, भक्तपुर  बालाजु बाइपास, कलंकी  मध्यपुर ठिमी, वसन्तपुर मा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ ।  जेठ १६ गते वीरगन्ज र १७ गते पोखरामा जुुलुस र विरोध सभा आयोजना गर्ने संयोजक यादवले जानकारी दिए ।

संविधानप्रति असन्तुष्ट २९ मधेसी र जनजाति दल तथा समूहको गठबन्धनले जेठ १ देखि राजधानीकेन्दि्रत आन्दोलन आयोजना गरेको हो । समापन कार्यक्रममा बोल्दै संयोजक यादवले सेना प्रहरी लगाएर राजनीतिक समस्या समाधान नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको आलोचना गरेका थिए । उनले गठबन्धनको आन्दोलनले विविधतामा एकता, एकतामा विविधताको परिचय दिएको भन्दै यसलाई विखण्डनको आरोप नलगाउन चेतावनी दिए ।

‘हामी राष्ट्रिय एकतालाई नया आयामबाट व्याख्या गदैछौं, तर प्रधानमन्त्री हामीलाई विखण्डनवादीको आरोप लगाएर उल्टै अतिवादीलाई सहयोग पुर्‍याइरहनुभएको छ,’ यादवले भने, ‘हामीले अलग अलग राज्य होइन, विविध पहिचानलाई सम्बोधन गर्ने राज्य मागेको हो, लिम्बुवानको सवाल म मधेसीको पनि हो, मधेसको सवाल नेवाः र थारुको सवाल तमुहरुको पनि हो । यी सबै जातिहरुको पहिचानसहित समुन्नत नेपाल हामीले चाहेको हो ।’

यादवले नेपालको इतिहासमा पहिलोपल्ट राज्यबाट उत्पीडित अनेक जाति, भाषा, संस्कृति र क्षेत्र मिलेर एकैपल्ट आवाज उठाएको भन्दै यादवले लक्ष्यमा पुगेर मात्रै रोकिने जिकिर गरे । सभामा लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङेन, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपा अध्यक्ष महेन्द्र राय यादवलगायतले बोले । लेखक मञ्जुश्री थापा, रवि थापा, कलाकार अस्मिना रञ्जितलगायतले संविधानमा क्षेत्र, लिंगको आधारमा विभेद गरिएको भन्दै शान्तिवाटिकामै प्रदर्शन गरेका थिए । ‘काठमान्डु विद् मधेस’ ले त्यसलाई संयोजन गरेको थियो ।

-इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार